संघ र स्थानीय तहका कर्मचारीबीच अन्तरघुलन आवश्यक

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
Mahesh

पोखरा महानगर समृद्धिको दिशामा अघि बढेको छ । विकास निर्माणसँगसँगै नगरवासीको हितमा महानगर दत्तचित्त छ । साविकको पोखरा, लेखनाथ र केही गाविस जोडेर बनेको पोखरा महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भइसकेपछि यसले विशाल रुप लियो । सहरमात्रै नभई ग्रामीण भेग पनि महानगरमा गाभिन पुगेका छन् । महानगर बनिसकेपछि सबैभन्दा महत्वपूर्ष विषय भनेको तत्कालीन अवस्थामा स्थानीय सरकार सञ्चालन ऐन पनि थिएन । त्यसबेला नेपाल सरकारले कार्य सञ्चालन कार्यविधि बनायो । त्यही अनुरुप सुरुआतका दिनमा स्थानीय निकायले काम पनि गरे । पछि ऐन आयो । यसबीचमा संस्थागत संरचना तयार पारेको भनेको वडा कार्यालय र महाशाखाहरु हुन् । वडामा आवश्यक संख्यामा जनशक्ति पुर्‍याउन नसके पनि न्यूनतम जनशक्ति आधारमा काम भएको छ ।

वडास्तरमा भएका स्वास्थ्य संस्थाहरुलाई हामीहरुले व्यवस्थापन गर्नुपर्ने छ । कुनै वडामा २/३ वडा स्वास्थ्य संस्था छन् भने कुनैमा छैनन् । त्यसलाई म्यापिङ गरेर वडाको हिसाबले व्यवस्थापन गर्नुपर्ने छ । पोलिटिकल डिष्ट्रिक्ट र ननपोलिटिकल डिस्ट्रिक्ट एउटै हुनुपर्छ भन्ने छैन । मानिस आफू जहाँ पायक पर्छ त्यही जान्छ । कृषि तथा पशुसेवातर्फ पनि हामीहरुले म्यापिङ गर्न सकेका छैनौं । त्यसतर्फ ध्यान दिनुपर्ने छ ।

संस्थागत विकासमा ४ वर्षको अवधिमा महानगर अघि बढ्ने क्रममा छ । महानगर भवन बन्न सकेको छैन । कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । स्थानीय कर्मचारी र संघबाट आएका कर्मचारीबीच आपसमा अन्तरघुलन अभाव छ । स्थानीय तहका कर्मचारीको माग पूरा हुन बाँकी छ । संघीय निजामती ऐन आउनुपर्नेमा अझसम्म आउन सकेको छैन । त्यसको आधारमा प्रदेश ऐनसँगै स्थानीय ऐन बन्ने हो । यी र यस्तै समस्या तथा चुनौतीबीच महानगर अघि बढेको छ ।

महानगरमा प्राविधिक जनशक्ति (इन्जिनियरिङतर्फ) पुगेको छ । त्यसबाहेक खाद्य तथा गुणस्तरतर्फ अनुगमन गर्ने दक्ष जनशक्ति छैन । नापीको लागि पनि समस्या छ । स्वास्थ्यकर्मीहरु पनि कुनै क्षेत्रमा पुगेको छ भने कुनै पनि पुगेको छैन । कृषि र पशु क्षेत्रमा प्राविधिक जनशक्ति अभावै छ । हाल अस्थायी व्यवस्थापनबाट चलेका छौं ।

महेश बराल
प्रमुख प्रशासकीय अधिकृत, पोखरा महानगरपालिका

भोलिका दिनमा प्रदेशको स्पष्ट संरचना भएपछि यसले आकार लेला भन्ने अपेक्षा छ । कर्मचारीमा वृत्ति विकास जरुरी छ । स्थानीय तहका एउटै कार्यालयमा वर्षौ बिताउनुपर्दा समस्या सिर्जना गरेको पाइन्छ ।

यसैबीच, सरकारका ३ तहबीच आपसी समन्वय छ । कानुनले तर्जुमा गरेका प्रक्रियामा त्यसअनुसार नै छौं । बजेटको पाटोमा माथिबाट बजेट तथा कार्यक्रम आउने, हामीहरुले रिपोर्टिङ गर्ने विषयमा ऐन कानुनले स्पष्ट पारेको छ । त्यसअनुसार अगाडि बढेकै छौं । समस्या खासै छैन । प्रदेशतर्फ हेर्दा गण्डकी प्रदेशको राजधानी पोखरा नै भएकोले सघनखालको सम्बन्ध छ । दिनहुँजसो भेट हुँदा सहकार्य गरिरहेका छौं । संघ सरकारका कार्यालयहरुले पनि हामीहरुसँग समन्वय गरेर काम गरेका छन् । सडक डिभिजन लगायतका कार्यालयले सहकार्य गरेका छन् । समन्वयको पाटोमा खास ठुलो समस्या भने छैन ।पोखरा र विदेशमा १२ अन्तर्राष्ट्रिय सहरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सबैसँग सुमधुर सम्बन्ध छ । तैपनि हामी आफैँले गर्नुपर्ने क्षमता विकास र सुधारका विकासमा कमीकमजोरी रहेको स्वीकार्नु पर्छ । हामी आफैँले गर्नुपर्ने क्षमता विकास र सुधारका विकासमा कमीकमजोरी रहेको स्वीकार्नु पर्छ।

स्थानीय तहको निर्वाचनपछि हालसम्म केही महत्वपूर्ण कार्य पनि भएका छन् । महानगर कार्यालयसहित ३३ वटै वडामा विद्युतीय हाजिरी लागु छ । महानगर र वडा कार्यालयको आन्तरिक व्यवस्थानमा सुधार गरी वडा कार्यालयबाट नै छिटोछरितो सेवाप्रवाहको लागि वडा कार्यालयको संगठन संरचना र भौतिक पूर्वाधारमा सुधार गरिएको छ । कर्मचारीको आचरण, व्यवहारमा सुधार ल्याई नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिई गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने गरिएको छ । महानगरको लोगो बनाउने, जनप्रतिनिधिलिाई तोकिएको पोशाकमा व्यवस्था गरी एकरुपता ल्याउने काम महानगरको प्रशासनिक क्षेत्रका कार्य हुन् ।

पोखरा महानगरले हाल महानगरभित्र सडक निर्माणमा अस्फाल्ट प्रविधि अपनाएको छ । यो ज्यादै रुचाइएको छ । साथै कनेक्टिङ रोड नै महत्वपूर्ण छ । उपमेयरसँग महिला कार्यक्रम पनि उपलब्धिमूलक बनेको छ । स्वरोजगार सहित गरिबी निवारणमा पनि यसले सघाएको प्रतिक्रिया आएको छ । सहरी गरिबी न्यूनीकरण कार्यक्रम थियो । विगतमा कार्यक्रम भए पनि अहिले त्यसको गति मन्द छ । त्यसलाई अघि बढाउनुपर्ने छ । प्रवद्र्धनात्मक कार्यक्रमहरु भने नियमित भएका छन् । वडास्तरबाट पनि वृक्षरोपणका कार्यक्रम, चौतारो संरक्षण, तालिम, कौसीखेती हुने गरेका छन् । वडामा पनि पर्याप्त बजेट भएकोले वडास्तरबाटै पनि ती विविध कार्यक्रम भएका हुन् । महाशाखाहरु ठूलो स्केलको कार्यक्रममा केन्द्रित हुने गरेका छन् भने वडास्तरबाट हुने कार्यक्रम पनि सानातिनो भइरहेको पाइन्छ । वडालाई पनि बजेट खाता सञ्चालन गर्ने अधिकार दिएको हुँदा स्वायत्त बनेर खाता सञ्चालन गरेका छन् । भुक्तानी केन्द्रहरु वडावडासम्म पुगेको छ । कर दस्तुरका विषय अनलाइन पनि उपलब्ध छन् । व्यवसाय करमा आगामी दिनमा डिटिजल सुविधा दिँदैछौं । आगामी दिनमा इसेवा, खल्ती लगायतबाट पनि भुक्तानी गर्ने व्यवस्था मिलाउन पूर्वाधार परीक्षणको क्रममा छौं ।

पछिल्लो वर्ष भने विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले पोखरा पनि अछूतो रहन सकेन । यसको नियन्त्रणका लागि महानगर मेयर, प्रमुख जिल्ला अधिकारी र सामाजिक विकास मन्त्रालयका सचिव गरी ३ सदस्य गरी हाइ कमाण्डमा काम गर्ने प्रयास जारी छ । प्रमुख जिल्ला अधिकारी संघ सरकारको प्रतिनिधि, सामाजिका विकास मन्त्रालय सचिव प्रदेश सरकारको प्रतिनिधि रहने हुँदा समन्वयात्मक हिसाबले काम भएको छ । विगतमा जस्तो बेड पाइएन भन्ने समस्या अहिले छैन । कोरोना संक्रमितको उपचारमा आवश्यक अक्सिजन पनि पोखरामा खासै समस्या हैन ।

कोभिड–१९ नियन्त्रणमा पनि प्रदेश सरकारले स्रोतसाधन प्रदान गरेको छ । प्रतिबद्धता अनुसार काम भइरहेको छ । पोखरा–२७ को वडा कार्यालय रहेको साविकको लेखनाथ नगरपालिकाको भवनमा लायन्सको सहकार्यमा करिब १ सय बेड क्षमताको अस्पताल निर्माण कार्य पनि युद्धस्तरमा भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिडका बिरामी ओसार्न महानगरले गाडी उपलब्ध गराएको छ । अक्सिजन सिलिन्डर उद्योगमा लोड अनलोड गर्न उनीहरुको जनशक्तिले नपुगेकोले महानगरले स्वयंले केही समयका लागि ४/४ जना म्यान पावर व्यवस्थापन गरेका छौं । सुरुआतमा पनि नगर प्रहरी पनि पठाइयो । नेपाली सेना, नेपाल प्रहरीको समन्वयमा अहिले शव व्यवस्थापनमा विगतमा जस्तो समस्या छैन । अस्पतालबाट शव उठाउनदेखि अन्त्येष्टिसम्म गाडीको व्यवस्थासहित महानगरकै कर्मचारी पनि खटिने गरेका छन् । एम्बुलेन्सलाई पनि समन्वयात्मक हिसाबले अगाडि बढाएका छौं ।

पोखराको कृषि तालिम केन्द्रमा गत वर्षदेखि नै आइसोलेसन सञ्चालित छ । पिसिआर परीक्षणको दायरा विगतभन्दा अलि बढाएका छौं । जिल्ला प्रशासनले तथा स्थानीय प्रशासनले गरेका अनुरोधहरुलाई पनि हामीले हरतरहले सघाएका छौं ।

अहिलेको ज्वलन्त माग छ, कोरोना खोप । कोभिडविरुद्धको खोप केन्द्रीय सरकारले नै हस्तान्तरण गर्ने हुनाले महानगर आफैँले तत्काल खोप वितरण गर्ने सम्भावना कम छ । तैपनि ल्हासा तथा बेइजिङमा हाम्रा नेपाली दूतावास एवं कन्सुलर अफिसमा चिनोजानेका साथीभाइसँग कुरा गरेका छौं । पोखरा र चीनमा भगिनी सम्बन्ध स्थापित भएका पालिकामा मेयर सावको लेवलबाट चिठी लेखेर पठाएका छौं । अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन सक्ने आश्वासन भए पनि खोपको विषयमा भने केन्द्र सरकारको थप प्रयास आवश्यक देखिन्छ । आशा गरौं, त्यो पनि छिट्टै पूरा हुनेछ ।

(पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालसँगको कुराकानीमा आधारित)

Related News

सम्बन्धित समाचार

hero news full width