फेदीखाेलामा  गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
harka bahadur

स्याङ्जा । तमु भाषका आदिकवि हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आइतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं.–१, रामकोटमा प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अनावरण गरेका हुन् । तमु आदिकावि स्व. हर्क बहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदीखोला गाउँपालिकाद्वारा रामकोटमा आयोजित कार्यक्रममा स्व. गुरुङप्रति श्रदाञ्जली अर्पण गर्दै आदिकविको योगदानको सम्मान हुनुपर्ने बताए ।

तमु भाषामा गीत लेखन, गायनका सुत्रधार स्व. गुरुङको प्रकाशित, अप्रकाशित कृतिको संरक्षणका साथै प्रकाशन जरुरी रहेको उनले भनाई राखे । नेपालमा रहेका विविधता नै पहिचान भएकोले सांस्कृतिक, भाषिक संरक्षण र विकाशमा ध्यान दिनु पर्ने जोड दिँदै मन्त्री गुरुङले स्व. गुरुङको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङले स्व. गुरुङलाई तमुहरुले मात्रै नभई राज्यले नै आदिकवि घोषणा गर्नुपर्ने माग गरे । आदिकवि स्व. गुरुङको विषय फेदिखोला गाउँपालिकाले स्थानीय पाठ्य विषयवस्तुमा समावेश गर्न तयारी गरिरहेकोमा खुशी व्यक्त गर्दै श्रष्ठाको शालिक स्थापनाले पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने बताए । स्रष्टा राज्यको निधि भएकाले स्रष्टाका कृति संरक्षण र प्रकाशनमा जोड दिनुपर्ने बताए ।

तमु धिं नेपाल अध्यक्ष हुमबहादुर तमुले तमु आदिकवि स्व. हर्क बहादुर गुरुङ शिक्षा, सचेतना, राष्ट्रसेवा, सामाजिक न्यायका सांस्कृतिक अभियन्ता भएको बताए । उनको सिर्जना र जागरण अभियान सबैको लागि उदाहरणीय भएको बताए । फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले तमु आदिकवि स्व.हर्क बहादुर गुरुङलाई सम्मान गर्न कुनै कञ्जुस्याई नगरिएको बताए । गाउँपालिका स्व. हर्क बहादुर गुरुङको बारेमा पाठ्यक्रममा समावेश र शालिक सहितको पार्क निर्माणमा जुटेको बताउँदै उनले गुरुङ मात्र होइन, फेदिखोलाको स्रष्टालाई राष्ट्रले आदिकवि घोषणा गर्न माग गरे । कार्यक्रममा बहादुर सिंह गुरुङ र तेज बहादुर चाक्लीले कविता वाचन गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता, निर्माण समितिका संयोजक लाला गुरुङले स्वागत मन्तव्य र प्रतिष्ठानका सचिव अविलास गुरुङले कार्यक्रम संचालन गरेका थिए । तमु आदिकवि स्व. हर्क बहादुर गुरुङको शालिक सहितको पार्क निर्माणमा फेदिखोला गाउँपालिका जुटको छ ।

स्याङ्जाको फेदीखोला साल्मेमा वि.सं. १९९३ सालमा जन्मिएका हर्कबहादुर गुरुङको वि.सं. २०६७ सालमा निधन भएको थियो । उनले गुरुङ भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।
उनको वि.सं. २०१६ सालमा ‘गुरुङ लोकगीत’ नामक पुस्तक प्रकाशन भएको छ जसमा तीन दर्जन गुरुङ गीत समावेश गरिएका छन् । उनले चर्चित गीत ‘क्युदे थुलेन दुःख म्हन’ वि.सं. २०११ सालमा रचना गरेका थिए । यसले गुरुङ जातिमा मामाचेली फुपूचेला विवाहको बाध्यकारी व्यवस्थाले सिर्जित समस्यालाई गीतले उजागर गरेको छ । उनको गीत सङ्ग्रह ‘क्युदे थुलेन’ प्रकाशित छ । वि.सं. २०१७ सालमा रेडियो नेपालमा सुनिमाया, ठाडोभाका र यानीमाया रेकर्ड गराएका आदिकवि गुरुङले तमु भाषामा जागरण र चेतनाका गीत बस्तीबस्तीमा गाउँदै हिँडेका थिए । उनलाई वि.सं. २०५८ सालमा तमु सांस्कृतिक प्रतिष्ठानले गुरुङ अदिकविको सम्मान दिएको थियो ।

उनी गीत लेखन र गायनका क्षेत्रमा समेत सक्रिय थिए । उनको भाका मीठो थियो । उनको गायन कला उत्कृष्ट भएकाले उनका गीतहरु सुन्न मान्छेह कामै छाडेर भए पनि बस्थे । उनको जीवनीको वृत्तचित्र समेत बनेको छ । उनका गीत र कृतिहरूको अनुसन्धान र लेखन समेत भएको लेखक लाला गुरुङको भनाइ छ । हाल फेदीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माणका क्रममा समेत स्व.गुरुङको जीवनीलाई समावेश गर्ने भएको छ । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले हर्क बहादुर गुरुङ गुरुङ भाषाका मात्र नभएर समग्र जाति र भाषाका कवि तथा संस्कृतिकर्मी भएकाले उहाँको सम्मानका खातिर गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width