सर्वोच्चको आदेशबाट गोर्खालीहरु उत्साहित

सम्पादक
माघ २६, २०७९

सर्वोच्च अदालतले नेपाल सरकारलाई नेपाल, भारत र बेलायतबीच ७६ वर्ष पहिले भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौता पुनरावलोकन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त आदेश सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र सुस्मलता माथेमाको इजलासले जारी गरेको हो । सर्वोच्चले यो आदेश जारी गरेपछि यससँग सम्बन्धित र सरोकारवाला पक्षहरुमा उत्साह वृद्धि भएको छ । गोर्खा भर्ती केन्द्र २ सय वर्षभन्दा पहिले सुरु भएको छ । ७५ वर्ष पहिले भारत स्वतन्त्र भएपछि त्यो सम्झौता त्रिपक्षीयमा परिणत भयो । सम्झौताअनुसार नेपाली युवाहरु बेलायती सेनामा भर्ती हुनेहरुको संख्या लाखभन्दा बढी पुगेको अनुमान गरिएको छ । एउटै सेनामा सेवा गरेर पनि समान तलबभत्तालगायत सुविधा नपाएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को आपत्ति छ । गेसोले त्यसको लागि आन्दोलन गर्दै आएको छ ।

गोर्खा भर्ती केन्द्रमा काम गरेका एक सैनिकले बेलायत सरकारको त्यो पक्षपातपूर्ण व्यवहारको विरोधमा आवाज उठाउनु त्यसबेला सपनाको कुरा जस्तै थियो । तैपनि पोखराका पदमबहादुर गुरुङले गोर्खा भूतपूर्व सैनिक संघ र (गेसो) को गठन गरेर बेलायत सरकारको विरोधमा कानुनी लडाइँ लड्ने विचार गरे । उनको त्यस विचारलाई भिक्टोरिया क्रस विजेताद्वय तुलबहादुर पुन र लच्छिमन गुरुङले साथ र सहयोग गरे । तिनीहरुले गोपाल सिवाकोटी चिन्तनलाई आफ्नो वकिल नियुक्त गरे तर संस्थालाई कानुनी लड्न आर्थिक स्रोत थिएन । बेलायतमा गएर मुद्दा लड्नु चानचुने कुरा थिएन । लडेर केही हुन्छ भन्नेमा धेरैको विश्वास नै थिएन । त्यसै भएर पनि हो गेसो दुई समूहमा विभाजित भयो ।

कानुनी लडाइँ लड्ने क्रममा विश्वयुद्धमा जापानले युद्धबन्दी बनाएका ४ हजार जति गोर्खाली युद्धबन्दी र तिनका परिवारले जनही १० हजार पाउन्ड र १३ लाखभन्दा बढी रकम क्षतिपूर्ति पाए । त्यसले गेसोलाई आत्मबल बढाए । त्यसैक्रममा गोर्खालीहरुको तलब, भत्ता र पेन्सन वृद्धि भयो । तिनीहरुले बेलायत जाने आवासीय भिसा र नागरिकता पनि पाउनेसम्म भए । तैपनि बेलायती सैनिक र नेपाली सैनिकको बीचको सुविधा आदिमा अझै धेरै भेद छ । गेसोले नेपाल सरकार र नेपाली नेताहरुलाई पनि आफ्नो समस्या धेरै पटक सुनाए । तर कसैले त्यसमा इमान्दारितापूर्वक प्रयास गरिदिएन । हालै बेलायतमा नेपाल सरकार, बेलायती सरकार र गेसोकाबीच प्रथम चरणको वार्ता भएको छ । यसैबीच नेपालको अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । यो आदेशले गेसोको अभियानलाई ठूला बल पुग्ने अपेक्षा गरिएको छ । एकतिरको स्थिति यस्तो छ भने अर्कोतिर गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । सरकारले यस सम्बन्धमा मुख खोलेको छैन, त्यसकारण अहिलेलाई बेलायती सैनिक सरह नेपाली सैनिकले बिना भेदभाव तलब सुबिधा समान रुपमा प्राप्त गर्ने वातावरण बनाउनु हाम्रो प्रयास हुनुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width