एपिएफ १४ वर्षपछि आहाराराको फाइनलमा

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
apf

पोखरा, १२ माघ । एपिएफ क्लब १४ वर्षपछि आहारारा गोल्डकपको फाइनल पुग्न सफल भएको छ । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा लिगलिडर मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।

जीतका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र क्याप्टेन नवीन लामाले गोल गरेका हुन् । खेलको ४० औं मिनेटमा विदेशी खेलाडी ओमुलाजा नुरेन करीमको गोल मद्दतमा गोल गर्दै बराबरी खेलेको मच्छिन्द्रले ७१ औं मिनेटमा दोहोरो कार्ड खाँदै उनलाई गुमाउँदा १० खेलाडीमै सीमित हुन पुगेको थियो । त्यसको फाइदा लिंदै छैटौं संस्करणपछि एपिएफ फाइनल पुगेको हो । दुवै टिमले खेल अवधिभर केही राम्रा अवसर खेर फालेका थिए । एपिएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित हुँदै ८ हजार पुरस्कार प्राप्त गरे ।

एपिएफले उद्घाटनमा आयोजक सहारा क्लब र क्वारफाइनलमा पाहुना टोली अमेरिकाको बिवाईएससी क्लब मिनेसोनाटालाई पराजित गर्दै विजयीयात्रा कायम गरेको हो । बिहीबार दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल माघ १५ मा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै