साउन र मेहन्दीको मौसम

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७३

जता गयो, जहाँ गयो, सबै महिलाको हातमा मेहेन्दीमात्र देखिन्छ। बसमा चढ्ता पनि मेहेन्दीसँगै असहज रुपमा यात्रा गरिरहेका भेटिन्छन् महिला। यो वहार साउनको महिनामा नै आउने गर्दछ। हरियाली भएको महिना र वर्षभरिको जेठो महिना भनेर झट्ट चिनिने महिना हो साउन। सबैजसो महिलाको मनमा पनि हरियाली नै छाएकोजस्तो भान हुन्छ। त्यसैले होला साउन महिनामा महिला हरियो चुरा, हरियो पोते, हरियो टीकाले सजिएको पाइन्छ। कताकता लाग्छ, यो वहारले साँच्चै महिलाको मनभरिका पीडा र मर्म सबै साउन महिना आएपछि सकिन्छ होला। महिला आफूभित्र जति दुःख र व्यथा भए पनि सबै कुरा लुकाएर अरुको अगाडि खुशी रहेको नाटक मञ्चन गरिरहेका हुन् कि जस्तो भान हुन्छ। वास्तवमा साँच्चै नै महिला साउन महिनाभित्र आफूलाई सजाएजस्तै सहज जीवन जिउन पाएका छन् त ? यसबारे अध्ययन, अनुसन्धानको खाँचो छ। हरियो चुरा, हरियो पोते सबै महिलाले लगाउनैपर्ने अनिवार्य हो वा बाध्यता भन्ने विषयमा थुप्रै तर्कवितर्क अघि बढेका छन्। पछिल्लो समय यसलाई बढी प्राथमिकता दिन थालिएपछि यो विषय चर्चामा आएको हो। अझै कपडा पनि हरियै लगाउन थालेका छन् महिलाहरू।

नेपाली समाजमा चर्चित उखान नै छ, साउनमा आँखा फुटेको गोरुले सधैं हरियै देख्छ। त्यस्तै गरी साउन महिनामा हरियो चुराले हात सजाएर अनि महङ्गो मेहन्दी लगाएर हरेक महिला आफ्नो सुन्दरताको वखान गर्न पछि हट्दैनन्। आफूसँग पैसा भएर होस् वा सापट मागेर भए पनि लगाउनैपर्ने फेसन बनेको छ हरियो चुरा, मेहेन्दी र पोते। झट्ट हेर्दा राम्रो पनि देखिन्छ। मानिस स्वभावैले राम्रो बन्न चाहन्छ। त्यसैमा पनि महिलालाई त झन आफ्ना लागि नभई अरुकै लागि राम्रो बनिदिनुपर्छ। नयाँ-नयाँ प्रविधि अनि समाजले महिलालाई राम्रो बन्ने होडमा धकेलिरहेको छ। सधैं महिलाले आफूलाई गुडियाजस्तै सजाइरहनु पर्छ त ? हुन त धेरै महिला दिदीबहिनीलाई आफ्नो स्वास्थ्यबारे ध्यान दिने समय छैन। तर पनि मेहेन्दी लगाउन भने भ्याइनभ्याइ भएको छ। समय बदलिएको छ। कतिपय महिला श्रीमानकै लागि आफूसँग रहेको प्राकृतिक सुन्दरतालाई छोपेर आधुनिक रुपमा आफूलाई सजाउन बाध्य भएका छन्। राम्री हुँदा होस् वा नराम्री हुँदा होस्, महिलामाथि हिंसा भने दिनानुदिन बढ्दै छ। आफूमाथि हिंसा भएको जान्दाजान्दै पनि त्यसको प्रतिकार गर्न सकिरहेका छैनन् महिला। अब कति दिन यसरी नै बाँचिरहने हो, अनिश्चित छ।

साउन महिनामा ब्रत बस्दा, मेहेन्दी लगाउँदा अनि हरियो चुरा लगाउँदा श्रीमान्को आयु बढछ भन्ने विश्वास पारिएको छ महिलालाई। यो भनाइमा कति सत्यता छ भन्ने कुरा भने अन्योलमा नै छ। महिलाको दीर्घायूका लागि कुन दिन पुरुषले ब्रत बस्नुपर्छ भन्ने कुरा भने कतै भेटिँदैन। दोष कसको भन्ने सवाल बेला-बेलामा उठ्ने गर्दछ। तर सबै जना अनुत्तरित रहन्छन्। लैङ्गिक समानताको मुद्दा उठिरहेका बेला एकले अकोर्प्रति गर्ने व्यवहारमा पनि समानता हुनुपर्ने होइन र ? यतातिर भने कसैको  पनि ध्यान गएको देखिदैन। जुन कुरा हरेक व्यक्तिको दायित्वभित्र पर्दछ। अकोर्तिर यति बेला राष्ट्रियताको प्रश्न जोडतोडले उठेको छ। नेपालमा बसेर नेपालीपनको खोजी गरिनुपर्छ भनिरहँदा हरेक समय हामीले प्रयोग गर्ने वस्तुमा नेपालीपन छ कि छैन भन्ने नै हो। के राष्ट्रियता अरुलाई अधिकार दिँदामात्र खोज्ने हो र ? देशको सिमाना मिचिँदा चुप रहनु राष्ट्रियता हो ? विशेष गरी अहिले प्रयोग गरिने मेहेन्दी, चुरा, पोते कहाँबाट उत्पादन गरिएको छ ? यसको खोजीनीति कसले गर्छ ? के यो विषय राष्ट्रियतासँग जोडिएको छैन ? राष्ट्रियताको चर्को-चर्को

नारा लगाउनेहरू यति बेला किन चुपचाप ?

त्यतिमात्र होइन, साउन महिनामा नै सोमबारे ब्रत बसेर बोलबम भन्दै खाली खुट्टा सडकमा भोकभोकै दौडिरहेको महिलाको दृष्य जो, कोहीका लागि नौलो भने होइन्। यो कष्ट आफैलाई मात्र नभई बाटोमा हिड्ने यात्रीलाई पनि परेको हुन्छ। कतिलाई त समयमा अफिसमा जान नपाएर आत्तिरहेका हुन्छन्। यो पिडा किन, भन्ने प्रश्न गर्ने हो भने कतिपयलाई त यसको वास्तविक अर्थ पनि थाहा नै नभइ अरुको देखासिखी गरेर हिडिरहेको पनि पाइन्छ। अनि प्रश्न उठ्ने गर्दछ कि साउन महिनामा बस्ने ब्रतले  कति महिलाका पतिको आयु बढेको छ – त्यसको कुनै वैज्ञानिक आधार छैन। हाम्रै छरछिमेकमा हेर्ने हो भने जसले बढी ब्रत बस्छ, उसैको घरमा बढी पारिवारिक विमेल भएका घट्ना पाइन्छन्। ब्रत बस्ने बानीले गर्दा स्वास्थ्यमा नराम्रो असर परी विभिन्न खाले रोगको शिकार बनी मृत्युलाई समेत स्वीकार गर्न बाध्य भएका छन् महिलाहरू। यद्यपि त्यही स्वास्थ्यलाई धरापमा राखी पतिको दीर्घायुका लागि ब्रत बस्न कस्सिएका महिलाले ब्रतपछि के साँच्चै नै सुख, शान्ति प्राप्त गर्न सक्छन् त ?

नेपाललाई धर्म निरपेक्ष राष्ट्रका रुपमा संविधानमा नै उल्लेख गरिएको छ। यद्यपि सबै धर्मले समानता पाउन सकिरहेको अनुभूति सबै नेपाली जनताले गर्न पाएका छैन। कुन धर्म मान्ने भन्ने कुरा व्यक्तिको धार्मिक स्वतन्त्रताभित्र पर्दछ। हुन त धर्मप्रति आस्था राख्नु निश्चित रुपमा नराम्रो होइन्, यद्यपि हामी कुन बाटो हिडिरहेका छौं भन्ने कुरा पनि बुझ्न जरुरी छ। साँच्चै हामीले हिडेको बाटोले हामीलाई कहाँ पुर्‍याउँछ, हाम्रो गन्तव्य कता हो भन्ने नबुझी हिड्यौं भने कतै धर्मको नाममा हामी अल्मलिइरहेका त छैनौ – मुख्य त धर्मको नाममा महिलामाथि हिंसा भइरहेको छ। जुन यर्थाथ हामी माझबाट लुक्न सकेको छैन। त्यसैगरी धर्म निरपेक्ष राष्ट्रको रुपमा अन्तरिम संविधानले नै व्यवस्था गरिसकेपछि पनि सबै धर्मावलम्वीले समान रुपमा फल्न र फुल्न नपाएको तीतो सत्य पनि छँदै छ। यतातिर पनि ध्यान जान जरुरी छ।

झट्ट हेर्दा साउन महिनाले महिलालाई नै प्रत्यक्ष असर पारिरहेको छ। हिजैदेखि चलिआएको रुढिबादी संस्कार र पितृसतात्मक सोचले जरा गाडेको नेपाली समाजमा के साउन महिनाले मात्र महिला अधिकारको सुनिश्चितता गर्न सक्छ – विषय संवेदनशील छ। महिला यति बेला आफू जुन ठाउँमा रहेका छन्, त्यही ठाउँबाट आफ्नो नेतृत्व विकासलाई अघि बढाउनुपर्नेमा यसरी हरियो चुरा, हरियो पोते, अनि मेहेन्दीमा अलमलिई रहँदा हिड्न खोजेको गन्तव्यमा पुग्न गाह्रो भइरहेको छ। आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने बेला यथार्थलाई बिर्सेर साउने व्रत बस्ने अनि बोलबम भनेर हिडिरहँदा साँच्चै अधिकार प्राप्त गर्न सकिने कुरामा प्रश्न उठेको छ। धार्मिक आस्था राख्न सकिन्छ तर काम नगरेसम्म माम पाउन सकिँदैन, यो ध्रुव सत्य हो। अनि अधिकार मागेर होइन, खोसेरै लिन सक्नुपर्छ। अब बुद्धि र विवेकले चल्ने बेला आएको छ। अधिकार र कर्तव्य  सँगसँगै मिलाएर लैजान सक्नु पर्दछ। यो समय प्रतिस्पर्धाको समय हो भन्नेमा दुर्इमत नै छैन। आफूलाई हरेक कुरामा सक्षम बनाएर अघि जान सक्नेले मात्र यो देशको परिवेश बुझन सक्छ। अरुको लहैलहैमा लागेर न व्यक्तिले आफूलाई परिवर्तन गर्न सक्छ, न देशका लागि केही गर्न सक्छ। अब यतातिर ध्यान दिने हो कि ?

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width