स्मार्ट सिटी पोखरा

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७३

पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्ने भएपछि अब पोखरेलीले पोखरालाई अन्तर्राष्ट्रिय स्तरकै स्मार्ट सिटी पोखरा बनाउनु पर्दछ। स्मार्ट सिटी पोखरा पोखरेलीको गुणस्तरीय जीवनका लागि हो। यसका लागि यसका स्रोत र साधनको व्यवस्थित प्रयोग र सर्म्बर्धन गरी अनुपम सहरको कार्य योजना बनाउनु पर्दछ। विकास, निर्माणका काम गर्दा प्राकृतिक एवं सांस्कृतिक स्रोत र पर्यावरण नबिग्रिने गरी गर्नु पर्दछ। विकासका हरेक पूर्वाधार पोखराको भौतिक पक्ष, सामाजिक पक्ष र आर्थिक पक्ष वातावरण, सूचना तथा प्रविधि मैत्री बनाउनु पर्दछ।

हाम्रो यो कार्ययोजनाले कम्तिमा पनि आगामी ५० वर्षसम्मको आवश्यकतालाई थेग्न सक्नु पर्दछ। विशिष्ट सहरीकरण योजना तर्जुमा गर्नु पर्दछ। यसमा आवास क्षेत्र, पिउनेपानी, उर्जा, कृषि योग्य भूमी, ट्रेड सेन्टर, औधोगिक क्षेत्र, रिङ रोड, बसपार्क, वैकल्पिक मार्ग आदिको उचित व्यवस्थापन हुनु पर्दछ। ताकि ५० वर्षपछि पनि भावी पुस्ताले हाम्रा बाबुबाजेले निर्माण गरेको कार्ययोजना दूरगामी रहेछन् भनी हामीलाई धन्यवाद दिऊन, सम्झून्।

हालै पोखरा उप-महानगरपालिकाले भवन निर्माण तथा नक्सा पास निर्देशिका, २०७२ पोखरा उपमहानगरपालिकाको २० औं नगर परिषद्को निर्णबमोजिम यो निर्देशिका स्वीकृति गरी पोखरामा लागू गरिएकोतर्फ पोखरेलीको ध्यान गएको छ। यस निर्देशिकाले स्मार्ट सिटी पोखरालाई बनाउन पर्नेबारे  पङ्क्तिकारलाई सम्झायो। नहुनु मामाभन्दा … मामा निको भनेजस्तै यो निर्देशिका स्मार्ट सिटीको धारणा नजिक पुग्न त खोजेको त होइन भन्नेतर्फ यो लेखकको ध्यान केन्द्रित भएको छ।

भनिएको छ, पोखरालाई भूकम्पको जोखिमबाट बच्न यो निर्देशिका जारी गरिएको हो। यो निर्देशिकाले राष्ट्रिय स्तरकै भवन निर्माणसंहिता २०६० को कार्यान्वयनलाई अगाडि बढाउन खोजेको देखिन्छ। सुरक्षित भवन बनाउन गरिने उपाय यसमा  उल्लेख छ। बृहत पोखराको धारणामा लेखनाथ नगरपालिकाले पनि पोखरा उप-महानगरपालिकाको भवन निर्माण तथा नक्सा पास निर्देशिका, २०७२ २० औं नगर परिषद्सँग मिल्दोजुल्दो योजना ल्याउनुपर्ने देखिन्छ। यी दुर्इ नगरपालिकाको विकासका काममा एकअर्काका परिपूरक बन्नुपर्ने आवश्यकता छ। रिङ रोड र ठूलो बसपार्क बनाउन त मिलेरै काम गर्नुपर्छ।

हुन त पोखरा उपमहानगरपालिकाबाट पास भएका १७ वटामध्ये कतिपय विषय आलोचित नै भए पनि अधिकांश सहरको नयाँपनका लागि आवश्यक बुँदा त्यसमा छन्। यी मापदण्डलगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्मार्ट सिटीको मापदण्डको कार्यान्वयन भएमा पक्कै पनि पोखरा स्मार्ट सिटीका रूपमा नेपालमै उदारणीय हुनेछ।

पोखरा विश्वको सुन्दर सहरमध्ये एक हो। पोखरा उप-महानगरपालिका र सरकार मिलेर पोखरालाई स्मार्ट सिटी पोखरा मुलुककै नमुना सिटी बनाउन अनिवार्य किन पनि छ भने अबको पोखरा सुविधा सम्पन्न सहर नभएमा निकट भविष्यमा पोखरा कुरूप सहरको रूपमा दर्ज हुन बेर छैन। नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसागै पोखरालाई सुविधा सम्पन्न सहर बनाउनु पर्दछ। स्मार्ट सिटी बनाउन पोखरेलीको भरपुर सहयोग हुनेछ। समग्र पोखराको विकासका लागि सबै तह र तप्काका पोखरेली एकजुट भई लागेका थिए, लाग्छन् पनि। नयाँ विमानस्थल बनाउन पोखरेली एकढिक्का भइ गरेको सर्घष्ा एउटा ज्वलन्त उदाहरण हो। त्यसैले स्मार्ट सिटी पोखराका लागि निम्न लिखित बुँदा लागू गरिनु पर्दछ। पोखरालाई बनाउन स्थानीय सरकार र केन्द्रीय सरकारले मिलेरै काम गर्नु पर्दछ।

क. इगभरनेस नागरिक सेवा : नागरिक वडापत्र र क्षतिपूर्ति, विद्युतीय सेवा प्रदान, नागरिक सहभागिता, नागरिक साक्षत्कार, भिडियो क्राइम मोनेटरिङ।

ख. पानी व्यवस्थापन : स्मार्ट मिटरको व्यवस्था, चुहावट पहिचान र सुधारात्मक मर्मतको व्यवस्था, गुणस्तरीय पानी वितरणमा निगरानी।

ग. उर्जा व्यवस्थापन : स्मार्ट मिटरको व्यवस्था, नविकरणीय स्रोतका उर्जा, इनर्जी इफिसेन्ट र हरित गृह।

घ. फोहोर व्यवस्थापन : फोहोरबाट उर्जा र इन्धन, फोहोरबाट मल, फोहोर पानीलाई शुद्धिकरण,प mोहोरको प्रशोधन र फोहोर उत्पादनमा कमी।

ङ. पार्किङ तथा ट्राफिक व्यवस्थापन : स्मार्ट पार्किङ, अत्याधुनिक ट्राफिक व्यवस्थापन, इन्टिग्रेटड मल्टिमोडल यातायात।

च. अन्य सेवा : टेली स्वास्थ सेवा, शिक्षा सेवा, सुविधायुक्त व्यापारिक प्रतिष्ठान, सीप विकास केन्द्र।

माथिका अन्तराष्ट्रिय स्तरका स्मार्ट सिटीका मापदण्डको आधारमा नौ निम्न विषयलाई स्थानीय स्तरमा अनिवार्य ध्यान पुराउन जरूरी छ।

१.  आधुनिक सहरी क्षेत्र : पोखरालाई आधुनिक सहरको नमुना बनाउन जग्गालाई व्यवस्थित गरी नगर योजनाको सक्रियतामा जग्गा विकास परियोजना लागू गरी सडक, पानी, बिजुली, टेलिफोनसहितका आधुनिक घर बनाउन सरकारले योजना बनाउनु पर्दछ। त्यसैगरी, विरूवा फाँट, लेखनाथको शिशुवा, अघौ, गगनगौडा, हेम्जालगायतका फाँटलाई अर्बान एग्रिकल्चर र आवास क्षेत्रको किटान गरी त्यसको उचित व्यवस्थापन गरिनु पर्दछ। पल्टिङका आधारमा जबर्जस्ती वस्ती विकास गरिनु हुँदैन।

२. फराकिलो बाटो : पोखरालाई आधुनिक सहर बनाउन भइरहेका पुराना सडकलाई दुर्इतिरबाट ठूला ट्रक पास हुन सक्ने फराकिलो बनाउनु पर्दछ। कम्तिमा एम्बुलेन्स र दमकल जान सक्ने बाटो हुनु पर्दछ। नयाँ खोल्ने बाटोलाई नयाँ मापदण्ड अनुसारका फराकिलो बनाउनु पर्दछ। सबै राजमार्गमा कम्तिमा पनि चार लेनको मोटर गुड्ने बाटो आवश्यक छ।

३. पुल :  नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक र ढुङगासाँघुमा सेतीनदी पार गर्न थप पुल  दुबै तर्फबाट मिल्ने गरी बनाउनु पर्दछ। साथै, विजयपुर खोला र डहरेको साँघुमा पनि एक र एक  जोर पुल थप्नु पर्दछ। नयाँ विमानस्थल बनाउनुसँगै पोखरा नगरपालिकाको १४ र लेखनाथ नगरपालिकासँग ती पुलमार्फत् ती दुर्इ नगर पालिका जोडिन्छन। यसरी पोखरा र लेखनाथ  स्वभाविक सुगम सहरीकरणमा विकसित क्षेत्र हुँदै जानेछन्।

४. पर्यटन क्षेत्र : पोखरा पर्यटकीय सहर हो। यसमा दुविधा छैन। यसको मूल आम्दानीको स्रोत पर्यटन व्यवसाय नै हो। फेवाताल र बेगनासताल पोखराका मुटु हुन्। ताल नै नरहे पोखराको पर्यटन व्यवसाय  धरासायी बन्छ। त्यसैले यिनको संरक्षणमा एक्सन ओरिएन्टेड कार्यक्रम ल्याउनु पर्दछ। पर्यटकको बसाइँ लम्ब्याउन थप नयाँ आकर्षक विषयको खोजी गरिनु जरुरी छ। अबको पोखरामा अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न होटल पनि बन्नु पर्दछ। यो संघीय ४ नं. क्षेत्रकै प्रमुख आम्दानीको स्रोत हो।

५. शिक्षा र स्वास्थ्य : पोखराको हावापानी समशीतोष्ण किसिमको छ। शिक्षा र स्वास्थ्यका लागि उपयुक्त छ। हावापानीका हिसाबले नेपालका अन्य सहरको दाँजोमा यो उत्कृष्ट छ। त्यसैले पनि पोखरा उच्च शिक्षा र उत्कृष्ट स्वास्थ्य सेवाको गन्तव्य सहर बन्न सक्छ। कला र साहित्यको कुरा गर्दा संस्कृतिको केन्द्र पोखरा हुनु पर्दछ।

६.  कृषि क्षेत्र र सिंचाइ : अर्बान एग्रिकल्चर स्मार्ट सिटी पोखराको एउटा दरिलो खम्बा हो। नेपालमा ८० प्रतिशत जनता कृषिमा आश्रति छन्। तर मुलुक आयातित खाद्यान्नको भरमा टिकेको छ। नेपालको आर्थिक अवस्था कमजोर हुनुका विभिन्न कारणमध्ये यो पनि एउटा प्रमुख कारण हो।  नेपाली चामल, दाल, तरकारी, फलफूल, तेल, मरमसला सबै बिदेशी प्रयोग गर्दछन्। कसरी होस् नेपालको आर्थिक उन्नति – कुन-कुन चिजहरु आयात गर्ने –  कुन  उत्पादनमा आत्मनिर्भर हुने बिषयमा राज्यको स्पष्ट नीति छैन। तर हामी  पोखरेली भने यस बिषयमा स्पष्ट हुन जरुरी छ। अहिलेको युवा पिँढीले कृषिमा रुचि देखाएका छन्। यो सुखद् पक्ष हो। पोखरा वरपरका समथर, भिरालो तथा पहाडी क्षेत्रमा कहाँ, के, कस्ता फलफुल, तरकारी, खाद्यान्न, पशुपालन, कुखुरापालन, माछापालन आदि गर्न सकिन्छ सोही अनुसारका आधुनिक तरिका कृषि व्यवसाय सञ्चालन गर्नु पर्दछ। पोखराको ब्यस्त पर्यटन समय र अफ सिजनको माग हेरी सोही अनुसारको उत्पादनलाई ध्यानमा राखी उत्पादन क्षेत्र र मात्रा निर्धारण गरिनु पर्दछ। ताकि हामीलाई चाहिने कृषिजन्य वस्तु तथा अको संघीय राज्यबाट समेत आयात गर्नु नपरोस्। बरु निर्यात गर्न सकियोस्। यसमा पोखरेलीले गर्वले गर्न सकून्।

कृषिका लागि सिँचाइ भएका ठाउँलाई जस्तै विरूवा फाँट र कुँडहर फाँटमा प्रयोगमा आएको सेती नदीको सिंचाइलाई स्मार्ट व्यवस्थापनको खाँचो छ। पोखरालाई ग्रिन सिटीमा विकास गर्न सेतीको सिँचाइ अति महत्वपूर्ण छ। त्यसैले पोखरा उपमहानगरपालिकाको भवन निर्माण तथा नक्सा पास निर्देशिकाले कृषिलाई पनि महत्व दिएको छ। त्यो निर्देशिकाको १० नं. पेजको ६ , ७,  ८ मा क्रमशः सिँचाइ कुलो र नहर कुलोको हकमा दायाँबायाँ १.५ मिटर मापदण्ड छोड्नुपर्ने र राज कुलोको हकमा दायाँबायाँ १० मिटर पिलरमा छाडी भवन निर्माण गर्न स्वीकृति दिने उल्लेख छ। यसले भविष्यमा वस्ती विकाससँगै ती सिँचाइ कुलो र नहर कुलो, माटे कुलो र राज कुलोको आवश्यकता र उपयोगिता देखिन्छ।

७. बसपार्क : पृथ्वीचोकको बसपार्क अस्तव्यस्त छ। हामी बसपार्क बनाउनै नसक्ने त भएका छैनौ – बेला-बेला  बन्ने हल्ला आउँछ। अनि सेलाउछ पनि। लाजमदो भएको छ। बसपार्क बनाउने जिम्मा हाम्रै हो। अब पोखराका बसपार्क दुर्इ किसिमको हुनुपर्ने आवश्यकता भइसकेको छ। पृथ्वी राजमार्गका यातायातका सवारी साधन बढ्दै छन्। ठूलो बसपार्क लेखनाथमा हुनु पर्दछ। पृथ्वीचोकमा भइरहेको बसपार्कलाई सिटी बसपार्कका रूपमा विकसित गर्नु पर्दछ।

८. पिउने पानी : शुद्ध पानी स्वास्थ जीवनको आधार हो।  पोखराका लागि प्रयाप्त पिउने पानीका स्रोतहरू छन्। यसको व्यवस्थापनमात्र जरुरी छ। पोखराको जनसंख्यालाई आधार मानी कम्तिमा पनि २० वर्षसम्मका लागि पानी पोखरेलीको टाउको दुखाइ नबनोस्। भविष्यका लागि अहिले नै गुरुयोजना बनाऔं। काठमाण्डौंकाले मेलेम्चीको पानी कुरेझैं हाम्रा सन्ततिले पानीका लागि काकाकुल हुन नपरोस्। अहिले पनि र भविष्यमा पनि पोखरेलीका घर-घरमा प्रसस्त शुद्ध पानी पुगोस्। विदेशीले मिनरल वाटर पिए पनि हामीले पिउनका लागि भनी जारको पानी किन्न बाध्य हुन नपरोस्।

९. भण्डारण : फलफूल, तरकारी तथा खाद्यानको उत्पादन मौसमी हुन्छन्। यसको नियमित आपूर्तिका लागि सुरक्षित भण्डारण आवश्यक छ। असुरक्षित भण्डारणले मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दछ। यस विषयमा अन्तर्राष्ट्रिय जगत सचेत छ। भण्डारण प्रक्रियाले फलफूल, तरकारी तथा खाद्यान्नमा रहेको मिनरल्स, भिटामिन, प्रोटिन इत्यादिलाई सुरक्षित राख्छ। स्मार्ट सिटी पोखरामा स्वदेशी तथा विदेशी दुबै पोखरामा पाइने फलफूल, तरकारी तथा खाद्यान्न सबै स्वस्थ्यकर छ भनी ढुक्क होऊन्। शुद्ध खाद्यान्न व्यवस्थापन सरकारको काम तथा कर्तव्य हो। नागरिक सचेतना, नागरिक सहभागिता र निरन्तर अनुगमनसहित सरकारले यसको ग्यारेन्टी गर्नु पर्दछ।

भर्खरैमात्र पोखरामा नयाँ विमानस्थल शिलान्यास भएको छ। पोखरामा आधुनिक विमानस्थल बनाएरमात्र पुग्दैन, पोखरालाई सरकारले आधुनिक सहर बनाउनका लागि माथिको धारणा अनुसार स्मार्ट सिटी पोखराका लागि  बजेट नै छुट्याउनु पर्छ। यस क्षेत्रका जनप्रतिनिधिको भूमिका पनि सोही अनुरुपको हुनु पर्दछ। स्मार्ट सिटी पोखराका स्मार्ट सभासद्ले पोखरेली मनोभाव बुझी नेतृत्वदाही भूमिका निर्वाह गरून्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै