बालबालिकामाथि यौन हिंसा बढ्दो

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७७
insec

पोखरा । पछिल्ला २ वर्षको तथ्यांक हेर्दा गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघनका घटना क्रमश घटिरहेका छन् । तर डरलाग्दो के छ भने बालबालिकामाथि हुने हिंसा भने बढ्दो ग्राफमा छ । इन्सेकले पोहोर सार्वजनिक गरेको तथ्यांकमा ९० जना बालबालिका पीडित भएका थिए । अहिले त्यो अंक बढेर १ सय २१ पुगेको छ । बालक र बालिका दुवैजना यौन दुव्र्यवहारको शिकार भएका छन् ।

बलात्कार र यौन हिंसाको शिकार बालक समेत भएका छन् । गएको वर्ष ४ जना बालक यौन दूव्र्यवहारको शिकार भएको इन्सेक गण्डकी प्रमुख शिव खकुरेलले बताए । उनले भने, ‘समग्रमा अंक घटे पनि बालबालिकामाथि हुने हिंसा भने बढेको छ, यो डरलाग्दो पक्ष हो ।’

सामाजिक सञ्जालका कारण गैरराज्यपक्षबाट मानवअधिकार उल्लंघनका घटना बढे

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ४ सय ७७ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

इन्सेकको अभिलेख अनुसार गण्डकी प्रदेशमा गैरराज्य पक्षबाट हत्या ६ जना, अपहरण ३ जना, महिला अधिकार अन्तरगत २ सय २५ जना, बालअधिकार अन्तरगत १ सय २१ जना र राज्यपक्षबाट कुटपिट २ जना, गिरफ्तारी ६१ जना, अभिव्यक्ति, भेला तथा संगठित हुन पाउने अधिकार अन्तरगत २६ जना र अमानीय व्यहार अन्तरगत २ जना पीडित बनेका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण गर्दै गण्डकी प्रदेश मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेले मानवअधिकार वर्ष पुस्तकले राज्य र त्यसका निकायलाई मानवअधिकार प्रति सचेत बनाउने बताए । उनले नेपाल मानवअधिकार वर्ष पुस्तकले नेपालको मानवअधिकार अवस्थालाई बुझ्न महत्वपूर्ण भूमिका खेलेको भनाइ राखे ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले प्रहरी सदैव मानवअधिकारको संरक्षण र संवद्र्धनको पक्षमा रहेको बताए । पछिल्लो समय सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर गैरराज्यपक्षबाट मानवअधिकार उल्लंघनका घटना बढेको बताए । गैरसरकारी संस्था महासंघ महासचिव रामप्रसाद सुवेदीले नेपाल मानवअधिकार वर्ष पुस्तक नेपालमा मात्रै नभइ अन्तरर्राष्ट्रियस्तरमा समेत उपयोगी हुदै आएको बताए । ।

उनले नागरिक र राजनिति अधिकारलाई सुरक्षीत गराउन नागरिक संगठन सदैव अग्र भुमिकामा रहने बताए ।

वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले नेपालले अन्तरर्राष्ट्रिय रुपमा गरेको सन्धिअनुरुप राज्य संयन्त्रले काम गर्न नसकेको भनाइ राखे ।

गैसस महासंघ गण्डकी अध्यक्ष विना सिलवालले राज्यपक्षबाट ज्यादतीका घटना भैराख्नु दुखदः विषय भएको बताइन् । ‘राज्य संरक्षक हो संरक्षक नै भक्षक भयो भने त्यसले पीडादायी अवस्था सिर्जना गर्छ आशा गरौं आगामी वर्ष राज्य पक्षबाट हुने मानवअधिकार उल्लंघनका घटना वर्ष पुस्तकमा नहुन्’,उनले भनिन् ।

लामो समयसम्म न्याय निरुपणमा नहुँदा समेत नागरिकहरु पीडित हुने गरेको उनको भनाइ थियो । पोखरा महानगरपालिका वाल मञ्च अध्यक्ष एलिना श्रेष्ठले पछिल्लो समय बालबालिका माथी हुने हिंसाका घटना बढेको भन्दै त्यसको न्यूनीकरणका लागि परिवार, समाज र राज्यको भूमिका महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख शिवप्रसाद खकुरेलले मानवअधिकारको संरक्षण र संर्वद्धनको दायित्व राज्यको भएको भन्दै राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले सार्वजनिकीकरण कार्यक्रममा २०२० को उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेक कास्की प्रतिनिधि सुशन घिमिरेलाई गण्डकी प्रदेशका महान्यायधिवक्ता राजेन्द्र घिमिरेले ७ हजार नगद, मायाको चियो, सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width