कोपा इटालीको उपाधि भिडन्तमा युभेन्टस र नापोली

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Napoli vs Juventus, Coppa Italia

पोखरा । युभेन्टस र नापोलीले कोपा इटालियाको फाइनलमा भेट पक्का गरेका छन् ।

कोपा इटालियाको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा नापोली र इन्टर मिलानले बराबरी खेल्यो । नापोली र मिलानले बराबरी खेलेपनि समग्रमा नापोलीको पक्षमा २–१ को नतिजा निस्केको हो । यसअघि, सेमिफाइनलकै पहिलो लेगमा नापोलीले मिलानलाई १–० को जित निकालेको थियो ।

नापोलीको घरेलु मैदानमा भएको दोस्रो लेगमा विपक्षी नापोलीलाई दवावमा राखेपनि रक्षा पंक्ति तोड्न नसक्दा मिलान सेमिफाइनलबाटै बाहिरिएको छ । खेलको सुरुवाती दोस्रो मिनेटमै अग्रता लिएको मिलानले अन्ततः अग्रतालाई जोगाउन सकेन । मिलानका लागि खेलको सुरुवाती दोस्रो मिनेटमै क्रिस्टियन इरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटसम्म मिलानको अग्रता कायम रह्यो । खेलको ४१ औं मिनेटमा नापोलीका ड्रियस मोर्टिन्सले गोल गर्दै मिलानसँग १–१ को बराबरी गरायो । लारेन्जो इन्सिग्नेको असिस्टमा मोर्टिन्सले गोल फर्काएका थियो । त्यसपछि, दुबै टोलीबाट कुनैपनि गोल हुन सकेन । कोपा इटालियाको नियमअनुसार सेमिफाइनलमा २ वटा लेग खेलेको नापोलीले समग्रमा २–१ को जित निकाल्दै युभेन्टससँगको फाइनल भेट पक्का गरायो ।

यता, कोपा इटालिया अन्तर्गतकै पहिलो सेमिफाइनलकै दोस्रो लेगमा पनि युभेन्टस र एसी मिलानले बराबरी खेल्यो । खेल बराबरीमा रोकिएपनि अवे खेलको आधारमा युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि, फेब्रुअरीको १३ तारिखमा एसी मिलानकै घरेलु मैदानमा भएको खेलमा पनि दुबै टोलीले १–१ को बराबरी खेलेको थियो । एसी मिलानको घरेलु मैदानमा भएको अवे खेलमा घरेलु टोलीलाई बराबरीमा रोकेवापत् युभेन्टसले फाइनल पुग्ने अवसर हात पारेको हो ।

दोस्रो लेगमा खेल अवधिभर मिलानमाथि हावी भएपनि युभेन्टसले पाएको पेनाल्टी अवसरलाई समेत सदुपयोग गर्न सकेन । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । अब, नापोली र युभेन्टसले उपाधिका लागि जुनको १७ तारिखमा फाइनल खेल्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width