पोखरा। ‘नयाँ वर्षपछि व्यवसाय हुन्छ कि भन्ने लागेको थियो, त्यो पनि नहोला जस्तो छ । अब यस्तै अवस्था दोहोरिने हो भने अर्को महिना सामान प्याक गर्छु ।’
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा झण्डै १ करोड लगानी गरेका चन्द्रप्रसाद पौडेलले मंगलबार निराशाको पहाड सुनाए । ‘व्यवसाय गरेको २० वर्ष भो । जानेको व्यवसाय यही हो,’ उनले भने, ‘पेसा चेन्ज पनि गर्न सकिएन । कति दिन भाडा तिरेर बस्नु ।’
ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा), पोखराका पूर्व अध्यक्ष शर्माले लेकसाइडमा ६ वर्षदेखि फुलमुन ट्रेकिङ सप चलाउँदै आएका छन् । उनको पसलमा ट्रेकिङको लागि अत्यावश्यक सामान बिक्री वितरण गरिन्छ । अघिल्लो वर्ष नै उनले पसलका कर्मचारी कटौती गर्न बाध्य भए । गत वर्ष लकडाउनले लामो समयसम्म व्यवसाय प्रभावित बन्यो ।
अब नयाँ वर्ष २०७८ पछि व्यवसाय पहिलेकै अवस्थामा फर्किन्छ कि भनी आशावादी उनी पुनः कोरोनाको दोस्रो लहरले चिन्तामा छन् । मासिक ५० हजार भाडा रहेकोमा पछिल्ला महिना बुझाउन नसकेपछि घरभेटीले एड्भान्सबाटै कटौती गर्दै आएको शर्माले सुनाए । टेसामा आबद्ध ७० जना व्यवसायी छन् । उनीहरुको अवस्था पनि शर्माको जस्तै हो । अघिल्लो वर्ष नै ६/७ जनाले सामान प्याक गरेर व्यवसायबाट हात झिकेका छन् ।
संस्थाका अर्का अध्यक्ष हुन्, रामचन्द्र गिरी । उनले पनि लेकसाइडमा माउन्ट कैलाश आउटडोर गियर चलाउँछन् । ‘कोरोना महामारीको बेला यति रोकिन्छ भने एक दुई साता निषेधाज्ञा गर्नु त ठिकै हो,’ उनले भने, ‘तर अब पनि पोहोरकै अवस्था आए व्यवसाय चलाउन सक्ने अवस्था हुँदैन ।’
सन् २०१९ को अन्त्यमा विश्वभर देखा परेको कोभिड–१९ ले सबैभन्दा प्रभावमा परेको क्षेत्रमध्ये एक हो, पर्यटन । पर्यटनभित्र यस्तै ट्रेकिङ इक्प्युप्मेन्ट सप, होटल तथा रिसोर्ट, रेष्टुरेन्ट तथा बार, ट्रेकिङ एजेन्सी, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, इम्ब्रोइडरी एण्ड गार्मेन्ट सप लगायत पर्दछन् । ती सबै क्षेत्र बिस्तारै जुर्मुराउँदै गरेको अवस्थामा पुनः कोभिडको दोस्रो लहरको प्रभाव परिसकेको छ ।
पर्यटन व्यवसायीहरुका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ । अझै थपिने क्रम जारी छ । तर कोरोना भाइरस महामारीका लागि संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्रको यति ठूलो लगानी डुब्ने खतरामा छ ।
लामो समयसम्म कायम कोरोना भाइरस संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । त्यसो त पर्यटन व्यवसायीहरुले बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशयी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसाय पुनः लयमा फर्काउन ४/५ वर्षसम्म लाग्ने अनुमान गर्छन् ।
पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन भन्छन्, ‘विगतको तुलनामा पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक बन्यो । अब मास टुरिजम पहिलेझैं फर्काउन धेरै वर्ष कुुर्नुपर्छ । पर्यटन क्षेत्र पुनर्जीवन दिन सरकारले राहतस्वरुप घोषणा गरेको पुनर्कर्जा सुविधा तत्काल दिने व्यवस्था गर्नुपर्छ ।’ ठूला, साना तथा मझौला सबै प्रकारका पर्यटन व्यवसायहरु पलायन हुनबाट जोगाउन सबै तहका सरकारले समन्वय गर्नु आवश्यक रहेको होटल द क्लकका सञ्चालक गोपीराज पहारी बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारीको चेक ब्रेक गर्ने भन्दै वैशाख १५ देखि २१ सम्म जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा जारी गरेको छ । दैनिक उपभोग्य खाद्यान्न पसल, निर्माण सामग्रीका पसलबाहेक अन्य पसल सञ्चालन गर्न पाइने छैन भने होटल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुकी ८ बजेसम्म टेक अवे सेवामात्र सञ्चालन गर्न पाउने छन् । जसले गर्दा पोखराको पर्यटन क्षेत्रमा ठूलो मार पर्ने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१