नवलपुर, २६ कात्तिक । विनयी त्रिवेणी १, बहुवनका शम्सेर ढेगा भन्छन्, ‘वर्षेनी विनयी खोलाले २ जनाको ज्यान लिन्छ । कोही बगेर मर्छन् । बिरामीहरुको खोला तर्न नसक्दा घरमै ज्यान जान्छ ।’ हिउँदमा समेत मान्छे डुवाउने खोला बर्खामा तर्न सक्ने कुरै भएन । ‘कतिपटक हारगुहार गर्यौं । पुलको माग गरेको वर्षौं भयो । कसैले सुनेनन्,’ उनले भने, ‘प्रदेशले बल्ल झोलुङ्गे पुल झुन्ड्याइदियो । अब हाम्रा दुःखका दिन गए ।’ माग्न त उनीहरुले मोटर हिड्ने पुल मागेका थिए । सरकारले पहिलो चरणमा १ सय ९९ मिटर लामो झोलुङ्गे पुल बनाइदिएपछि स्थानीयलाई आउजाउ गर्न सजिलो भएको छ । १ करोड ३७ लाख लागतमा पुल निर्माण भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । विनयी त्रिवेणीका केही गाउँ अझै अर्को प्रदेशबाट आफ्नो जिल्लाको सदरमुकाम आउनुपर्ने बाध्यतामा छन् ।
प्रदेश सरकार गठन भएपछि प्रदेशभर १ सय २१ वटा झोलुङ्गे पुल निर्माणको चरणमा अघि बढेको छ । तीमध्ये आधा दर्जनको काम सकिएको छ भने बाँकी निर्माणाधीन छ । थप १ सय १५ वटा पुलको डीपीआर भैरहेको मन्त्रालयले जनाएको छ । हाल प्रदेशभर १ सय ४५ वटा मोटरेबल पुल निर्माणका लागि कार्यान्वयन अघि बढेको छ । ३ वर्षको अवधिमा २१ वटा पुलको निर्माण सकिएको छ भने अधिकांश अन्तिम चरणमा पुगेका छन् । ६३ वटा सडकपुलको डीपीआर सुरु भएको छ । त्यही कार्यक्रमअन्तर्गत नवलपुरको कारमघारी चर्केकुनस्थित अँधेरीखोलामा पक्की मोटरेबल पुल बनेको छ ।
गण्डकी सरकार स्थापना भएकै दिन पहिलो बैठकले २ वर्षभित्रै प्रदेशभरी खानेपानीको व्यवस्था गर्ने निर्णय गरियो । सरकार गठन भएको करिब ३ वर्ष पुग्न लाग्यो । सरकारी लक्ष्य अनुसार काम नभए पनि अहिले गाउँगाउँमा खानेपानी आयोजना निर्माण धमाधम भैरहेका छन् । चालू आर्थिक वर्षको अन्त्यसम्म प्रदेशका सबै गाउँवस्तीमा खानेपानीको व्यवस्था गरिसक्ने संशोधित लक्ष्य छ । चालू वर्षमा खानेपानी आयोजनाका लागि मात्रै सरकारले २ अर्ब ३९ करोडभन्दा बढी विनियोजन गरेको छ । यसबाहेक १ अर्ब ४ करोड संघ सरकारले पठाएको छ । स्थानीयको पनि त्यसमा सहभागिता छ । अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा पानी पुर्याउन प्रदेशले छुट्टै करिब ४ करोड विनियोजन गरेको छ ।
‘संघीयताले के दियो भनेर प्रश्न उठिरहेको छ । व्यवस्था फेर्नुपर्ने आवाज बुलन्द हुँदै गएको देख्छु,’ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘काठमाडौं र पोखरामा बसेर संघीयताको अवगुण केलाउनु न्यायोचित हुँदैन । त्यसका लागि बस्तीमा जानुस् । खोलामा पुग्नुस् । खेतमा हेर्नुस् ।’ उनले संघीयतापछि नै खानेपानी, सडक, पुल, सिँचाइ लगायत योजना तल्लो तहमा पुगेको बताए । ‘पोखरामा प्रदेश सरकार थिएन भने नवलपुरमा खानेपानीको धारा कसरी पुग्थ्यो ? गोरखाका विकट गाउँमा सडक कसले पु¥याउँथ्यो ? पुल नहुँदा बालबच्चा खोलाले बगाएको पीडा कसले सुन्थ्यो ?,’ उनले थपे, ‘आज संघीयतापछि प्रदेश सरकार बनेको छ र नागरिकका पीडा सुनिएका छन् । विकासका काम भएका छन् ।’
नवलपुरको देवचुली नगरपालिकामा प्रदेशकै सबैभन्दा ठूलो खानेपानी आयोजना निर्माण लगभग अन्तिम चरणमा पुगेको छ । २ हजार ७ सय घरधुरीलाई पानी वितरण गर्ने गरी ३१ करोड २० लाख लागतमा आयोजना निर्माण गरिएको हो । २० वर्षपछि हुने २३ हजार ३६ जनालाई पानी वितरण गर्न सक्ने गरी संरचनाको निर्माण गरिएको छ । विभिन्न क्षमताका ५ वटा टंकी बनाइएको छ भने करिव १ सय १२ किलोमिटर पाइपलाइन विस्तारको काम भैरहेको छ । आयोजनामा हालसम्म २ हजार २ सय धारा जडान भैसकेको छ । आयोजनाको मन्त्री बस्नेतले उद्घाटन गरे । एकैदिन देवचुलीमा २ वटा खानेपानी आयोजना उद्घाटन भएको छ भने एउटा नयाँ आयोजनाको शिलान्यास गरिएको छ ।
बरटाँडी खानेपानी आयोजना १४ महिनाको अवधिमा निर्माण सकिएर आइतबार गाउँलेलाई हस्तान्तरण गरिएको छ । १ सय ६० घरधुरीलाई पुग्ने गरी १ करोड २ लाखमा योजना पूरा गरिएको हो । देवचुली खानेपानी आयोजनाको भने निर्माणको काम बल्ल सुरु भएको छ । १ हजार ३ सय ७४ घरधुरीका लागि पानी वितरण गर्न आयोजनाको काम थालिएको हो । पानीको प्रशोधन प्रणाली सहित आयोजना बनाउन १३ करोडभन्दा बढी लागत अनुमान गरिएको छ । देवचुलीमा मात्रै प्रदेश सरकारले ८ वटा ठूला खानेपानी आयोजना निर्माणको काम गरिरहेको छ ।
नवलपुरभरी हाल १४ खानेपानी आयोजनाको काम भैरहेको छ
नवलपुरभरी हाल १४ खानेपानी आयोजनाको काम भैरहेको छ । गैंडाकोटमा आइतबार नै अमरापुरी खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । नगरको १४ देखि १७ नम्बर वडाका १ हजार २५ घरधुरीलाई पानी दिने गरी आयोजना बनाउन ४ करोड ८१ लाख लागत अनुमान छ । त्यसको ८९ प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने छ भने ११ प्रतिशत स्थानीयले जुटाउने छन् । २०७९ असार २१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य छ । ‘४ लाख ५० हजार लिटरको ओभरहेड टंकी बन्छ । अहिले खोलाको पानी खानेहरुले त्यसपछि धाराको शुद्ध पानी पाउँछन्,’ खानेपानी डिभिजन कार्यालय तनहुँका प्रमुख किरण पौडेलले भने, ‘पानीको श्रोत बढाउने र शुद्धिकरणको परियोजना तयार गर्न लागिएको हो ।’
आयोजनाको उद्घाटन र शिलान्यासमा पुगेका मन्त्री बस्नेतले पहिलो चरणमा आधारभूत खानेपानी विस्तार गरिसक्ने र त्यसपछि शुद्ध पानी वितरणमा लाग्ने बताए । ‘पहिले सबै ठाउँमा पानी पुर्याऔं । घरघरमा धाराबाट पानी झारेपछि शुद्धतामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘अब थाप्लोमा नाम्लो हालेर डोकोबाट पानी बोक्ने दिनको अन्त्य हुन्छ । पानीका कारण रोग लाग्यो भनेर अस्पताल जानुपर्दैन ।’ एक घर एक धारा कार्यक्रमअन्तर्गत ४० हजार घरमा धारा जडान भैसकेको तथ्यांक छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता तथा नवलपुरका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताकै कारण विकासको वहार आएको बताए । ‘विकास भएन भन्छन् । सांसद र मन्त्रीले तलब खाए भनेर समाचार आउँछ । बढी खर्चिलो भयो भन्ने आवाज सुनिन्छन्,’ उनले भने, ‘यो सबै संघीयता मन नपराउनेहरुको तर्क हो । संघीयता आएपछि विकास भएको छ । जनताको मुहारमा खुसी छाएको छ ।’ उनले विकासका लागि प्रदेशमा कुनै राजनीतिक मतभेद नरहेको बताए । सांसद रोशन गाहा थापाले प्रदेशको औचित्य बल्ल पुष्टि भएको बताए । ‘घरमा बिजुली बल्दा प्रदेश सरकार देखिन्छ । धारामा पानी आउँदा प्रदेश देखिन्छ । पुल चाहिँदा माग्ने ठाउँ प्रदेश नै हो,’ उनले भने, ‘अनि हाम्रो सरकार कहाँ रहेछ ? काठमाडौं कि पोखरा ? डीपीआर र प्रक्रियाले केहि ढिलो भयो होला । अब नतिजा देखिन थालेको छ ।’
सांसदहरु जनकलाल श्रेष्ठ र लक्ष्मी सुनारले नयाँ राज्य व्यवस्थाबाटै विपन्न र पछाडी परेका ठाउँहरु विकासको बाटोमा लागेको बताए । मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले आयोजनाको डीपीआर सकिएर अहिले धमाधम कार्यान्वयनको चरणमा रहेको बताए । ‘नयाँ आयोजनाको डीपीआर भैरहेको छ । डीपीआर सकिएकाहरु सबै ठेक्का लागेर कार्यान्वयनको चरणमा छन्,’ उनी भन्छन्, ‘काठमाडौंले नवलपुर चिन्दैनथ्यो । पोखराले चिन्यो ।’ ५ वर्षभित्रै सबै पालिकाको केन्द्र जोड्ने सडक विस्तार र कालोपत्रे गर्ने सरकारको लक्ष्य छ । ८५ पालिकामध्ये गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकामा अहिलेसम्म सडक सञ्जालले छोएको छैन ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१