मानिसहरू कुनै न कुनै पेसा वा व्यवसायमा संलग्न हुन्छन् । आफू संलग्न रहेको पेसा वा व्यवसायमा लामो समयसम्म टिकिरहन र सफलता हासिल गर्न सक्छन् भन्न सकिँदैन । सबै मानिसहरू आफूले गर्दै आएको पेसा वा व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट हुन्छन् भन्न सकिँदैन । जसरी मन्दिरका पुजारीहरू नित्य पूजा गर्छन् तर ती पुजारीहरूमध्ये सबैको भगवान्प्रति पूर्ण आस्था नहुन सक्छ । कुनै पुजारीले पूजा गर्नुलाई केवल जागिरका रुपमा लिएको पनि हुन सक्छ, त्यसैले पुजारीहरू पनि भक्तजनका अगाडि कट्टर आस्थावान् देखिने प्रयत्न गर्दछन् । यद्यपि भक्तजनलाई त्यतापट्टि चाँसो हुँदैन, उनीहरूका पनि आआफ्नै समस्याहरू हुन्छन् । भक्तजनलाई लाग्दो हो,‘यी पुजारी साँच्चिकै भगवान्का भक्त हुन् ।’
विगत लामो समयदेखि म शिक्षण पेसामा आबद्ध छु । जति बेला म विद्यार्थी थिएँ, त्यति बेला शिक्षकहरूको शिक्षण पेसाप्रति एक प्रकारको समर्पणभाव थियो, वहाँहरूको खेतीपातीबाहेक अन्य व्यवसाय कमै हुन्थ्यो । अहिलेजस्तो महिनैपिच्छे लन्च हुने नयाँनयाँ मोडेलका मोबाइल, मोटरसाइकल, कार वहाँहरूको दिमागमा हुँदैनथे, जे र जो हुन्थे, विद्यार्थीहरू नै हुन्थे । शिक्षकहरू एकदमै विद्यार्थी केन्द्रित हुनुहुन्थ्यो । शिक्षणका विधिहरू पूरै शिक्षक केन्द्रित हुन्थे ।
वर्तमानमा धेरै विद्यालय तथा विश्वविद्यालयहरू खुलेका छन्; सरकारी र निजी लगानीमा । शिक्षण विधिमा पनि परिवर्तन हुँदै छ । गाउँ गाउँमा पुस्तकालय, प्रयोगशाला, शौचालय आदिका लागि बर्सेनि लाखौँको बजेट विनियोजन भइरहेको छ । निजी विद्यालयहरूले पनि समयसापेक्ष आपूmलाई परिमार्जन गर्दै लागिरहेका छन् । शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको देखिन्छ ।
तर; आज मैले यहाँ उठान गर्न खोजेको मूल विषय समर्पणभाव हो । विद्यालय तथा विश्वविद्यालयमा अध्यापन गर्ने शिक्षक तथा प्राध्यापक र प्रशासन संयन्त्रमा रहेर काम गर्ने प्राचार्य तथा क्याम्पस प्रमुख अनि कर्मचारीहरू आफ्ना विद्यालय र क्याम्पसका विद्यार्थीहरूप्रति चिन्तित छन् त ? विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि उनीहरू साँच्चिकै समर्पणभावका साथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् त ? शिक्षक तथा प्राध्यापक र प्रशासन संयन्त्रमा रहेर कार्य गर्ने प्राचार्य तथा क्याम्पस प्रमुख अनि कर्मचारीहरू केवल जागिर मात्रै खाइरहेका त छैनन् ? म स्वयं शिक्षक भएका नाताले शिक्षकहरूका समस्याबारे म पूर्णरुपमा अवगत छु । यहाँ आज चर्चाको विषय शिक्षकहरूका समस्याका बारेमा पनि होइन । शिक्षकहरूका समस्याबारे आगामी दिनमा चर्चा गरौँला ।
मेरो उठानको विषय हो, के हामी गरिबी, अभाव र अन्य विविध समस्याका बाबजुद आफ्नो कर्मक्षेत्रमा रमाउन सक्छौँ ? आज विद्यार्थीहरूमा परिवर्तन आएको छ तर यो परिवर्तन सकारात्मकभन्दा नकारात्मकतर्फ उन्मुख छ भन्ने आम गुनासो छ । विद्यार्थीहरूमा आएका यस्ताखाले परिवर्तनका कारणहरू सञ्चार प्रविधिमा आएको व्यापक पहुँच र रुपान्तरणमात्र हो कि ? शिक्षकहरूको व्यवहार कति हदसम्म जिम्मेवारी छ ?
हेडसरले काम ठगेपछि सहायक हेडसरले देखासिकी गर्नुपर्यो । मानक नै यस्तो बनेको हुन्छ, पदमा जानु भनेको काम ठग्नु हो
आज प्राय: शिक्षकहरू एकभन्दा बढी पेसा र व्यवसायहरू गर्न बाध्य छन् । आफूलाई पुगीसरी आएका कतिपय शिक्षकहरू अन्य पेसा र व्यवसाय गर्न इच्छुक देखिन्छन् । एउटा पेसामा हल्का बेइमानी गर्ने व्यक्ति अर्को पेसामा त्यही समयमा पूर्ण इमानदार हुन सक्छ कि सक्दैन ? एउटा शिक्षक आफ्नो विद्यालयलाई अलिकति धोखा दिइरहँदा अर्को ठाउँमा पूर्ण रूपमा बफादार हुन सक्छ कि सक्दैन ? सफलताको परिभाषा के हो ? मानक के हो ? एउटा व्यक्तिले ठुलो घर बनायो, कार किन्यो, परिवारका लागि धेरै सम्पत्ति जम्मा गर्यो तर धेरै जनासँग झुट बोलेर । अब उक्त व्यक्ति आफ्ना परिवारजनसँग चाहिँ सत्यमात्र बोल्न सक्छ कि सक्दैन ? के उसको बानी पूर्णरुपमा झुटमा परिवर्तन भएको हुन्छ वा आपूmलाई स्विच अन–अफ गरेजस्तो झुट–सत्य मोडमा लाने–ल्याउने गरिरहन सक्छ ?
मैले यो लेखको सुरुआत किन मन्दिरका पुजारीबाट गरेको हुँ भने माथि उल्लिखित शिक्षक, प्राचार्य जो जति ठुलो झुट बोल्दछ, ऊ त्यति नै भगवान्को भक्तको रुपमा देखा पर्दछ । यतिमात्र होइन, विभिन्न प्रकारका पूजा आदि घरमा पनि लगाइरहेको हुन्छ । जसरी गाउँगाउँमा अन्धविश्वासले कोही नमरुन् भनेर धामीझाँक्रीलाई नै ‘हे मनुवा ! तँ अब स्वास्थ्य चौकी जा’ भनेर काम्न लगाइन्छ, त्यसरी नै अहिलेका नवपण्डितजीहरूलाई ‘अबदेखि म झुट बोल्दिनँ, मेरा सेवाग्राहीलाई गुमराहमा राख्दिनँ’ भनेर १–२ पटक गोदान गर्न लगाउने हो कि !
इतिहासमा हामीले कसैले भनेको सुनेकै हो, ‘म नै राज्य हुँ, मेरो बोली कानुन हो । अनुशासन प्रजालाई हो राजालाई हैन ।’ अहिले हरेक विद्यालयका प्रमुख शिक्षकले आफ्नो विद्यालय र विद्यार्थीहरूप्रतिको समर्पणमा कमी ल्याएको हो कि भन्ने देखिन्छ । उनीहरूले ‘के भन्छन्’ भन्दा पनि ‘के गर्छन्’ भन्ने कुरा सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीले देखेका हुन्छन् । विद्यालयका हेडसरले काम ठगेपछि सहायक हेडसरले देखासिकी गर्नुपर्यो किनकि मानक नै यस्तो बनेको हुन्छ ।
पदमा जानु भनेको काम ठग्नु हो । जस्तै : विभिन्न बैठकहरू हुन्छन्, ती बैठकहरूमा हेडसरले समयको पालना गर्दैनन् अर्थात् ठिक समयमा बैठक सुरु गर्दैनन् भने उसको मातहतमा भएका शिक्षक–कर्मचारीमा पनि ‘ढिलो प्रवृत्ति’ बढ्दै जान्छ । अझ ‘ढिलो आए पनि हुन्छ’ भनेको रहेछ भने त ती शिक्षक–कर्मचारीमा समर्पणभाव एकाएक घटिहाल्छ । विद्यालयका हेडसर विभिन्न व्यक्तिगत काममा बाहिर निस्कने र ‘म त हेड सर पो त’ भन्न थाले भने अरुले पनि विस्तारै चुपचाप काम ठग्न थालिहाल्दछन् । अर्कातिर चाकडीबाजहरू ‘हजुर कति व्यस्त ! कसरी विवाह भोजमा पनि विद्यालयकै बारेमा सोचिबक्सिन्छ !’ भन्दै नजिकिन्छन् । खुरुखुरु काम गर्नेहरू र चाकडीबाज स्वभाव भएकाहरू आफूलाई केही दूरीमै राख्छन् र चुपचाप बस्दछन् । त्यसपछि कसैले ठाउँको नाम लिन्छन् – ‘यो स्याउली बजार हो, यहाँ केही हुन्न ।’ कसैले व्यक्तिको नाम लिन्छन् – ‘यो फलानो हुन्जेल केही हुन्न ।’ यद्यपि सबैको जागिर चलिरहेकै हुन्छ । विद्यार्थीमा ध्यान नपुग्नाको खातिर अनुशासन र सिप विकास केवल कागजमा मात्र सीमित हुन्छ । अर्कातिर अभिभावकहरूलाई पित्तल देखाएर गफ दिनु त छँदै छ, ‘यो अकबरी सुन हो; हेर्नुहोस् त पहेँलो छ कि छैन ?’
यो लेख कुनै व्यक्ति वा एक संस्थाप्रति लक्षित छैन । मुख्य कुरा हामी आम शिक्षकहरू आफ्ना विद्यार्थीहरूप्रति कत्तिको समर्पित छौँ ? भन्ने हो । शिक्षण पेसाप्रति आबद्ध सबैले स्वमूल्यांकन गर्ने समय आएको छ ।
एउटा महत्वपूर्ण कुरा – समर्पणमा बहानाबाजी चल्छ कि चल्दैन ? यावत् प्रश्नहरूमा दुई मिनेट आत्मचिन्तन गरौँ । विद्यार्थी सप्रनु र बिग्रनुमा हाम्रो हात हुन्छ कि हुन्न ? बहस गरौँ !
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१