हाम्रो एउटा परम्परा माथिको सर्वेक्षण

नारायणकैलाश सिग्देल
चैत्र २०, २०७५

धर्म र संस्कृतिले मानिसलाई चिनाउँछ। धर्म र संस्कृतिविनाको मानिस संसारमा सायदै कोही होला। धर्म र संस्कृतिको पालना, विश्वास र सम्मान गर्न हिचकिच्याउने मानिस एक हिसावले असामाजिक नै हुन्छ। आफ्नो संस्कारलाई पूर्ण रूपले लत्याउने, अपमान गर्ने, मानवीय संस्कारदेखि पर रहने जो कोही मानिस समाजदेखि पर हुन्छ। नेपाली प्रयोगात्मक शब्दकोषका अनुसार संस्कारको अर्थ ‘दोष, खोट, कमजोरी हटाउने काम, परिमार्जन, शुद्धि, आफ्नो परम्परा तथा संस्कृति अनुकुलको परिष्कार’ भन्ने उल्लेख छ।

यसलाई राम्रो, सुपाच्य र कमीकम्जोरी भएमा वैज्ञानिक तरीकाले विश्लेषण र परिमार्जन गरी समय सापेक्ष बनाउनु विद्वान, धार्मिक नेता एवम् सच्चा समाजसेवीहरूको प्रथम कर्तव्य हो। आफ्नो संस्कारको नाउँमा भएका कुरीतीहरूलाई समय सापेक्ष बनाउन नसक्नु तर त्यसलाई नै परित्याग गर्नु वा पालना नगर्नु भनेको मानसिक कमजोरी हो। मानिस समय, समाज र सन्दर्भ अनुसार घुल्न सक्ने र यसमा निहित अवयहरूलाई परिस्कृत गर्न सक्ने आँटिलो हुनु नितान्त आवश्यक छ । हामी विज्ञान, प्रविधि र सञ्चारको माध्यमले धेरै अगाडि छौँ। तर, हजारौं वर्षदेखि मान्दै आइरहेको संस्कृति, विचार र व्यवहार कस्तो छ? यसले व्यक्तिको कार्य क्षमतामा हानी, नोक्सानी पुर्याइरहेको छ कि? यस्ता प्रश्नहरुको उत्तर खोज्नैपर्ने भएको छ।

जन्मदेखि मृत्युसम्मका हाम्रा संस्कारहरू हामीले समाजलाई देखाउनका लागि गरिरहेका छौँ कि? वास्तवमै यसलाई आत्मसात गरी दत्तचित्तका साथ अपनाएका छौँ? यस बारेमा परिवर्तनकारी समाजका अग्रणी व्यक्तित्वहरूले गम्भीरतापूर्वक मूल्याँड्ढन गर्नु आवश्यक छ। व्यक्तिको विचार, भावना र प्रजातान्त्रिक आधारलाई कुण्ठित बनाएर गर्नै नपर्ने कार्यलाई वा आंशिकरूपमा विधि पुर्याएर गरे पनि हुने कार्यलाई संस्कारका नाउँमा अन्धो समर्थन गरिरहेका त छैनौँ? सबैलाई थाहा छ संस्कारका नाउँमा श्री सम्पत्ति अर्कालाई दिएर स्वाहा पार्ने कार्यलाई के भन्ने? आफ्नै संस्कार र संस्कृतिलाई घृणाले भरिएको नकारात्मक टीका टिप्पणी गर्नुपर्ने अवस्था आउनु पक्कै पनि दुखको विषय हो। तर यसलाई सुधार गर्दै समय सापेक्ष बनाउनु महानता हो। ती मानिसहरू महान होइनन् र महान बन्दा पनि बन्दैनन्, जसले आफ्नो धर्म, संस्कार र सस्कृतिको भद्दा खिल्ली उडाउँछन्।

यहाँनेर खाट्टी रूपमा कोट्याउन मन लागेको विषय भनेको हाम्रो १३ तिने संस्कारका बारेमा हो। मानिसले थुप्रै शताब्दीदेखि यो संस्कारलाई बोझिलो मान्दै आइरहेका छन्। त्यसैले यस विषयमा विविधता देखिने गरेको छ। यो संस्कार ती आदरणीय महानुभावहरू सँग छ जो आफ्न्तको मृत्युपछि विभिन्न नियममा बाँधिएर १३ दिनसम्म बडो कष्टपूर्वक मृतकको सम्झनाको लागि बस्छन्। यसरी बस्नुको अभिप्राय के हो? यसलाई वर्तमान परिप्रेक्ष्यमा हाम्रो समाजका दिग्गज व्यक्तित्वहरू, समाजसेवीहरू, बुद्धिजीवीहरू, जेष्ठ नागरिकहरू,शिक्षकहरू र युवावर्गहरूले कसरी लिएका छन्? उनीहरूको विचार, विश्लेषण र भनाइलाई यहाँ जस्ताको तस्तै राख्ने जमर्का गरेको छु।

सिग्देल बन्धु समाज, भिमादका अध्यक्ष ऋषिराम सिग्देल भन्नुहुन्छ, “परापूर्वकालदेखि हाम्रा पुर्खाहरूले संस्कारका नाउँमा गर्दै आएको यो १२।१३ दिने परम्परा कुन हिसाबले र कुन वैज्ञानिक आधारमा गरेका हुन् यस बारेमा मलाई त्यति ज्ञान त छैन। तर म यहाँ नेर ठोकुवाका साथ भन्न सक्छु कि यो एकदम पक्षपातपूर्ण व्यवहार हो। दलित जातिको बाबुआमाको मृत्यु भएमा केही दिन, जनजातिको बाबुआमाको मृत्यु भएमा अलि धेरै दिन अनि ब्राह्मण, क्षेत्रीहरूको बाबुआमाको मृत्यु भएमा सबैभन्दा धेरै दिन बार्नु पर्ने जुन संस्कार निर्माण गराइएको छ यो एकदमै आपत्तिजनक किसिमको छ। त्यसैले यसैलाई घटाएर सबैका लागि ३ देखि ५ दिन बनाउनु वैज्ञानिक, समय सापेक्ष हुनेछ। ”

साविक किहुँ, ७ बोमा, तनहुँ, नेपाल कम्युनिष्ट पार्टिका सांसद एवम् बैकल्पिक केद्रीय सदस्य, नेता तथा पूर्व सांसद टुकराज सिग्देलले यो वैदिक परम्परा आजको जस्तो व्यस्त समाजमा अलि असजीलो आम मानवलाई लागिरहेको छ तापनि हामीहरूले यो परम्पराको वीँडो धान्न १३ दिनसम्म गनैर्पर्ने बाध्यता छ। यसलाई समय सापेक्ष बनाउनु सबैको लागि हित र हाम्रो संस्कारको आयु लम्बिने पक्षमा आफू रहेको कुरा व्यक्त गर्नुहुन्छ।

सामाजिक सरोकार समाजका अध्यक्ष एवम् साहित्यकार दधिराज सुवेदीज्यू भन्नुहुन्छ, “हाम्रो सँस्कारको नाउँमा मृत्युपछि गरिने किरिया जो करिब, करिब आधा महिना बसिन्छ एकदमै असान्दर्भिक छ। एउटा राष्ट्र–प्रेमीले राष्ट्र र अन्तराष्ट्रिय कार्यको लागि अहोरात्र खटिरहनु पर्ने समयमा समाजले हातखुट्टा बाधेर तेरो बाआमाको किरिया १३ दिनसम्म गर” भन्नु पक्कै पनि लाजमर्दो कुरा हो।

भिमाद १, शिव पाँचायन मन्दिरका सचिव श्री कमलभक्त खनालले, “धर्म सिन्धु र निर्णय सिन्धुका आधारमा यो १३ दिनसम्म गरिने कार्यलाई छोट्याउन सकिने कुरामा सहमत हुनुहुन्छ। उहाँ पुनः भुन्नु हुन्छ, “यसरी गरिने सुधारमा गरुणपुराणको मर्मलाई पनि सुरक्षित राख्नुपर्छ। ”

जनज्योति क्याम्पसका तत्कालीन क्याम्पस प्रमूख धु्र्रव भण्डारी भन्नुहुन्छ “भारतमा पनि हिन्दूहरू प्रशस्त छन्। त्यहाँका हिन्दूहरूले यो १३ दिन बार्ने प्रचलनलाई धेरै लचकता, आधुनिकता र समय सापेक्ष बनाएका छन्। ती दिनहरूको बसाइमा उनीहरूले माछा, मासु र मादक पदार्थलाई टोटल्ली बर्जित् गर्छन् तर अन्न साग, सब्जी वा फलफूलल खानमा कुनै रोकावट गदैर्नन्। मानिस, मानिसबीच छुन नहुने, पराल, भुत्ला, सुकेको घाँस बिच्छयाएर भुइँमा सुत्नु पर्ने एक छाकमात्र खानु पर्ने, आधा र एकसरो कपडाले शरीरलाई छोपछाप गर्नुपर्ने, सिलाएको कपडा लगाउन नहुने, कपाल कोर्न नहुनेजस्ता अत्यन्त अशोभनीय र हास्यास्पद व्यवहार जुन हामीले गर्छौ, त्यस्तो त्यहाँ छैन। हामी यहाँ जुन गरिरहेका छौँ, यसो गर्नुमा कुनै अर्थ र तुक छैन। अतः सफा र शुद्ध मनले यसलाई जम्मा ३ दिन बनाउनु समयको माग हो र यो नै सबैभन्दा उपयुक्त पनि हो। ”

जनज्योति उच्च मा. वि. का तत्कालीन प्र.अ. खिमाकान्त पराजुली भन्नुहुन्छ, “यो संस्कारलाई धेरै दिन र थोरै दिन बनाउन भन्दा पनि १३ दिन किरिया गरेर पाइने के हो र ७ दिन मात्र गरेर नपाइने के हो? यसमा हामीले निक्योर्ल गर्नुपर्दछ। १३ दिनसम्म बार्ने भन्ने चलन केवल पण्तिहरूको लहड मात्र हो कि यसमा कुनै वैज्ञानिकता छ ? १३ दिनसम्म किरिया गर्दा स्वास्थ्यका दृष्टिकोणले फाइदा पुग्ने कति हो र मनोरञ्जनका हिसावले (धेरै आफन्तहरू भेट्न आउने हुँनाले) फाइदा पुग्ने कति हो? पहिलेका मानिसहरू माटो र पानीले हात सफा गर्ने गर्दथे भने आजकलका मानिसहरू सावुन पानीको प्रयोग गर्छन्। वनमा फलेका सफा, शुद्घ र ताजा फलफूलको सेवन गर्नु पर्नेमा आजकल विभिन्न प्रकारका रासायनिक पदार्थहरू राखेका विदेशबाट आयातीत् बासी फलफूलहरूको सेवन गर्ने गर्छन्। यो पनि एक किसिको परिवर्तन नै मान्नुपर्ने हुन्छ। जब खानपान लवाई खवाई सुख सुविधा आदि विविध विधामा सर्वत्र परिवर्तन भएको घामजस्तै छर्लङ्ग छ भने यस विषयमा पनि परिवर्तन गर्नु हुँदैन भन्ने ठाउँ रहदैन। ”

रानीपोखरी ९ मा अवस्थित दीपक मा.वि का प्र.अ. एवम् विज्ञान शिक्षक श्री विद्यासागर तिवारीले “यो वैज्ञानिक पक्षको दृष्टिको आधारमा १३ दिन कतै १२ दिन त कतै ११ दिन त कतै जम्मा ३ दिन बनाइएको हो जस्तो लाग्दैन। यो त परम्परादेखि चलिआएको हुनाले यसलाई हामीले स्वीकार गरिएको मात्र हो। यसलाई मान्नैपर्छ भन्ने केही छैन। यसलाई घटाएर ७ दिन बनाएमा अनिष्ट हुने र बढाएर १५ दिन बनाएमा एकदम राम्रो हुने भन्ने कदापि होइन। यो आस्था र चलनचल्तीको आधारमा मात्र गरिंदै आइएको हो” भन्नुहुन्छ।

विज्ञान शिक्षा समाज नेपालका केद्रीय उपाध्यक्ष श्री चन्द्रप्रकाश सुवेदीले यस सम्बन्धमा आफ्नो विचार यसरी व्यक्त गर्नुहुन्छ “धेरै दिन लगाएर मातापिता वा आफन्तको १३ दिनसम्म काज किरिया गर्दा पुण्य प्राप्त हुन्छ भन्ने सोचाइलाई परिमार्जन गर्नु आवश्यक छ। संस्कारका नाउँमा जति दिन खर्च गरिन्छ त्यसलाई उत्पादनशील कार्यमा लगानी गर्नु राम्रो हुन्छ। यहाँनेर उत्पादनमूलक कार्य भन्नाले मृत्यु पूर्व व्यक्तिलाई सही तरिकाले पालनपोपण गर्ने र मृत्यु पश्चात उसको स्मृतिमा सामाजिक पुरस्कार एवं सेवा दिने भन्ने बुझिन्छ। ”

अन्य ठाउँहरूबाट लिएको प्रसंगलाई हेर्ने हो भने पनि यो अव्यवहारिक छ भन्ने कुरो पुष्टि हुन्छ जस्तो कि — मृत्यु भएको बार्हौ दिनमा हिन्दू संस्कार अनुसार पुरोहितलाई दान गर्न, गाईको बाच्छीको ताँती लगाउनुपर्नेमा बरबोट ९ की गायत्री भट्टराईले आँगनभरि ५० विद्यार्थी भेला पारिन्। खानपिन गराएपछि सबैलाई कापी र बलपेन बाँडिन्। सेता कपडामा बेरिएका घरमूलीले बरबोटे प्रा.वि.का लागि १० हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने र माइस्थानमा सञ्चालित वेद पाठशाललाई पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्। (रविन्द्र मिश्र, खान पुगोस दिन पुगोस्, ४९)।

यसै सम्बन्धमा रविन्द्र मिश्र भन्दछन्, “मेरो छोरालाई पनि सेतो पहिरन लगाउन लगाएर, १३ दिनसम्म किरिया बस्न लगाउँदै गौदान र पिण्डदान गरेर खर्च नगर्नू। वार्षिक श्राद्ध होइन, सकिन्छ भने सानै किन नहोस् परोपकारी काम गरिदिनु। ”

लम्जुङ्ग भोर्लेटार निवासी युवराज, सन्तोष र ईश्वर अधिकारीले आफ्नो पिताको मृत्युको किरिया बस्दा डिकुरो नबनाईकनै १३ दिनसम्म किरिया सम्पन्न गर्नुभएको थियो भनी उहाँका भाञ्जा श्री सुमन पराजुलीले पङ्तिकारलाई बताए।

भानुभक्त बहुमुखी क्याम्पस, बेलचौतरा, तनहूँका उपप्राध्यापक जनार्दन दाहाल भन्नुहुन्छ – साँस्कृतिक परम्परा मानिसहरूको तत्कालीन समयको प्रतिबिम्ब हो। यसलाई समयानुसार परिवर्तन गरेको पनि देखिन्छ जस्तो कि जुद्ध शम्शेरको पालामा यो परम्परालाई ४५ दिनबाट घटाएर १२/१३ बनाए। त्यसरी नै यसलाई समयको माँग अनुसार वर्तमान परिप्रेक्ष्यमा २/३ बनाउन सकिन्छ। भिमाद सुवेदी चोकका संस्कृतका गुरु विश्वनाथ सुवेदी भन्नुहुन्छ “हामीले विवाह संस्कारलाई घटाएर छिटो छरितो चकलेटी बनाएजस्तो यो मृत्यु पर्यान्त गरिने सँस्कारलाई पनि घटाएर ७ दिन वा ५ दिन गराउन मिल्दैन। यस समयमा गरिने प्रत्येक दिन र कार्यहरूको आ —आफ्नै महत्व हुने हुनाले यसलाई घटाउनु भनेको हाम्रो वैदिक धर्ममा आधारित धर्मलाई खरानी बनाउनु हो। उहाँ पुनः थप्नु हुन्छ विवाह भनेको एक जनालाई मन लागेमा धेरै पटक गर्न मिल्ने तर यो कर्म भने सम्बन्धित व्यक्तिका लागि एक पटक मात्र गरिने हुनाले यसलाई परिवर्तन गर्न सक्ने कुनै आधार छैन। ”

त्यस्तै किहूँ गा.वि.स. ३ का श्री नीलकण्ठ सिग्देल बताउनु हुन्छ “७ दिन वा ५ दिन मात्र किरिया गर्ने प्रचलन पनि चलाउन मिल्ने कुरा शास्त्रले छुट दिएको छ तर त्यो भनेको केहो भने कुनै व्यक्तिको मृत्यु भएको ७ दिनसम्म चोखो निष्टामा रही काम धन्दा गर्ने र ८ औ वा ९औँ दिनपछि किरिया प्रकृयाको शुभारम्भ गर्नको लागि हाम्रो शास्त्र कत्ति बाधक नरहेको बताउनु हुन्छ। ”

यसरी समाजका प्रबुद्ध वर्गहरूको भनाइबाट स्पष्ट हुन्छ कि हाम्रो समाजमा संस्कारका नाउँमा गरिने १३ दिने किरिया एकदम बोझिलो, झण्झटिलो र खर्चिलो छ जसलाई तत्कालै परिवर्तन गर्नुपर्ने देखिन्छ। अर्थात परिवर्तन गर्नमा करिब करिब सबैको एउटै स्वर, एउटै मत र चाहना छ। तर यति हुँदाहुँदै पनि समग्र समाज नै अगाडि बढेर नमूनाको रूपमा प्रस्तुत हुन सकिरहेको छैन। प्रायः सबैले ‘मेरो पालामा यसलाई परिवर्तन नगरौं, पछि गरौंला’ भन्ने व्यवहारले आजसम्म हामी यस्तै दोभानमा उभिएका छौँ। जिभ्रो चपाएर बोल्ने हाम्रो प्रवृत्ति र व्यवहारले गर्दा दिनानुदिन हाम्रो संस्कृतिको ह्रास भैरहेको छ। यस लेखमा लेखकको वास्तविक धारणा भनेको कसरी कुन प्रकारले हुन्छ हाम्रो संस्कारलाई बचाउनुको साथै चुस्त र दुरुस्त बनाउनु हो। अपितु विकृतिको वीँडो धानेर बस्नु होइन।

(यो खोजमूलक लेख २०७१ सालमा गरिएको सर्वेक्षण अनुसार तयार पारिएको हो। )

Related News

सम्बन्धित समाचार

hero news full width