कास्की समन्वय प्रमुख पौडेलद्वारा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
असार ९, २०७९
jisasa

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कास्की जिल्लाका समन्वय प्रमुख लिलाधर पौडेलबीच बिहीबार भेटवार्ता भएको छ । मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा भएको भेटघाटमा प्रमुख पौडेलले सम्पन्न भेटघाटमा समन्वय कार्यलाई प्रभावकारी बनाउनेतर्फ छलफल भएको थियो ।

उक्त अवसरमा प्रमुख पौडेलले जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउन संविधान बमोजिम जिल्ला सभाको काम कर्तव्य र अधिकार कार्यान्वयन गर्न आवश्यक कानुन प्रदेश सरकारले निर्माण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।

पौडेलले संविधानको धारा २२० (७) (घ) बमोजिम गाउँपालिका र नगरपालिका बीच समन्वय, सहकार्य र सहजीकरण गर्न आवश्यक ऐन, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने सम्बन्धी ऐन, गैर सरकारी संस्थाहरुबाट सञ्चालित विकास निर्माण र अन्य कार्यक्रमको सम्बन्धमा अनुगमन गर्ने सम्बन्धी ऐन, नदीजन्य तथा खानिजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी ऐन तत्काल निर्माण गर्नुपर्ने भन्दै सो को आवश्यक व्यवस्था गरिदिन प्रदेश सरकारसँग आग्रह गरे ।

पौडेलले समन्वय प्रभावकारी बनाउन गण्डकी प्रदेशमा कानुन अभाव हुँदा काम गर्न कठिनाइ भएको भन्दै जिल्ला समन्वय समितिहरुलाई प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह समेत गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले विकास प्रभावकारी बनाउन सबल समन्वय आवश्यक पर्ने र सोको लागि अध्ययनपछि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताए ।

सो अबसरमा जिल्ला समन्वय अधिकारी नवराज बरालले मुख्यमन्त्री समक्ष कानुन अभावमा काम गर्नु परेको अवस्थाका कठिनाइ अवगत गराउँदै आवश्यक ऐन कानुन निर्माणमा ढिलाइ गर्न नहुने उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width