राहत माग्दै पोखरा महानगर कार्यालयमा मजदुरको घेराउ

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७७
20200427_133428

पोखरा । पोखरा वडा ९, कृष्णटोल बस्ने सुनिता सुनार सुत्केरी हुन् । उनी २४ वर्षकी भइन् । मात्र ४ महिनाको छोरा काखमा लिएर उनले राहत माग्दै धर्ना दिएकी छन् । उनका पति ज्यामी काम गर्दछन् । तर महिना दिनभन्दा बढी लामो समयको लकडाउनले काम पाएका छैनन् । काम नपाउँदा दैनिक ज्यालादारी गर्ने उनीहरुको परिवारका ३ सदस्यलाई हातमुख जोड्न धौ–धौ छ । वडा कार्यालयले अहिलेसम्म आफूलाई राहतको नाममा एक गेडो चामल पनि नदिएको सुनिताको गुनासो छ । उनले भनिन्, वडाले पठाएको राहत कृष्णटोल आमा समूहले बाँडेको छ भन्ने थाहा पाएर माग्न गएको खान नपाएर आएकी होस् भन्दै थर्काएर पठाइदिए । म सुत्केरीले बच्चाको लागि भए पनि पोषिलो खुराक खानुपर्ने बेला एक गास भात खान पनि धौ–धौ भो ।’

सुनिताको जस्तै व्यथा ३७ वर्षीय कमला बिकको पनि छ । उनका १३ वर्ष र १६ वर्षका २ जना छोरीहरु छन् । कास्कीको घान्द्रुककी कमला कृष्णटोलमै २ छोरीको साथमा डेराकोठामा बस्छिन् । २०५१ सालमा विहे गरेकी उनलाई पतिले २०६३ सालमा अर्की ल्याएपछि छोडेर गए । कुल्ली काम गरेरै अहिलेसम्मको जीवन गुजारा गर्दै आएकी थिइन् । तर लकडाउनका कारण काम गर्न पाएकी छैनन् । सरकारले मजदुरहरुको लागि राहत दिएको भने पनि आफ्नो चुल्होमा राहत नआएको गुनासो छ, उनको ।

त्यतिमात्र कहाँ होर, ५२ वर्षका बुद्धिबहादुर बिक बैशाखी सहारामा हिडडुल गर्दछन् । उनी पनि राहत नपाएको भन्दै बैशाखी टेकेरै कृष्णटोलदेखि वडा कार्यालयसम्म सोमबार धर्ना बस्न आए । उनले ज्यामी काम गर्थे । काम गर्नेक्रममा गत पुसमा बायाँ खुट्टा भाँचियो । र, चिकित्सकले प्लाष्टर गरी बैशाखी भिराइदिए । पतिको ग्रह बिग्रेपछि परिवारमा २ छोरा र १ छोरा पाल्न श्रीमतीले फलफूल बेच्न थालिन् । उनको परिवार राहत नपाउँदा इन्तु न चिन्तु छ । सरकारले गाउँघर जान पनि दिँदैन । पर्याप्त राहत त के काम गर्न पनि दिँदैन । बुद्धिबहादुरका अनुसार २ साताअघि मात्र स्थानीय टोल विकास संस्थाले १२ केजी तामल, १ केजी दाल, १ किलो नून दिएको हो । तर त्यत्तिको राहतले के पुग्थ्यो, त्यत्रो ठूलो परिवारलाई । उनी भन्छन्, ‘म काम गर्न नसक्ने भएपछि श्रीमतीले फलफूल बेचेर भएपनि परिवार पालेकी थिई । कि फलफूल बेच्न दिनु परो । कि राहत दिनु परो ।’

पति स्वर्गेबास भएपछि लक्ष्मी बिक एकल जीवन बाँचिरहेकी छन् । ३६ वर्षकी उनका ३ छोरी छन् । लेखनाथ घर बताउने उनी कृष्णटोलमै बस्छिन् । बन्दले गर्दा काम पाएकी छैनन् । काम नपाउँदा हातमुख जोड्न समस्या छ । उनका अनुसार अहिलेसम्म राहत पाएकी छैनन् । ‘राहत लिन भनी गाको, तिमीहरुलाई पछि आउँदै भन्दै फर्काउँछन्, दिँदै दिँदैनन्,’ उनले भनिन् ।

यी सुत्केरी, एकल महिला, अपांगता भएका व्यक्ति प्रतिनिधि पात्र हुन् । उनीहरुसहित करिब ३ सय जनाको संख्यामा मजदुरहरुले पोखरा न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय सोमबार घेराउ गरेका छन् । त्यसअघि उनीहरुले नयाँबजारस्थित वडा कार्यालयमा धर्ना दिएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा ९ को समस्याबारे महानगरको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘मजदुरको समस्यामा महानगर गम्भीर छ । छिट्टै हामीहरु राहत वितरण गर्दछौं ।’

पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले कृष्णटोलमा पहिलो चरणमा ६ सय ८८ घरपरिवारलाई राहत वितरण गरेको दाबी गर्दै छुटेलाई केही संघ संस्थाको समन्वयमा पुनः वितरण गरिने बताए ।

मजदुरहरुले आइतबार दिउँसो पनि पोखरा ९ को वडा कार्यालयमा धर्ना दिएका थिए ।

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म साढे ४ करोड रुपैयाँ संकलन भैसकेको जनाइएको छ । महानगरले नगरभित्र ३० हजार बढीलाई राहत वितरण गरेको दाबी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width