मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र

प्रकाश ढकाल
श्रावण २७, २०७९
nyayik samiti

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा अझै राजसंस्था जीवित छ । प्रशासनिक काम नगरे पनि चाडपर्व र विशेष बेलामा पूर्व राजकुमार जिग्मे सिंगे परवल विष्ट राजासरह उपस्थिति जनाउँछन् । त्यसो त उनका बाबु जिग्मे परवल विष्टको निधनपछि उनलाई राजा घोषणा गर्न लोमान्थाङबासीले धेरै प्रयास गरे । तर उनले मानेका छैनन् । यद्यपि राजाको हैसियतमा आफ्ना बाबुले गर्दै आएका काममा उनले बाधा फुकाएका छन् ।

लोमान्थाङका सबै गाउँमा मुखियाहरु छन् । उनीहरु राजसंस्थाको न्यायाधीशसरह काम गर्छन् । न्याय निसाफमा मुखिया नै हावी छन् । जिल्लाका सबैजसो गाउँमा अहिले पनि मुखिया प्रथा कायम छ । हरेक वर्ष त्यहाँ नयाँ मुखिया चुनिन्छन् ।

गाउँमा सानो समस्या आइपरे पनि गाउँलेहरु मुखियालाई सुनाउँछन् । मुखियाले गरेका काममा गाउँलेलाई बढी विश्वास छ । अहिलेसम्म गाउँका समस्या मुखियाले नै सुल्झाउने गरिएकोमा लोमान्थाङमा पहिलो पटक न्यायिक समितिले मुद्दा टुंगाएको छ । स्थानीय सरकार बनेको ६ वर्षपछि पहिलो पटक मुखियाको जिम्मेवारी न्यायिक समितिमा सरेको हो । लोमान्थाङ गाउँपालिकाको न्यायिक समितिले सम्बन्ध बिच्छेदको घटना मिलाएको हो । गत सोमबार ४० वर्षीय झाङजुक गुरुङ र उनकी श्रीमती छिरिङ ढिकी गुरुङको सम्बन्ध बिच्छेदको मुद्दालाई मेलमिलाप गरेर न्यायिक समितिले टुंगाएको हो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको न्यायिक समितिले सम्बन्ध बिच्छेदको घटना मिलाएको हो

सुरुमा मुखियाकोमा पुगेको उक्त मुद्दा मुखियाले नै गाउँपालिका जान सिफारिस गरेपछि आफूहरुले मिलाएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक छिमी विष्टले बताइन् । ‘यो त मुखियाको काम हो भन्थे । पहिले–पहिले राजाले मुद्दा हेर्ने चलन थियो । जनप्रतिनिधि आएपछि पनि गाउँपालिकामा कसैले उजुरी गरेको भेटिएन,’ उनले भनिन्, ‘पहिलो कार्यकाल मुद्दा नै नपरी सकियो । हाम्रो कार्यकाल सुरु भएपछि पहिलो पटक आएको हो । उहाँहरुलाई राखेर मेलमिलाप गरायौं ।’ पहिलो मुद्दा नै मिलापबाट सुरु गरेकोले खुसी लागेको उनको भनाइ छ । ‘पहिलो प्रयास ग¥यौं । उहाँहरु मिल्नुभयो । निकै खुसी लाग्यो । जनप्रतिनिधिले पनि मुद्दा मिलाउन सक्छन् भन्ने उदाहरण बन्यो,’ उनले भनिन् ।

मुस्ताङका अधिकांश पालिकामा मुखियाहरु नै अहिले जनप्रतिनिधि बनेका छन् । उनीहरु दोहोरो भूमिकामा भएकोले पनि सरकारसँग जनताको विश्वास बढेको विष्टले सुनाइन् । समितिले टुंगिन लागेको सम्बन्धलाई झनै मजबुत बनाइदियो । अहिले दुवै निकै खुसीसाथ जीवन बिताइरहेका छन् । सम्बन्ध जोडिएपछि दिकी आफूलाई निकै खुसी लागेको बताउँछिन् । ‘पहिला मुखियाकोमा गएर मिलेका थियौं । उहाँले (श्रीमान्) रक्सी खान छोड्नु भएन । फेरि सम्बन्ध बिग्रियो,’ उनले भनिन्, ‘अहिले सम्बन्ध बिच्छेद नै गर्ने भनेर गएका थियौं तर न्यायिक समितिले झन् मिलाइदियो । अहिले त उहाँले रक्सी पनि पिउनुहुन्न । अहिले राम्रो भएको छ ।’

मदिराका कारण दम्पतीबीच सधंै झगडा हुने र त्यसैका कारण सम्बन्ध बिच्छेद गर्न लागे पनि अहिले पतिले रक्सी नपिउने प्रतिबद्धता गरेपछि सम्बन्ध सुधारिएको हो । यो दम्पतीको ११ वर्षकी छोरी छन् । उपल्लो मुस्ताङबाट हालसम्म राजदरबारको बाहेक एउटा मुद्दा पनि अदालत पुगेको छैन । न्यायिक समिति बनेपछि भने गाउँलेहरुले उपाध्यक्षलाई समस्या सुनाउन थालेका छन् । मुखियाको जिम्मेवारी न्यायिक समितिले लिन थालेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width