सम्झनामा गोरेबहादुर खपाङ्गी

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७३

होची मिङको जस्तो झुस्स दाह्री, अग्लो कद, पावरवाला चस्मा विरोधीलाई शब्दवाणले झापड हान्ने खुबी स्वर्गीय गोरेबहादुर खपाङ्गीको बाहिरी परिचय हो। २००३ साल साउन २५ गते उदयपुरको दमैडाँडाको जल्केनीमा जन्मेका खपाङ्गी मगर यतिखेर हामीमाझ छैनन्। खपाङ्गीसँग मेरो भेट म कास्की जिल्ला मगर संघको सचिव हुँदा भएको थियो। पछि म नेपाल मगर संघको महासचिव भएपछि उनीसँगको मेरो निकटता प्रगाढ बन्दै गयो। खपाङ्गीको भाषण सुन्ने भनेपछि आम मगर हुरुक्क हुन्थे। आम नागरिकले बुझ्ने गरी गाउँले झर्रा भाषामा धारा प्रवाह भाषण गर्ने कला उनमा थियो।

बाल्यकाल र शिक्षा

खपाङ्गीको बाल्यकाल औसत मानिसको जसरी बित्ने गर्दछ, त्यसरी नै बितेको थियो। दुर्इ वर्षको हुँदै उनको परिवार उदयपुरबाट महोत्तरी बसाइँ सरेको थिए। बाबा अमृतबहादुर खपाङ्गी र आमा पदममाया खपाङ्गीको दोस्रो सन्तानका रुपमा उनको जन्म भएको थियो। उनको बाल्यकाल महोत्तरीको रामनगरमै बित्यो। महोत्तरीको त्रिभुवन माध्यमिक विद्यालयबाट २०२० सालमा उनले म्याटि्रक पास गरेका थिए। यसैगरी, जनकपुरको रामसागर बहुमुखी क्याम्पसबाट उनले आइए पास गरेका थिए। पछि त्रिभुवन विश्वविद्यालयबाट उनले अङ्ग्रेजी साहित्यमा एमए गरेकै थिए। अङ्ग्रेजी साहित्यकै देन अनुसार उनी अङ्ग्रेजीमा पनि धारा प्रवाह भाषण गर्थे।

सुरुको राजनीतिक आस्था

कलेज जीवनमा उनी बामपन्थी विचारधाराबाट प्रभावित थिए। उनी तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अखिल अनेरास्ववियुमा आबद्ध थिए। २०३६ सालको विद्यार्थी आन्दोलनताका उनी रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक थिए। शिक्षक संगठनमा सक्रिय खपाङ्गी २०३६ साल मंसिर २६, २७ र २८ गते हेटौडाको भुटनदेवी माध्यमिक विद्यालयमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम भेलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। पछि २०४३ सालमा नेकपा मालेले पञ्चायतको भण्डाफोर गर्न जनपक्षीय उम्मेदवार बनाएर उनलाई महोत्तरीबाट चुनावमा लडाएको थियो। समय क्रममा उनको बामपन्थी राजनीतिसँग मोहभङ्ग भयो। त्यसपछि उनी र एमएस थापामगर मिलेर २०४७ सालमा राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गरे।

राजनीति र मगर संघ

खपाङ्गी २०३९ साल फागुन १५ र १६ गते तनहुँको दमौलीमा भएको तत्कालीन लाङ्घाली परिवारको संस्थापक सदस्य थिए। त्यसपछि २०४८ सालदेखि २०६० सालसम्म उनी नेपाल मगर संघको अध्यक्ष रहेर सिंगो मगरको नेतृत्व गरे। राष्ट्रिय जनमुक्ति पार्टीका वरिष्ठ नेता र मगर संघको अध्यक्ष रहँदा उनले कामको तालमेल मजैले मिलाएका थिए। दिउँसो मगर संघको काम, राति पार्टीको काममा ध्यान दिन्थे। कतिपय बेलामा मगर संघलाई जनमुक्तिकरण गरियो भनेर उनको आलोचना पनि नभएको होइन। तथापि उनको व्यक्तित्वले यो आरोपलाई ओझेलमा पारेको थियो। उनले जातीय उत्पीडनबारे देशभित्र र देशबाहिर व्यापक सचेतना ल्याएका थिए।

२०४७ सालदेखि राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापामगर र खपाङ्गीबीच फाटो देखा पर्‍यो। सैद्धान्तिकभन्दा पनि व्यक्तित्व टकरावका कारण उनले जनमुक्ति पार्टी छोड्नु पर्‍यो। राष्ट्रिय जनमुक्ति पार्टी छाडेपछि उनले आफ्नै अध्यक्षतामा प्रजातान्त्रिक राष्ट्रिय जनमुक्ति पार्टी भन्ने नयाँ पार्टी दर्ता गरे। पछि उनले उक्त पार्टी आफ्नो पुरानो पार्टीका समाहित गराए। उनी एकीकृत जनमुक्ति पार्टीको महासचिव भए। पार्टी समाहित भइसकेपछि नवलपरासीमा भएको चौथो महाधिवेशनमा उनी पार्टी अध्यक्षको उम्मेदवार बने। राष्ट्रिय जनमुक्तिको संस्थापक अध्यक्ष एमएस थाप मगरसँग झिनो मतले उनी पराजित भए। अध्यक्षमा निर्वाचित एमएस थापामगरले ‘खपाङ्गी हिजो पनि हाम्रो पार्टीको नेता, आज पनि नेता, भोलि पनि नेता हो’ भनेर भाषण गरे पनि खपाङ्गीलाई पार्टीका उचित स्थान दिइएन भन्ने उनका निकट व्यक्तिहरू बताउँछन्। त्यसैले उनी लिवरल डेमोक्र्याटिक पार्टी गठन गर्न बाध्य भए।

मन्त्री पद र टीका प्रकरण

राजा ज्ञानेन्द्रले २०५९ सालमा प्रजातान्त्रिक शासन व्यवस्था हातमा लिएपछि खपाङ्गीलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरे। यो नियुक्तिले एकातिर राजाको कुलाई समर्थन गरेको देखियो भने अकोर्तर्फ खपाङ्गी पार्टीकाई नसोधिकन मन्त्री पद खान पुगेको आरोप पार्टीले लगायो। यद्यपि खपाङ्गीलाई मन्त्री बन्न ज्ञानेन्द्रले टेलिफोन गरेका थिए। टीका प्रकरण यति उछालियो कि खपाङ्गीले यसबारे स्पष्टीकरण दिने मौका नै पाएनन्। उनले टीका लगाउनु भनेको मन्त्री पदको गरिमा बचाउनु थियो भन्नेहरू पनि छन्। अकोर्तर्फ एउटा मुस्लिम मन्त्रीले टीका लगाउँदा टिप्पणी हुँदैन तर खपाङ्गीले टीका लगाउँदा टिप्पणी हुन्छ किन, भनेर उल्टो प्रश्न सोध्नेहरू पनि थिए। दसैं टीका प्रकरणमा उनले एउटा प्रसङ्गमा भनेका थिए, ‘वास्तवमा मैले टीका लगाएकै हो। राजा खुसी हुन्छन् कि भन्ने चाहनाले टोपीमाथि सारेर निधार थापेकै हुँ। मेरो भित्री चाहना राजालाई खुसी बनाएर पाठयक्रमबाट संस्कृत शिक्षा हटाउनु थियो।’ उनको यो तर्कलाई मगर समुदायले गम्भीर रुपमा लिन मानेन। हिन्दू धर्म, संस्कृतिबाट आदिवासी जनजातिमाथि दमन र उत्पीडन थोपरिएको छ भनेर गाउँ गाउँमा भाषण गर्ने खपाङ्गीलाई राजाको अगाडि शिर निहुर्‍याएर निधार थापेको वास्तवमा मगर समुदायले नरुचाएकै हो।

जनजाति आवाजका अगुवा

पहिले जनजातिबारे चेतना छर्ने गोपाल गुरुङको नाम सुस्तसुस्त सुनिन्थ्यो। तर जातीय मुद्दालाई सतहमा ल्याउने हिम्मत कसैको थिएन। नेपालको विद्यमान जातीय विभेदलाई सामाजिक मुद्दाका रुपमा बहसमा ल्याउने हिम्मत सर्वप्रथम गोरेबहादुर खपांगीले गरे। खपाङ्गीलाई सुरु-सुरुमा साम्प्रदायिकताको आरोप लगाइयो। तर उनले उठाएको मुद्दा समावेशीकरण समानुपातिक र धर्मनिरपेक्षता आज राजनीतिको अभिन्न अंग बनेको छ। नेपालको राजनीतिक द्वन्द्वको मूल अन्तरवस्तु यसैमा अडेको छ। अहिले आदिवासी, जनजाति, मधेसीहरूले उठाएका संवाहक पनि खपाङ्गीले दर्ज गरेका मुद्दाहरू नै हुन्। कम्युनिष्ट दर्शनले मात्र नेपालको सामाजिक जातीय अन्तरविरोध हल गर्न सक्दैन भन्ने उनको विचार थियो। खपाङ्गीले एक पटक नेपाल आदिवासी जनजाति महासंघको भेला आयोजना गरेर पनि महासंघलाई समेत नेतृत्व गरेका थिए। उनी मगरका मात्र नेता होइनन्, आम उत्पीडित समुदायका अगुवा सर्वमान्य नेता थिए। जातीय विभेदको मुद्दालाई जसरी उनले उठाए, त्यसलाई राजनीतिक दलमार्फत् स्थापित गर्न उनी विभिन्न कारणवश अस्थिर रहे। सुरुका दिनमा जुन उत्साह र उमंगका साथ राष्ट्रिय जनमुक्ति पार्टी गठन भएको थियो। आफैले स्थापना गरेको पार्टीका अटाउन नसकेपछि प्रजातान्त्रिक जनमुक्ति पार्टी गठन गर्नुपर्ने बाध्यतासम्म पुग्यो। जीवनको अन्तिम घडीमा उनी लिवरल -डेमोक्रेटिक) पार्टीको झण्डामुनि बस्नु पर्‍यो।

दुर्घटना र मृत्यु

२०७० साल बैशाख १२ गते काठमाडौको राष्ट्रिय सभागृहमा नेपाल अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै थियो। खपाङ्गी आफ्नो डेरा ललितपुरबाट बस चढी झरेर सभागृहतिर दिनको करिब ११ बजे भृकुटी मण्डपबाट जाँदै गर्दा वा. ५१ प ७३७३ नं. को मोटरसाइकलले ठक्कर दियो। उनको टाउको सडकमा बजारियो। मोटरसाइकल चालक थिए भक्तपुर बस्ने मोहम्मद नसिम शेख। उनलाई सुरुमा वीर हस्िपटल लगियो, त्यसछि अन्नपूर्ण अस्पताल पुर्‍याइयो। पछि काठमाडौको नर्भिक अस्पतालमा उनको त्यही उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि थप स्वास्थ्य उपचारका लागि सिंगापुरको माउन्ट एलिजावेथ नोभेना अस्पतालमा उपचार गरिएको थियो। उपचारमा संलग्न व्यक्तिहरूका अनुसार अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउँदा उनलाई लापरबाही भएको बताइन्छ। उनको घाँटीमा उपचारको क्रममा प्वाल पारिएको थियो। उक्त प्वाल कुन प्रयोजनका लागि पारिएको भन्नेबारे काठमाडौंस्थित न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटा र सिंगापुरका डाक्टरले समेत सोधेको कुराबाहिर आएको अवस्था छ। उनी दुर्घटनाको केही समयपछि तीन वर्ष तीन महिना २१ दिन अर्थात् २०७० बैशाख १२ देखि २०७३ भदौ ११ गतेसम्म बेहोस अवस्थामै थिए। खपाङ्गीको दुर्घटनापछि हुमबहादुर थापामगरको अध्यक्षतामा गोरेबहादुर खपाङ्गी फाउण्डेसन २०७२ गठन गरिएको छ। उनको मृत्यु संस्कार बौद्ध धर्म अनुसार गरिएको छ। उनको अष्टधातु दाह्री, कपाल, नङ, खप्परसमेत अन्वेषणका लागि सुरक्षित राखिएको छ। फाउण्डेसनका अध्यक्ष हुमबहादुर थापामगरका अनुसार खपाङ्गीको समाधिमा चैत्य निर्माण गर्ने योजना थियो तर त्यो सम्भव भएन।

यति बेला आफ्नो लामो दाह्री मुसार्दै जातीय उत्पीडनकबारे आक्रामक भाषण गर्ने गोरेबहादुर खपाङ्गी हामीमाझ छैनन्। उनले मगर संघ र सिंगो उत्पीडित समुदायप्रति गरेको योगदानको आगामी दिनमा अवश्य मूल्याङ्कन हुने नै छ। खपाङ्गीले उत्पीडित आदिवासी जनजातिको कुरा उठाउँदा जहिले पनि शान्तिपूर्ण तवरले उठाए, कहिल्यै पनि हिंसात्मक आन्दोलनको पक्षमा उनी रहेनन्। यो नै उनको सकारात्मक पाटो हो। जिउँदोमा गाली, मरेपछि ताली लगाउने हाम्रो परम्परा छ। खपाङ्गीको निधनपपछि पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ। वास्तविकता नेपालको विविधतालाई आत्मसाथ गरेर राज्यका हरेक निकायमा सबै जातजातिलाई समानुपातिक समावेशी सिद्धान्तमा समाहित गरियो भने उनको सपना पूरा हुनेछ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width