खेलकुद पत्रकार मञ्चको आयोजनामा तालिम हुने

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७९
najf gandaki training

पोखरा, २६ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम गर्दैछ । असोज ४ र ५ मा पोखरामा हुने सो तालिम सफल पार्न मञ्चको टोलीले महानगर प्रमुख र उपप्रमुखसँग भेट गरेको छ ।

आइतबारको भेटमा मेयर धनराज आचार्यले तालिम सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । महानगरले विगतमा पनि स्पोर्टस् अवार्डका हरेक संस्करणमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि मञ्चका विविध कार्यक्रममा सहयोग गर्ने जनाएका हुन् ।

मञ्च अध्यक्ष दीननाथ बरालले खेल पत्रकारको क्षमता अभिबृद्धि गर्न उक्त तालिम आयोजना गर्न लागेको बताए ।

टोलीमा मञ्चका अध्यक्ष बरालसहित सल्लाहकार एकराज गिरी, रन्जन अधिकारी, सदस्य राजु गिरी, गणेश बराल, कृष्ण दवाडी लगायत सहभागी थिए । तालिममा राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद लगायतको पनि सहयोग हुनेछ । नवौं राष्ट्रिय खेलकुद आागमी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ ।

यसैबीच, मञ्चले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको पोखरा रंगशालास्थित मिडिया सेन्टरमा सिसिटिभी जडान गरिएको महासचिव राजाराम पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width