रविको अभिव्यक्ति आपत्तिजनक

सम्पादक
माघ २४, २०७९

सभापति रवि लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने अडानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीले त्यसरी फिर्ता बोलाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् । त्यस पार्टीले मन्त्रीहरुलाई त्यसरी फर्काए तापनि सरकारलाई दिएको समर्थन भने फर्काएको छैन । त्यस हिसाबले यो एक घुर्की त भएको छ तर प्रधानमन्त्री दाहाललाई यसले त्यत्ति दबाब दिने देखिँदैन । प्रधानमन्त्रीले रवि लामिछानेलाई गृहबाहेक अरु मन्त्रालय लिन भनेका थिए तर उनले अरु मन्त्रालयमा रुचि देखाएनन् । जसको कारण यो स्थिति उत्पन्न भएको हो ।

कुनै पार्टी सरकारमा जानु र सरकारबाट बाहिरिनु एउटा सामान्य प्रक्रिया हो । राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो निर्णयलाई पनि सामान्य रुपमा लिन सकिन्छ । तर त्यो निर्णय सार्वजनिक गर्ने क्रममा त्यस पार्टीका सभापति रवि लामिछानेले प्रेसमाथि जे–जति आरोप लगाए र धम्की दिए त्यो असाधारण भएको छ । उनले प्रेसले एकतर्फी रुपमा आफ्नो बारेमा लेखेको हुँदा आफ्नो यस्तो अवस्था आएको भनेर प्रेसमाथि दोषारोपण गरेका छन् । उनले अब पनि सञ्चार प्रतिष्ठानले आफ्नो विरोधमा झुठो समाचार सम्प्रेषण गरे आफ्ना शुभचिन्तकहरु लिएर सञ्चार प्रतिष्ठानमा जाने धम्की दिएका छन् । उनको त्यो धम्कीबाट सञ्चार क्षेत्रले असुरक्षाको अनुभूति गरेका छन् । गृहमन्त्री भएका व्यक्तिले सञ्चार प्रतिष्ठानलाई यस्तो धम्की दिनु उसैका लागि पनि शोभा दिँदैन । उनको त्यस अभिव्यक्तिबाट सञ्चार जगत स्तब्ध भएको छ र त्यो अभिव्यक्ति फिर्ता गर्नु पर्दछ भन्ने स्वर चर्किंदै गएको छ ।

रवि लामिछानेको त्यस आपत्तिजनक अभिव्यक्तिको विरुद्धमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विगतमा विधि र सुशासनको पक्षमा बोल्ने लामिछानेले सत्ताबाट बाहिरिनु पर्दाका आक्रोश नेपाल मिडियामाथि पोख्नु विडम्बना हो भन्दै यसलाई जति निन्दा गरे पनि पुग्दैन भनेका छन् । महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले दीर्घकालको सम्भावना बोकेका राजनीतिज्ञले हतासमा संयम गुमाउनु राम्रो होइन भन्दै उनले चाँडै क्षमा याचना गर्नुपर्दछ भनेका छन् । उनी आफंै सञ्चार क्षेत्रबाट राजनीतिक क्षेत्रमा गएका व्यक्ति हुन् । आफू सञ्चार क्षेत्रमा हुँदा के–कति हक अधिकारको प्रयोग गरेका थिए र अहिलेका के–कति गरिरहेका छन्, त्यो एकछिन सोचे पनि प्रष्ट हुन्छ । कोहीकसैले केही लेखे भने पनि त्यसको खण्डन गर्ने तौरतरिका छन्, विधि विधान छन् । ती कोहीको पनि ख्याल नगरेर त्यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक छ । त्यो आपत्तिजनक अभिव्यक्ति सच्चाउन हामी आग्रह गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width