कांग्रेस पोखरा महानगर सचिवमा उम्मेदवारी किन ?

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
Congress Secretory

नेपाली कांग्रेसको यसअघि स्थगित भई असोज ९ लाई तय भएको गाउँपालिका र नगरपालिकाको अधिवेशन अन्ततः सोही मितिमा हुने भएको छ ।
कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बुधबार बसेको बैठकले वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णयसँगै सेलाएको चुनावी माहोल फेरि तातेको छ । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत देशकै ठूलो क्षेत्रफलको पोखरा महानगरपालिकामा पनि चुनावी रन्को छ । विभिन्न पदका उम्मेदवार १४ सय बढी मतदाता रहेको महानगरमा आफ्नो पक्षमा पार्न विभिन्न प्रकारले चुनावी प्रचार जारी राखेका छन्् । महानगरको सचिव पदमा उम्मेदवारी दिएका ३ उम्मेदवार गणेशबहादुर थापा, टुवराज बास्तोला विशाल र सुरेन्द्रबावु तिवारी आदर्श समाजसँगको कुराकानीमा यस्तो भन्छन्–

नियम, अभ्यास र विधिका लागि मेरो उम्मेदवारी
विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको राजनीति सुरु गरेका पोखरा ३२ का गणेशबहादुर थापा पोखरा महानगर समितिमा सचिवका उम्मेदवार हुन् । पोखरा ३२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित उनले शंकरदेव र त्रिचन्द्र कलेजमा नेवि संघका इकाइमा सदस्य रही सक्रिय भूमिका निर्वाह गरेका थिए ।

गणेशबहादुर थापा

कांग्रेसको राजनीतिमा सधैं पछाडि रहेर कुशल व्यवस्थापकको भूमिका निर्वाह गरेका थापा १४ औं महाधिवेशनबाट नेतृत्व तह हाक्न कस्सिँदै छन् । २०७० र ७४ को निर्वाचनमा कास्की १ मा कांग्रेसका उम्मेदवारको सचिवालयमा रही निर्वाचन परिचालनमा थापा खटिएका थिए । अब हुने निर्वाचनमा महानगरसहित कास्कीका उम्मेदवारलाई जिताउन र चुस्तदुरुस्त बनाउन आवश्यक रहेको उनी बताउँछन् । जसका लागि आफू नेतृत्वमा जान चाहेको उनले बताए ।
संस्थागत रुपमा पोखरा अगाडि बढाउनुपर्ने नारा दिँदै थापाले तीन पक्षलाई महत्वपूर्ण रुपमा उठान गरेका छन् । उनले ‘नियम’, ‘अभ्यास’ र विधि स्थापनाका लागि ‘प्रक्रिया’ प्राथमिकतामा राखेका छन् । उनले समिति व्यवस्थापन, कार्य मूल्यांकन विधि, युवाका लागि कांग्रेस साथै अनुसन्धान र विकासलाई बढी जोड दिएका छन् । ‘पोखराको मुहार परिवर्तन गर्ने कार्यमा टेवा पुर्‍याउन सकूँ भनेर उमेदवारी दिने निर्णय गरेको हुँ,’ उनले भने, ‘महानगरमा गर्नुपर्ने धेरै काम छन् । पार्टीबाट चुनाव लडेर पराजित भए पनि त्यो कार्यकालमा बाहिर बसेर भूमिका निर्वाह गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।’
कांग्रेसका उम्मेदवारलाई जिताएर पोखरालाई डिजिटल युगमा लैजानुपर्ने थापा बताउँछन् । ‘नागरिकको सेवा गर्नुपर्ने निकायको सेवा र सुविधामा आमूल परिवर्तन गर्न डिजिटल प्रणाली लागु गर्नुपर्छ,’ उनले भने, ‘अब कार्यालयमा धाएर सेवा लिनेभन्दा पनि घरबाटै लिन सक्ने प्रविधि लागु हुनुपर्छ ।’ कर तिर्न जाँदा सास्ती होइन, सम्मान पाउने निकाय पोखरा महानगरपालिकालाई बनाउन पनि त्यहाँ कांग्रेसका उम्मेदवारले आउँदो चुनावमा जित्नै पर्ने उनको भनाइ छ । जसका लागि महानगरका ३३ वटै वडामा सचिवालय स्थापना गरेर कार्यालय सचिवको व्यवस्था गर्ने उनको योजना छ । पार्टी चलाउन २ टिम आवश्यक रहेको उनी बताउँछन् । गुटउपगुट भनेर अपव्याख्या भइरहेको उनले जनाए । ‘यो गुटउपगुट होइन, यो त टिम हो,’ उनी भन्छन् ।

अहिलेसम्मको ज्ञानसीप लगाउँछु

सुरेन्द्रबावु तिवारी

‘आन्तरिक पार्टी सुदृढीकरण हाम्रो जिम्मेवारी, नयाँ सोच र नेतृत्वको लागि हाम्रो उम्मेदवारी’ नाराका साथ चुनावी प्रतिस्पर्धामा रहेका अर्का दाबेदार हुन्, सुरेन्द्रबावु तिवारी ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगर समितिको सचिव पदमा उम्मेदवारी दिएका तिवारी पोखरा महानगरपालिका वडा ३१ निवासी हुन् । उनी भन्छन्, ‘कांगे्रेसको भातृसंगठन नेविसंघ, तरुण दल लगायतका शुभेच्छुक संस्थाहरुमा काम गर्दै कांग्रेसलाई अझ मजबुद बनाउने र कांग्रेसको नेतृत्वमा एउटा इँट्टा थप्ने मेरो अभिप्राय छ, त्यसैले उम्मेदवारी दिएको हुँ ।’ कांग्रेससँग नीति छ, संगठन छ, विचार छ तर त्यसलाई कार्यक्रममार्फत सानोसानो रुपमा टोलटोलमा सामाजिक एवं पूर्वाधार विकासका कार्यक्रममा लगेर विकास हामी सबैको अधिकार हो भनी अगाडि बढाउने कार्यमा योगदान दिनुपर्ने उनको जोड छ ।
महाधिवेशनको लागि यतिबेला चुनावी प्रचारप्रसारमा होमिएका तिवारी आफूलाई सचिवमा उपयुक्त र सशक्त उम्मेदवार भएको दाबी गर्दछन् । विगत १५ वर्षदेखि प्राध्यापन र स्वतन्त्र परामर्शदाता/विकास सहजकर्ता एवं सामुदायिक विकास विज्ञ भएर कार्य गरेका तिवारी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व क्षेत्रीय सभापति र तरुण दलका पूर्व वडा सभापति र जिपी कोइराला अध्ययन केन्द्र, कास्कीका महासचिव हुन् । तमाम युवाको सोच र लगनलाई पार्टीको एजेन्डा, कार्यक्रम र नेतृत्वले आकर्षित गरेर आन्तरिक पार्टी सुदृढीकरण गर्नुपर्नेमा उनको भनाइ छ । पालिकाहरुको योजना बनाउने कार्यमा पनि निरन्तर खटिने गरेका छन्, तिवारी । रणनीतिक योजना बनाउँदा व्यवस्थापकीय कमजोरी रहेको हो कि भन्ने ठान्ने उनी कार्यक्रम बनाउने तहसम्म पुगेर नेतृत्वलाई खबरदारी गर्दै कांग्रेसको विचारलाई समाजमा फिजाउन सकिने बताउँछन् । आफ्नो विज्ञता, विभिन्न संघसंस्थाको अनुभव, पेसा, अध्ययन, तालिम एवं गाउँगाउँ घुमेको अनुभवबाट सिकेको ज्ञान उपयोग गर्ने उनको सोच छ ।
विकासप्रतिको लगाव छ, पार्टीको योजना र पार्टीको कार्यक्रममा लागु गर्न सक्छु भनी व्यवस्थापकीय पद सचिवमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे । उनी भन्छन्, ‘कांग्रेसको विधान मैले राम्रोसँग अध्ययन गरेको छु । काम, कत्र्तव्य र अधिकारलाई राम्रोसँग चिनेको छु ।’ बिपीको समाजवादलाई व्याख्या गरेर सानासाना कार्यक्रममार्फत जनतासम्म पुग्नुपर्ने उनको जोड छ । सचिवको व्यवस्थापकीय पदमा रहेर समयअनुकूल प्रविधिमैत्री बनाउँदै अघि बढ्न पनि आवश्यक रहेको तिवारी बताउँछन् ।

सुषुप्त रहेका भातृसंगठन जागृत बनाउँछु

टुवराज बास्तोला ‘विशाल’

कांग्रेस पोखरा महानगर समितिको सचिवका सशक्त उम्मेदवार हुन्, टुवराज बास्तोला ‘विशाल’ । २०४४ सालदेखि विद्यार्थी राजनीतिसँगै पार्टीमा क्रियाशील बास्तोला ‘पोखरा महानगरमा अबको नेतृत्व, समक्ष, जुझारु, गतिशील र वैचारिक व्यक्तित्व’ नारासहित चुनावी मैदानमा होमिएका छन् । २५ वर्षसम्म बैंकिङ क्षेत्रको करियरबाट बिदा भएर पूर्णकालीन रुपमा राजनीतिमा होमिएका हुन् । आजभन्दा ३४ वर्षअघि अमरसिंह स्कुल पढढ्दाताका विद्यार्थी राजनीतिक थालेका उनले तरुण दल, पोखरा ११ को इकाइ सचिवहुँदै २०५१ देखि हालसम्म पार्टीमा क्रियाशील रहँदै आएका छन् । विभिन्न आन्दोलन, मोर्चामा अग्रपंक्तिमा रहने उनी स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका उम्मेदवार जिताउन सधैं लागिपरेको बताउँछन् । २०४७ को एसएलसीपछि पृथ्वीनारायण क्याम्पस पढ्दा पनि उनी राजनीतिमा सक्रिय रहे ।
सहमहाप्रबन्धकसम्मको जिम्मेवारीमा रहेका बास्तोला बैंकबाट बिदा हुनुअघि कामना सेवा विकास बैंकको गण्डकी प्रदेश प्रमुख थिए । पोखरा ११ निवासी बास्तोला ६ महिनायता रत्नज्योति माविको प्राचार्यको भूमिकामा छन् । लामो समय बैंकिङ क्षेत्रको व्यवस्थापकीय क्षमता, अनुशासनको विषय लगायत स्कुलिङबाट आएको हुँदा महानगर सचिवालयमा त्यो सीप लगाउन सकिने उनी बताउँछन् । ‘महानगरमा जे जति गतिमा हुनुपर्ने थियो, त्यो हुन सकेको छैन,’ उनी भन्छन्, ‘सही समयमा सही सूचना दिनुपर्नेछ, सचिवालय व्यवस्थापन गर्ने, प्रविधिमैत्री वातावरणमा सूचना प्रवाह गर्ने, सचिवालयले गर्ने कामहरु व्यवस्थित रुपमा संचालन गर्ने मेरो एजेण्डा हो ।’
उनी भन्छन्, ‘कांग्रेसका विभिन्न भातृसंगठन छन्, ती सबै सुषुप्तरुपमा छन् । ती हाल के कस्तो अवस्थामा छन्, तिनलाई खोजेर जागृत गराउने प्रयास रहने छ । बिपीको सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद थोरैमात्र पनि अंगिकार गर्न सकेमा राम्रो हुनेछ ।’
कांग्रेस जडवादी रहेको र समयअनुरुप रुपान्तरित हुनुपर्नेमा जोड दिँदै उनले पार्टी शुद्धिकरण तथा सुदृढीकरणको आवश्यक रहेको बताउँछन् । ठूला भनिएका पार्टी पनि विभिन्न गुटउपगुटका कारण पार्टीलाई धरासायी बनेको बताउँछन् । आफू गुटउपगुटको विरोधी रहेको बताउँदै उनले गुटमा लागेमा व्यक्ति त बलियो होला, तर पार्टी कालान्तरमा कमजोर हुने जनाए । यसलाई निस्तेज गर्नुपर्ने उनको तर्क छ ।
पार्टी सिद्धान्त, पार्टीको मूलमन्त्र सिकाउँदै व्यक्तिगत क्षमता, नेतृत्व विकास र पार्टी रुपान्तरणको दिशामा अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको ठहर छ ।

Related News

सम्बन्धित समाचार

hero news full width