स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७९
03 jeep (1)

मतदाता बोकेको दुर्घटनाग्रस्त जिप ।

पोखरा, ३० वैशाख । आमा र श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन गण्डकी मेडिकल कलेज, पोखराको बेडमा उपचार गराइरहेका आफ्ना ३ वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा १४, थुमपोखराका अर्जुन तिनै व्यक्ति हुन्, जसले स्थानीय तहको चुनावमा मतदाता बोकेको जिप दुर्घटनामा परिवारका सदस्य, आफन्त गरी ५ जना गुमाएका छन् ।

उनका २५ वर्षीया दुई जिउकी श्रीमती धनमाया कुँवर (जमुना) साथमा पेटको बच्चा, ५३ वर्षीया आमा तोपकुमारी कुँवर, कान्छी आमा (अंकलको श्रीमती) ५० वर्षीया टेककला कुँवर र मावली हजुरआमा ९० वर्षीया हरिकला कुँवर गुमाएका हुन् ।

आमा, गर्भवती श्रीमती, कान्छी आमा र हजुरआमा गुमाएका अर्जुन । तस्बिर- विजय ।

‘सरकारको लागि भोट हाल्न भनेर जान लाग्दा यस्तो दुर्दशा देख्नु प¥यो’ अर्जुनका गहभरि आँसु भरिए, ‘नसोचेको भयो । धन्न जेठो छोरा जिउँदो छ ।’

आमासँगै जिप चढेर वालिङ १४, सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रमा जान लागेका अर्जुनका ३ वर्षीय छोरा अनिशको शरीरभरि चोट लागेको छ । टाउकाको सिटी स्क्यान गरिएको छ ।

मतदान केन्द्रसम्म जिपमा महिला तथा वृद्धालाई चढाएपछि आफूहरु १०/१२ युवा पछि जाने भनेर अर्जुनसहितका युवा कुरेका थिए । तर केही समयमै जिप दुर्घटनाको खबर आएको अर्जुनले बताए । आफै पनि चालक रहेका अर्जुन भन्छन्, ‘जिप ओभरलोड थियो । त्यसो गर्नु हुन्थेन ।’ चालकले ख्याल गर्नुपर्ने हो । जिपमात्र ७ जनाको क्षमता हो । तर पछाडि सामान राख्ने ठाउँमा समेत क्षमता बढी यात्रु चढाइएको थियो । जसमा करिब २० जना चढेका थिए ।

गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका जिप चालक भुलबहादुर ।

दुर्घटनामा घाइते भएका जिप चालक भुलबहादुर कुँवर पनि गण्डकी मेडिकल कलेजमै छन् । उनका अनुसार कच्ची सडक भएकोले ब्रेक भेल हुँदा दुर्घटना भएको हो । घाइते भुलबहादुरलाई पनि पोखराको गण्डकी मेडिकल कलेजमै भर्ना गरिएको छ ।

शुक्रबार बिहान स्याङ्जाको वालिङ १४, पञ्चमुल अर्खलबासमा भएको ग २ च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते छन् । घाइतेमध्ये ८ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने तथा घाइते सबै एउटै गाउँका हुन् । दुर्घटनाका कारण पञ्चमुल अर्खलबास गाउँ शोकमा डुबेको छ ।

दुर्घटनामा परी वालिङ १४, पञ्चमुल अर्खलबासकी ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीय ज्ञानदली कुँवर, ५० वर्षीया कुँवर र फूलदेवी कुँवरको पनि मृत्यु भएको छ । घाइते हुनेमा चालक भुलबहादुर सहित बेलमाया कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनीष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर, नेत्रबहादुर कुँवर छन् ।

दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जनाए । दुर्घटना बिहान १०ः २० बजे भएको हो । जीप सडकदेखि ३ सय मिटर तल खसेको छ ।

गण्डकी मेडिकल कलेजमा घाइते एक बालक ।

Related News

सम्बन्धित समाचार

hero news full width