भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित, नेपालमा थप ३३२ मा कोरोना पुष्टि   

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
india corona

फाइल फाेटाे

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।

पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सवैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए । पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

थप ३३२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन् ।

हालसम्म नेपालमा २३ लाख दुई हजार १७३ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

(रासस)

Related News

सम्बन्धित समाचार

hero news full width