पहिरोमा २७ जनाको मृत्यु, ४ जना बेपत्ता, १२ घाइते

साधन राम्जाली
असार २७, २०७७
second news

तस्वीर सौजन्य : प्रदेश प्रहरी कार्यालय पोखरा ।

म्याग्दी | म्याग्दी जिल्लाको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार बिहान अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २७ जनाको मृत्यु भएको छ । घटनामा अझै ४ जना बेपत्ता छन् ।१२ घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं, पोखरा र बेनीका अस्पतालमा उपचारार्थ पठाइएको छ ।

पहिरोमा बेपत्तामध्ये मालिका गाउँपालिका वडा ७ का ८ जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

पहिरोमा परी मालिकाकी विष्णु पौडेल, उनकी ४ वर्षीया छोरी ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरको ३ महिनाकी छोरी निशाको मृत्यु भएको छ ।

उता, धवलागिरी गाउँपालिका वडा ६, मराङगमा पहिरो परी १८ जनाको मृत्यु भएको छ । स्थानीय सुकना लामगादे, तुलबहादुर क्षेत्री, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) ले ज्यान गुमाएका छन् ।यस्तै, सोही ठाउँकी ३३ वर्षकी हीरामति जुग्जाली, ७ की करिष्मा जुग्जाली, ५ की कञ्चन जुग्जाली, ५५ की गौसरा जुग्जाली, २० की दीमा जुग्जाली, ४ वर्षीया दीप्ति जुग्जाली, १ की दिवान जुग्जालीको पनि मृत्यु भएको छ ।

जिल्लाको मालिकाको बिम, मुरवाङ, दुलेमा तथा मराङको मराङ, कल्लेनी, राम्चे र रिखमा पहिरो गएको हो । पहिरोमा बेपत्ता भएका बीमकी एलिसा केसी, मालिका ६ बस्ने अ. ४१ वर्षकी गीता रोका (खोलाले बगाएको), कल्लेनीकी ५१ वर्षीया जनिमा केसी, वर्ष १६ का सविन पुनको खोजी कार्य जारी छ ।

मराङ्को पहिरोमा बेपत्ता भनिएका धनबहादुर जुग्जाली, अन्दाजी १५ वर्षीया ऋतुकुमारी जुग्जाली, अन्दाजी ५ वर्षीय अर्जुन जुग्जाली भने सम्पर्कमा आएको प्रहरीले जनायो ।

पहिरोमा परी १२ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मालिका ७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी ६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली, वर्ष ७ का सफल श्रीपाली र मालिका ७ ताकमकी ६७ की सतदेवी बिटालुको उपचार भइरहको छ । उनीहरुको प्रभू हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो । गर्भवतीसमेत रहेकी मञ्जिताको ढाँडमा समस्या देखिएको छ । मालिका ६ का बालसिंह रोकाको काठमाडौंको मेडिसिटीमा उपचार भइरहेको छ ।

यस्तै, धवलागिरी ६, रिखका १२ वर्षीय अंकित जुग्जाली, वर्ष ३५ का कुशल पुन, वर्ष १६ की बिर्सना जुग्जाली, वर्ष ३४ का धनबहादुर जुग्जाली, वर्ष ८७ की गौतमी सुनार, वर्ष २२ का दीपक श्रीपाली, वर्ष ७२ का हरि बिटाजु घाइते छन् । उनीहरु बेनी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

उता, रघुगंगा गाउँपालिका ठाडाखानी बस्ने ५० का नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ ।

अविरल वर्षाका कारण ती ठाउँमा ५०÷६० वटा पहिरो गएको धवलागिरी गाउँपालिका वडा ६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

पहिरोको उच्च जोखिम भएका २ सय २० जना मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक डाक्टर चौधरीले जानकारी दिए ।

रघुगंगा गाउँपालिका ३, गलेश्वर राहुँघाटखोला नजिकको बस्ती जोखिममा रहेकोले २१ घरधुरीका ८५ जनाको परिवारलाई नजिकैको गायत्री मन्दिरमा सारिएको छ । धवलागिरी ६, कल्लेनी जहरे बस्ने ८९ जना व्यक्तिहरुको उद्धार गरी ५० जनाको वडा ७, शिवलिंग स्थित हेम मावि आश्रय दिइएको छ भने बाँकी आफन्तको गएका छन् । मालिका गाउँपालिका वडा ५, देवीस्थानका ३ घरधुरीका १३ जना र वडा ६ दरबारसडाउटाका ६ घरधुरीका ३३ जना गरी ४६ जनालाई जनप्रिय मावि दरबाङ सारिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पहिरो गएको क्षेत्रमा पुगी बेपत्ता भएका व्यक्तिको स्थानीय सहयोगमा खोजतलासमा सहयोग गरेको हो । शुक्रबार बिहान पहिरो गएपनि भौगोलिक विकटता र प्रतिकूल मौसमसँगै उद्धारमा कठिनाइ र ढिलाइ भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै