म्युजियम मार्गको भेला

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७८
mangsir 2

पोखरा । गुणस्तरीय विकाससँगै सभ्य समाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुनेमा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । पोखरा १७ घारीपाटनस्थित म्युजियममार्ग टोल सुधार समितिद्वारा आयोजित भेलामा वक्ताले लक्षित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न स्थानीयको जागरुकता अपरिहार्य हुने बताए । पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले भेलाको उद्घाटन गर्दै सामाजिक संघसंस्थाले सुषुप्त अवस्थामा रहेको श्रमलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताइन् ।
महानगरले विशेषगरी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा ढल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उनले सीमित स्रोतसाधनको बाबजुद वडाको समग्र विकासमा निर्माणमा उपयोगकर्ता स्थानीय वासिन्दा सचेत हुनुपर्नेमा जोड दिए ।
खानेपानी उपभोक्ता समिति पोखरा १७ का अध्यक्ष कृष्णप्रसाद पौडेलले तीनै तहका सरकारको सहयोगमा वडामा ४५ किमी पाइप बिस्तार गरिएको र साढे १८ किमी क्षेत्रमा पाइप बिस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । वडामा खानेपानीको पाइप बिस्तारका लागि पोखरा महानगरपालिकाबाट ८५ लाख, स्व. रवीन्द्र अधिकारीको पहलमा ३४ लाख र प्रदेश सभा सदस्य कृष्ण थापाबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको उनले जानकारी दिए । २०५१ सालमा बिस्तार गरिएको जीर्ण अवस्थाको २ इञ्चको पाइपबाट खानेपानीको असुविधा झेल्दै आएकोमा सो मार्गमा प्रदेशसभा सदस्य कृष्ण थापाको १० लाख रुपैयाँको सहयोगमा ३ इञ्चको पाइप बिस्तार गरिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा शुभकामना आमा समूहका अध्यक्ष हिरादेवी अधिकारी र समाजसेवी लिलबहादुर जिसीले बोलेका थिए । संस्थाका कोषाध्यक्ष अनवीर थापाले ९० हजार रुपैयाँ बरावरको आयव्यय प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष पार्वती खड्काले स्वागत एवं सचिव भगवान् श्रेष्ठले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width