नाटक महोत्सवमा ‘न्यायको खोजी’ उत्कृष्ट

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७७
natak ]

पोखरा । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव २०७७ मा ‘न्यायको खोजी’ नाटक प्रथम भएको छ । विश्व रंगमञ्च दिवसको अवसरमा शनिबार पोखराका गन्धर्व नाटक घरमा उक्त नाटक मञ्चन गरिएको छ ।

विद्यालयस्तरीय नाटक महोत्सवमा गण्डकी प्रदेशका मनाङबाहेक १० जिल्लाबाट ४० विद्यालय सहभागी थिए

‘न्यायको खोजी’ले घरपरिवारबाटै न्याय नपाएपछि न्याय खोज्न निस्किएकी १५ वर्षीया सीताको कथा बोकेको छ । उक्त नाटक पोखरा बगरको भानुभक्त आवासीय माध्यमिक विद्यालयको कक्षा ९ की छात्रा अनुषा परियारले लेखन तथा निर्देशन गरेकी हुन् । भानुभक्त आवासीय माविले हप्ताको २ घन्टी नाटक सिकाउँछ । २ वर्षदेखि सञ्चालित कक्षाले विद्यार्थी कलाकारितामा आकर्षित भएको विद्यालयका प्रधानध्यापक दिनेश लामिछानेले बताए । नियमित कक्षा लिएका विद्यार्थीमा कथा लेखन र निर्देशन गर्न सक्ने क्षमता विकास भएको उनले जानकारी दिए ।

विद्यालयस्तरीय नाटक महोत्सवमा गण्डकी प्रदेशका मनाङबाहेक १० जिल्लाबाट ४० विद्यालय सहभागी थिए । जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्वितीय भएको छ । पर्वतको न्यु होराइजन माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘अभाव’ तृतीय हुँदा तनहुँको सत्यवती माविले तयार पारेको ‘कोरोनाको शैक्षिक प्रभाव’ र बाराही मावि कास्कीले तयार पारेको ‘म पछाडिको मेरो सत्य’ ले सान्त्वना पाए ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, २५ हजार, १२ हजार ५ सय पाएका छन् । सान्त्वना हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे । पुरस्कृतलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रमाणपत्र र पुरस्कार प्रदान गरे ।

मन्त्री गुरुङले विद्यार्थीले तयार पारेको नाटक अब्बल रहेको प्रतिक्रिया दिए । गण्डकी प्रदेश सरकारले कला क्षेत्रलाई आफ्नो स्थापनादेखि नै साथ दिइरहेको बताउँदै मन्त्री गुरुङले त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

महोत्सवमा उत्कृष्ट भएका ५ वटै नाटक शनिबार गन्धर्व नाटक घरमा मञ्चन गरिएको थियो । नेपाल संगीत नाट्य प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, कलाकार प्रकाश घिमिरे, साहित्यकार प्रकट पंगेनी, कलाकार माओत्से गुरुङ लगायत नाटक हेर्न गन्धर्व नाटक घरमा जुटेका थिए । कोरोनाले थिएटर बन्द रहेको अब वैशाखबाट आफूहरु नयाँ नाटक लिएर आउने थिएटर सञ्चालक परिवर्तनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width