पोखरा । सत्ता समीकरणमा कुरा नमिलेपछि बिना विभागीय मन्त्रीको सपथ खाएका २ मन्त्रीहरु मन्त्रालय जानै छोडेका छन् । जसपा संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्रालय जान छोडेका हुन् । उनीहरु अहिले जिल्ला दौडाहामा छन् । ‘मन्त्रालय कुन हो थाहा छैन । कहाँ गएर बस्ने ? कामको जिम्मा पाए पो हामी पनि एक्टिभ हुन्छौं,’ मन्त्री मनाङे भन्छन्, ‘काठमाडौंका ५ जना बसेर गण्डकीको सरकार गठन हुन्छ त ? मन्त्रालय जिम्मा लाइदिनुपर्यो नि ।’ उनले भौतिक पूर्वाधार विकास मन्त्रालय खोजेका छन् । तर यसमा कांग्रेस र माओवादीको पनि दाबी छ ।
‘मैले पहिला काम नभएका ठाउँमा बजेट हाल्थें । हिजो भएको सहमति भौतिक मन्त्रालयमा हो । खै दिँदैनन्,’ उनले भने, ‘संसद भंग गर्नुहुन्न भनेर पो म फसें । नत्र त पृथ्वीसुब्बाको मेन मान्छे हुँ । अब केन्द्र र प्रदेशको समस्या भयो । हामीले गर्न खोजिरहेका छौं, केन्द्र सरकारले रोक्यो ।’ सरकारका कारणले जनताले दुख पाएको उनको गुनासो छ । विकासका काममा राजनीति बढी गर्दा बढी समस्या भएको उनले बताए । धेरैको दाबी एउटै मन्त्रालयमा भएपछि भौतिक र अर्थ छोडेर अरु मन्त्रालय भाग लगाउने तयारी थियो । कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मा लिएका छन् भने माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालय पाएकी छिन् ।
मनाङेलाई तत्कालका लागि खेलकुद मन्त्रालय सम्हाल्न सत्तारुढ गठबन्धनले आग्रह गरेको थियो भने आचार्यलाई भौतिकबाट फुटेको ऊर्जा मन्त्रालय दिइएको थियो । तर दुवै जनाले आफ्नो माग पूरा नहुँदासम्म मन्त्रालयको जिम्मा नलिने अडानमा छन् । अर्का मन्त्री हरिशरण आचार्य ३ दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा छन् । बजेट बनाउने चटारोका बीच उनको चासो निर्वाचन क्षेत्रमा छ । ‘एक्टिभ रोल भएको भए मन्त्रालय पुग्नैपथ्र्यो । अहिले बाढी पहिरोले गोरखाको पालुङटार क्षेत्र ध्वस्त भएको छ । म यता आएँ,’ उनले भने, ‘पोखरा भएको बेला त मन्त्रालय पुगेकै हुन्छु । मैले लिन चाहेको मन्त्रालयका कर्मचारीहरुसँग बजेट निर्माणबारे सोधखोज गर्छु ।’ आफू मन्त्री भए पनि मन्त्रीको महसुस गर्न नपाएको आचार्यले सुनाए ।
‘हिजो म मोटरसाइकलमा हिँड्थें । अहिले गाडी छ । त्यसबाहेक मन्त्री हुँ भन्ने महसुस भएको छैन,’ उनी भन्छन्, ‘बजेट बनाउँदा सरसल्लाह गरेका छैनन् । कांग्रेसले मात्रै बजेट बनाएको छ । बरु म खोजीखोजी गएको छु, मलाई खोजेका छैनन् ।’ उनले अर्थ मन्त्रालय दाबी गरे पनि पछिल्लो समय २ मन्त्रालय पाउने भएपछि भौतिकबाट फुटेको मन्त्रालय लिन राजी भए । तर अर्की सांसद धनमाया लामालाई मन्त्रीको सपथ नगराउँदासम्म आफूले जिम्मेवारी नलिने उनको अडान कायम छ ।
यता कांग्रेस माओवादी भने बजेटको छलफल सकिएपछिमात्रै मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा छ । अहिले बिना विभागीयलाई कामको जिम्मेवारी दिने र बाँकी मन्त्रीहरु पछि थप्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । ‘बजेटमा हाम्रो ध्यान छ । त्यो सकिएपछि मन्त्रालयतिर लागौंला,’ उनी भन्छन्, ‘अहिले भइरहेको टिमबाट काम गरौं भनेका छौं ।’ बजेट समयमा निर्माण गर्न नसक्दा संसद चलेको छैन । प्रतिपक्षी एमाले संसदीय दलले मुख्यमन्त्रीलाई भेटेर छिटो सदन अघि बढाउन ज्ञापनपत्र नै दिएको थियो । २९ गते संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले आफूसँगै थप ४ मन्त्रीलाई मन्त्रिमण्डलमा लगेका थिए । असार ३१ गते हतारमा नीति तथा कार्यक्रम बन्यो । असार १ गते नीति कार्यक्रम पास गरेर बजेट ल्याइएको हो । त्यसपछि रोकिएको सदन अहिलेसम्म चल्न सकेको छैन ।
माओवादीमा मन्त्रीको टुंगो
माओवादीबाट मन्त्री बन्ने नाम करिब टुंगिएको छ । स्रोतका अनुसार रामजी बरालको नेतृत्वमा बागलुङका चन्द्र बुढा र स्याङ्जाका दीपक चर्तिमगर क्याबिनेटमा जानेछन् । माओवादीबाट यसअघि मधुमाया अधिकारी मन्त्री बनिसकेकी छिन् । ‘जुन मन्त्रालय पाए पनि मन्त्रीहरु यताउति हुँदैनन् । ३ जनाको नाम आन्तरिक रुपमा फाइनल भएको छ,’ माओवादी स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले नाम माग्नेबित्तिकै पठाउँछौं ।’ जसपाबाट धनमाया लामा मन्त्री बन्ने पक्का छ । यसअघि भएको सहमति अनुसार ११ मन्त्रालयमध्ये कांग्रेस र माओवादीले ४/४, जसपा २ र स्वतन्त्र सांसदलाई एउटा मन्त्रालय भाग लगाइएको थियो । तर जिम्मेवारी भने तोकिएको छैन ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१