दीपक परियारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७८
sahara prize dipak

पोखरा, १८ भदौ । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । सहारा क्लब पोखराले प्रदान गर्ने उक्त पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लबको २३ औं वार्षिकोत्सव अवसरमा भदौ ३० गते प्रदान गरिने सहारा क्लबले जनाएको छ । पुरस्कार राशि २० हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ ।

क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा शुक्रबार बजेको बैठकले प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई अनुमोदन गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

क्लब सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले परियारलाई यस वर्षको लागि उत्कृष्ट खेल पत्रकारको रुपमा सिफारिस गरेको थियो । पोखरा–३२ का परियार २०६४ सालदेखि पत्रकारिता गर्दै आएका छन् । उनले जनदिशा दैनिक, गोरखापत्र राष्ट्रिय दैनिक, गण्डकी खबर (सम्पादक), समाधान दैनिक, अन्नपूर्ण पोष्ट दैनिक हँुदै हाल कान्तिपुर दैनिकमा आबद्ध भएका छन् ।

उनी मीना सृजनशील पत्रकारिता पुरस्कार, बाबा आनन्द सञ्चार पुरस्कार लगायत पुरस्कारबाट सम्मानित भइसकेका छन् । प्रतिभा छनौट समितिको अन्य सदस्यमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँ, क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङ, अध्यक्ष केशवबहादुर थापा र महासचिव रामजीप्रसाद अधिकारी थिए ।

खेलकुद पत्रकारितालाई प्राथमिकता दिएर समाचार प्रकाशन एवं प्रसारणमा योगदान पुराउने खेल पत्रकारलाई क्लबले हरेक वर्ष वाषिकोत्सव अवसरमा सम्मान गर्दै आएको छ । सो पुरस्कार यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेललाई दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width