राइजिङ र फुटसल फाइभ विजयी

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७८
Futsal 13 Photo

पोखरा । पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय लिगअन्तर्गत मंगलबार २ खेल भएका छन् । मंगलबार द राइजिङ क्लब र फुटसल फाइभ विजयी भएका छन् ।
पहिलो खेलमा द राइजिङ क्लब धरानले काठमाडौंको ढुकु फुटसल हबमाथि ५–३ को जित हात पारेको छ । राइजिङको जीतमा विवेक राईले २ तथा हेमन्त थापामगर र सुदीप गुरुङले १–१ गोलको योगदान दिए । ढुकुका लागि अमित लामा, प्रसिद्ध मगर र अभय राना १/१ गोल गरे पनि हार टार्न सकेनन् । जीतसँगै राइजिङको ६ खेलबाट १२ अंक रहेको छ । राइजिङले अब १ खेल जितेमा उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गर्नेछ । ढुकु भने ६ खेलमा १ जित एक बराबरी र ४ हारसहित ४ अंकका साथ सातौं स्थानमा छ ।
दोस्रो खेलमा घरेलु टोली सविन मेमोरियलले लिगमा दोस्रो हार व्यहोरेको छ । सविनलाई फुटसल फाइभ धरानले ५–४ गोलअन्तरले हराएको हो । धरानको जीतमा प्रवेश जोशी र विजय श्रेष्ठले २/२ तथा रञ्जित गुरुङले १ गोलको योगदान दिए । सविनका लागि प्रतियोगिताका उच्च गोलकर्ता अविनास तामाङले २ गोल गरे भने मनोज गुरुङ र अनुप राना मगरले १/१ गोल गरे । अविनास तामाङले लिगमा अहिलेसम्म १२ गोल गरिसकेका छन् । दोस्रो हारसँगै ३ जीत १ बराबरी खेलेको सविनले १० अंक जोडेको छ । ऊ अंक तालिकाको पाचौं स्थानमा झरेको छ ।
असोज २२ सम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुने लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ प्लेयरले समान २५ हजार पाउने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width