सबलतामा गण्डकीको यात्रा

सन्दर्भ : जिबिएस ५८ औं स्थापना दिवस

वीरेन्द्र खड्का
जेठ ३१, २०८०

देशकै अग्रणी विद्यालयमध्ये विद्यालय शिक्षामा उत्कृष्टता प्रदर्शन गर्न सफल गण्डकी बोर्डिङ स्कुल (जिबिएस) ले आज ५८ औं स्थापना दिवस मनाउन गइरहँदा हामी गौरवान्वित छौं । २०२३ जेठ २९ मा शिक्षाअनुरागी, शिक्षापे्रमी लक्ष्यबहादुर गुरmङ, कवि भूपी शेरचन, राजेश्वर देवकोटा, जग्गादाताको उदार हृदय र युनाइटेड मिसन टु नेपालको सशक्तीकरणीय व्यवस्थापनमा स्थापना भई बामे सरेको विद्यालयले पायो, पहिलो प्रधानाध्यापक मार्था मुखिया । मातृत्वको काखमा र न्यायको सुन्दरतामा बढेर होला कोमल, मर्मस्पर्शी, ममतामयी छ गण्डकी । युनाइटेड मिसन टु नेपालको कुशल, व्यावहारिक र समयसापेक्षित नेतृत्वले उत्कृष्टताको जन्म गरायो । त्यसको उदाहरण हुन्, २०४४ सालको एसएलसी बोर्ड प्रथम राजेन्द्र गुरmङ । जिबिएस यसखालका प्रतिभा थुप्रै जन्माइसकेको छ ।

२०४२ सालमा तत्कालीन श्री ५ को सरकारले देशकै उत्कृष्ट नमुना विद्यालय रूपमा यो विद्यालयलाई क्षेत्रीय विद्यालयको घोषणा गर्‍यो । जसले अर्को नयाँ आयाम थप्ने सहशिक्षा, जहाँ छात्रछात्रा दुवै अध्ययन गर्ने अवसर जुट्यो । २०४८ सालमा रजतजयन्ती मनाएको गण्डकीले २०५१ सालमा उच्च मावि (देशकै पहिलो विज्ञान समूह प्लस टु) र २०६९ बाट क्याम्ब्रिज युनिभर्सिटीको जिसिइ ए–लेभल कार्यक्रम ल्यायो ।

समयको माग, परिवर्तन र पुस्तान्तरणको युगलाई स्पर्श गर्दै सन् १९९८ देखि पोखरा विश्वविद्यालय सम्बन्धनमा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स सफ्टवेयर र कम्प्युटर इन्जिनियरिङको पठनपाठन सञ्चालित छ ।

एक पटक राष्ट्रिय वीरेन्द्र सिल्ड, १८ पटक क्षेत्रीय वीरेन्द्र विद्या सिल्ड र उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्न सफल यो विद्यालय भौतिक सुविधा र साधनले सम्पन्न छ । नेपाल सरकारको छात्रवृत्ति कार्यक्रम र व्यवस्थापकीय सहयोगले विद्यालय आफ्नो स्रोतसाधनको उच्चतम व्यवस्थापन गर्दै आएको पूर्णत सामुदायिकस्तरको मुनाफारहित शैक्षिक संस्था हो ।

देशका विभिन्न जिल्लाहरूबाट दुर्गम, विपन्न, गरिब तथा जेहेनदार छात्रछात्रा छनोट भई आफ्नो शैक्षिक गन्तव्य अगाडि बढाउन यो विद्यालयको योगदान अद्वितीय छ । युएमएन जिबिस जिसिइएस सार्वजनिक शैक्षिक गुठी २०६१ बाट निर्देशित विद्यालयले २०७६ सालबाट राष्ट्रिय विद्यालय (संघीय, सरकारको संरक्षकत्व) रूपमा स्थापित हुन सफल भएको हो ।

विद्यार्थीलाई पाठ्यक्रमीय ज्ञानका साथै व्यावहारिक ज्ञान, सिप र क्षमताको विकास गर्ने विभिन्न अतिरिक्त र सहक्रियाकलापसँगै सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय प्रशिक्षकद्वारा खेलकुद, गीत संगीत, नृत्य कला, छविकला, चित्रकला, नाटक मञ्चन जस्ता क्रियाकलाप नियमित सञ्चालित छन् । पौडी, मार्सल आर्ट, स्काउटिङ आइसिटीका सिपमा पनि विद्यार्थी अभिरुचीपूर्वक भाग लिन्छन् ।

असल अभ्यास :

‘गरेर सिक’, ‘अनुभवबाट सिक’, ‘सिक र सिकाउ’ भन्ने चिन्तनबाट पे्ररित बन्दछन् विद्यार्थी । आवासीय विद्यार्थीले विद्यालयले योगशिक्षा, प्राथमिक उपचारको शिक्षा, नेतृत्व सिपको ज्ञान विकासका लागि स्वतन्त्रता पाएका छन् । आफ्नो क्षमतासँग साक्षात्कार गर्ने अवसर गण्डकीको आँगनमा प्राप्त गर्दछन् । ६ शिक्षक र ६० विद्यार्थीबाट पाइला चालेको गण्डकी आज झण्डै ६५ शिक्षक ७० प्रशासनिक कर्मचारी र १२ सय विद्यार्थीले सजिएको छ । कैयौं विदेशी र स्वदेशीहरूले बगाएको पसिनाको मूल्य हो गण्डकी ।

परालको झुप्रोबाट प्रारम्भ भएको गण्डकी सुविधासम्पन्न भवनहरूलाई पुस्तान्तरण गर्दै देशविदेशमा ख्यातिप्राप्त समाजसेवी, गायक, राष्ट्रसेवक, सफल व्यवसायी बन्न सफल बनाएको छ । मानिसको सहकार्य, सहयोग, सद्भाव र सामाजिक रुपान्तरणअनुरुप गण्डकी त्यसैसँग सम्बन्धित छ । यसले सन्ततिलाई प्रदान गर्ने ज्ञान, चरित्र, सेवा, सिप, मूल्यमान्यता बुझाउँछ । पछिल्लो पुस्ताले पनि आफ्नो अनुभव, समाजको माग, आवश्यकता वा चाहना अनुसार नवीन, ज्ञान, चरित्र, सेवा, सोच तथा मूल्यमान्यतालाई परिष्कृत तथा समयसापेक्ष पनि बनाउने थलो हो गण्डकी । विविधतायुक्त समाजलाई एक सूत्रमा बाँध्न, समालोचनात्मक चिन्तन र सिर्जनात्मक कलाको विकास गर्न, विकृति र विसंगति हटाई सामाजिक न्यायको पदार्पण गराउन सक्रिय सहभागितामा अभिवृद्धि गराउने थलोको रूपमा रुपान्तरित छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सफल भूमिका निर्वाह गरेको छ । सिकारुलाई कक्षाकोठाका अलावा बाहिर सिकाइका लागि स्वायत्तता प्रदान गर्ने हुनाले बहुबिधाको मानव स्रोतहरू तयार गर्न योगदान पुर्‍याई गुणस्तरीय शिक्षामा कोसेढुंगो सावित भएको छ । यो विद्यालय प्रयोगात्मक पक्षमा बढी जोड दिने हुनाले खोज र बालकेन्द्रित प्रविधियुक्त सिकाइको संगमथलो भएको छ, गण्डकी । राम्रा अभ्यासहरू थपिँदै जाँदा विद्यालयको गुणस्तर र शैक्षिक वातावरण अझै राम्रो बन्दछ र त्यसले सबैलाई फाइदा गर्छ । आफ्नो जन्मदिनमा पुस्तक उपहार गर्ने अभ्यासको थालनी आवासीय विद्यार्थीले गरेका छन् । यो एक असल अभ्यासको नमुना हो ।

सार्वजनिक शिक्षाको मेरुदण्ड भनेको सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी खोजी गरी पूरा गर्नु आवश्यक छ । जसबाट जे सम्भव छ त्यससँग त्यही खोजौं, उत्पे्ररित गरौं पुरस्कृत पनि । कसले के गर्‍यो र गरेन भन्दा पनि मैले गरें कि गरिनँ भनेर खोजी गरौं । मेरो भूमिका पर्याप्त भयो कि भएन भनेर खोजी गरौं । यसले संस्थाको समग्र सुधारमा योगदान गर्नेछ । सुधारको खोजी गर्नु, थाहा पाउनु, जिम्मेवारीबोध गर्ने पनि महŒवपूर्ण पक्ष हो । एक सवल र सक्षम नागरिकले थुप्रै समस्या समाधान गर्न सक्छ । सुधार गर्न नसके सहयोगी बन्न सकिन्छ, त्यो पनि नसके दर्शक बन्न सकिन्छ ।

अभिभावक, शिक्षक, विद्यार्थीको त्रिपक्षीय सहकार्यबाट विद्यालय सफलतातर्फ लम्कने कुरामा दुईमत छैन । हरेक व्यक्ति क्षमतावान् हुन्छन् । कुरा यत्ति हो, उसले आफ्नो क्षमता चिनेको छ–छैन त्यसैले उसको ज्ञान, चरित्र र सेवामा प्रभाव पारेको हुन्छ । ठूलो झोला बोकाएर, ८ घन्टा कक्षाकोठामा थुनेपछि गुणात्मक वा गुणस्तर आउँछ भन्ने हाम्रो मानसिकताले लाखौं सिर्जनशील विद्यार्थीको प्रतिभा प्राप्त भइरहेको यथार्थलाई हामीले अझै बुझ्ने कि नबुझ्ने ? परीक्षामा राम्रो अंक ल्याएमात्रै गुणस्तर मान्ने प्रवृत्तिले विद्यार्थी भयवादको सिकार बनेका उदाहरण हामीले पाएका नै छौं ।

त्यसैले अब परीक्षा हैन, परीक्षण र सिर्जनशीलतालाई जीवनसँग जोड्ने शिक्षा दिनुपर्दछ भन्ने पक्षमा छौं । एकैचोटी सानो मस्तिष्कमा ज्ञानको महासागर खन्याउने धृष्टता हामीले त्याग्नु पर्दछ । नत्र मनोआतंक सिर्जना हुने हुन्छ । बालबालिकाको स्वायत्तता नै मनोपरामर्श हो न कि बजारमा किनेको परामर्शदाताको शब्दजाल । यीनै मूल्यमान्यता हुन् गण्डकीका । आगामी यात्रालाई विश्रामयुक्त अध्ययन, शारीरिक संगठन, तर्कशक्ति र समालोचनात्मक सोचको विकास र चिन्ता होइन, चिन्तन गर्ने बानीले समग्र असल नागरिक जन्माउँछ, यो गण्डकीको ध्येय हो । तनाव र दबाब दुर्भाग्य हो । तसर्थ तनावमुक्त नागरिक र दबाबमुक्त समाजको निर्माण गण्डकीको लक्ष्य हो । सद्गुणी, चरित्रवान्, सिर्जनशील, सद्भावयुक्त सोच भएको नागरिकबाट मानवताको सेवा हाम्रो उद्देश्य हो । अबिरल बगेको गण्डकीझैं अनन्तसम्म पुग्ने हाम्रो लक्ष्यमा सदैव अभिभावक, पूर्व विद्यार्थी, शिक्षक कर्मचारी, शुभचिन्तकको पे्ररणा काफी हुन्छ । गण्डकी एक नमुना विद्यालयमात्रै भनेर सन्तुष्टी लिइरहने अवस्था छैन । नमुना विद्यालयको स्वरुपमा विविधता पाइन्छ ।

विशिष्टीकृत नमुना विद्यालय :

विज्ञान प्रविधि, गणित, सूचना र प्रविधि, सुशासन, विकास, स्वयत्ता, विधागत प्रतिभा, क्षमता र रुची अनुसारको सिकाइ पद्दतिको उच्चतम् अवसर प्रदान गर्न सक्ने विद्यालय यस श्रेणीमा पर्दछन् । मुलुकको आवश्यकता र अन्तर्राष्ट्रिय सन्दर्भमा पनि अब्बल प्रतिभा देखाउन सक्ने सम्भावनालाई यस्ता विद्यालयले उचित अवसर प्रदान गरी विकास गर्न सक्छ । ज्ञान, जीवन, जगत र सिप संवेग र सेरामिक्स जस्ता विषयगत क्षेत्रलाई विज्ञान र प्रविधिसँग जोड्दै विशेष प्रतिभा भएका बालबालिका अभ्यासहित प्रशिक्षित हुन्छन् ।

आदर्श नमुना विद्यालय :

सरकारले आगामी आवको बजेटमार्फत गण्डकी बोर्डिङ तथा बुढानिलकण्ठ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी शैक्षिक गुठीमार्फत देशका ५ जिल्लामा एक एक नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाको सम्भावना अध्ययन र पूर्व तयारी सार्वजनिक गरेको थियो । यसबाट हामीमा थप जिम्मेवारी महसुस भएको छ । एउटा पूर्ण विद्यालयका मापक पूरा गरेर समुदायमा उत्कृष्ट छवि बनाएका सार्वजनिक शिक्षा प्रदायक विद्यालयलाई आदर्श विद्यालय मान्न सकिन्छ । पाठ्यक्रमको कार्यान्वयन, विद्यार्थीको उच्चतम्् (अंकन) उपलब्धि, शिक्षकको पूर्ण व्यवस्थापन, सूचना र प्रविधिको सही प्रयोग यस प्रकृतिका विद्यालयको विशेषता हो । यस्ता विद्यालयलाई आन्तरिक व्यवस्थापन, लगानी र पाठ्यक्रमको स्वायत्ता प्रदान गर्नुपर्ने हुन्छ ।

अगुवा नमुना विद्यालय :

निश्चित क्षेत्रका विद्यालयहरूलाई प्राज्ञिक स्तरवृद्धि र व्यवस्थापनमा प्राविधिक सहयोग गर्न सार्मथ्य भएका अग्रणी विद्यालयलाई अगुवा विद्यालय मान्न सकिन्छ । निश्चित कार्यदिशा प्रदान गरी ल्कस्टर निर्माण गरी स्रोतसाधन व्यवस्थापनमा स्वयत्तता दिई व्यवस्थापकीय र प्राज्ञिक नेतृत्व लिन सक्ने उच्चतम् सम्भावना बोकेको यस्तो विद्यालयले कार्यपद्धति, कार्यनीति, रणनीति, पाठ्यक्रमीय क्रियाकलाप, सहक्रियाकलाप र पाठ्यक्रमको निर्माण, प्रयोग र परिमार्जनमा स्वायत्तता प्राप्त भएका विद्यालय नै अगुवा विद्यालयको मनांकमा पर्दछन् ।

उपयुक्त सिकाइ वातावरण, पर्याप्त र बृहत् स्रोतसाधनको उच्चतम प्रयोग, बृहत् विद्यालय सुरक्षित योजना भौतिक पूर्वाधारको संरक्षण सम्बर्धन, सञ्चालन, सिकाइ सहजीकरण क्रियाकलाप (रणनीति), वैज्ञानिक पाठ्यक्रमको दृष्टिकोण, विद्यार्थीप्रतिको उत्तरदायीपूर्ण मूल्यांकन, सुशासन र निसंकोचता, अनुपातिक आर्थिक व्यवस्थापन, वृत्तिविकास र स्वच्छता, उच्चतम् प्रतिफल प्रतिभाको खोजी जस्ता विषय वस्तुप्रति यस विद्यालयको जिम्मेवारी र उत्तरदायित्व हुन्छ आगामी दिनमा ।

  • आधुनिक शिक्षण विधि र प्रविधिसहितको अनुसन्धात्मक शिक्षण सिकाइ क्रियाकलाप
  •  सेवा क्षेत्र भित्रका र विदेशस्थित अन्य विद्यालयहरूबीच सहकार्य निर्माण
  • विद्युतीय सिकाइ सामग्री (लनलाइन र अफलाइन) को सार्वजनिकीकरण
  • व्यावसायीक सिप र क्षमताको अभिवृद्धि तथा सर्वसुलभ प्रशिक्षण
  • बहुउद्देश्यीय सभाहलको व्यवस्थापन तथा खेलकुद, आध्यत्म, नैतिक तथा योग शिक्षाको व्यवस्थापन
  • गुरुयोजना तर्जुमा र कार्यान्वयन
  • बाल क्लबहरूको प्रभावकारिता र व्यवस्थापन:– स्काउट, रेडक्रस सर्कल, पूर्णकालीन एनसिसि ट्रुप, क्षमता तथा सिप अभिवृद्धि क्लबहरू (नृत्य, गायन, मार्सल आर्ट, योग ध्यान खेलकुदका क्लबहरू इनोभेस्न क्लब, पौडी जस्ता विद्यार्थीद्वारा सञ्चालित क्लबहरूको विशिष्टीकृत व्यवस्थापन)
  • विद्यालय विपद् व्यवस्थापन योजना तर्जुमा र कार्यान्वयनको व्यवस्था
  • विद्यालयका विविध गतिविधिमा अभिभावकको पहुँच, सहभागिता पारदर्शिता र जवाफदेहिताको सुचिश्चितता
  • छात्रवृत्ति कार्यक्रमलाई अझै सकलिकरण र प्रभावकारी र बृहत्तर पद्धतिको अवलम्बन
  • विद्यार्थी गुणस्तर सर्कल (एसक्युसी)अन्तर्गत पिआइएसए, टिआइएमएसएस, पिआइआरएलएस लगायत उपलब्धि परीक्षण सञ्चालन ।
  •  सेन्टर अफ एकाडेमिक एक्सिलेन्स एन्ड ह्याप्पी होममा रूपान्तरण ।

छात्रवृत्ति कार्यक्रम :

गण्डकीको गहना सन्दर्भ र लौकिकता बोकेको कार्यक्रम हो । यस कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष २६ देखि ३० विद्यार्थी विद्यालय भित्रिने र विद्यालयबाट निस्कने हुन्छन् । यस कार्यक्रममा गरिब, जेहेनदारलाई अवसर दिइन्छ । पारिवारिक अवस्थाअनुसार छात्रवृत्ति अनुपात निर्धारण गरिन्छ । चलअचल सम्पत्ति, आमाबुबाको आयआर्जन/आम्दानी, परिवारको आर्थिक सामाजिक, सांस्कृतिक अवस्थालाई मानक मानिन्छ । छात्रवृत्ति कार्यक्रम देशभरका विभिन्न स्थानमा परीक्षा केन्द्र तोकी प्राय: प्रत्येक वर्ष माघ पहिलो साता छनोट परीक्षा सञ्चालन गरी मेरिट आधारमा छनोट प्रक्रिया सुरु गरिन्छ ।

समता र समानताको उच्चतम् व्यवस्थापन र विविधतामा भेदभावरहित बालमैत्री वातावरणको स्तरीकरण, निर्भीक, सिपमूलक, ख्याति कमाउन सक्ने, आफ्नो क्षमता, भविष्य र सिपको पहिचान गरेको राष्ट्रियता, श्रम र प्रतिष्ठाको बोध भएका प्रतिभावान् नागरिक उत्पादन र व्यवस्थापनमा नै गण्डकीले इँट्टा थप्ने छ । यसमा सोचको खाँचो छ हामीमा, अभिभावकमा राज्यमा जिम्मेवारी समुदायको समाजको र सरोकारवालाको नै हो । सगरमाथा चुचुरोमा पुग्न पनि डोरीको सहारा विश्वासको साथ लिनुपर्दछ । गण्डकीलाई यहाँसम्म पथप्रदर्शनको कार्य गर्नुहुने सम्पूर्णमा हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु । (लेखक विद्यालय प्राचार्य हुन्)

Related News

सम्बन्धित समाचार

hero news full width