लाहुरी भैंसीले तन्क्याएको कथा

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७०

‘कालो भैँसी, कलसे सीँग

थैले कचौँडो, क्वैले थुन

यस्तो भैँसी खोजी खोजी किन, यस्तो भैँसी किनेमा लाग्दैन ऋन।’

भैँसीका पारखीले पारख गरेको भैँसी र हाम्रो गोठको भैँसीमा केही फरक छैन। यो लाहुरी भैँसी त हीरा हो हीरा। यसको सुसारमा केही कमजोरी नआओस् है बूढिया ! मैले घर बूढीलाई सम्झाएँ। यो पहिला बेते थोरे हो, जति हेर्‍यो उति राम्रो। यसको शरीरमा त माखो बस्यो भने पनि लड्छ। कति चिल्लो छ, प्राकृतिक चिल्लो सीँग र कान बराबरजस्तै छन् ठाडा ठाडा। घोप्ट्याइएको पाथी जस्तै कचौंडो, कचौंडो मुनितिर जामुनाका सप्रिएका दानाजस्ता थुन। पग्रिएको बेलामा चारै थुनमा टपटप टप्लिएका दूधका थोपा कति मनमोहक जति हेरे पनि म त अघाउँदिनँ बुढिया। ए बूढी ! तिमी नफुर्किने हो भने म एउटा कुरा भन्छु है : ‘म तिमीसित जतिसुकै रिसाए पनि तिमीमाथि रिस देखाउन सक्तिनँ, त्रि्रो भैँसी पलाइ देखेर।’ तिमी जब यस गोठमा आएर भैँसीलाई मुसाछ्याै र कोकिल कण्ठले तलका यी श्लोकहरू :

‘गाम डुली डुली

आयौ भैँसी किन्न।

सक्छौ कि सक्दैनौ

यो माल छिन्न।

सीँग कान मिलेको

कुदेझैं दुरुस्त।

माल चिन्ने मान्छेले

लैजान्छ खुरुक्क।

छिँदाल्दैन दाम्लो उखेल्दैन किलो

रिङ्दैन थलोमा पार्दैन हिलो

खोलामा जान्छ,

खान्छ सङ्ग्लो पानी

आहालमा बस्छ त

बगालै नहानी

जाति छ भैंसी त ढुटाको र नूनको

पाइँदैन भैँसी त यतिका गुनको।।’

भन्छ्यौ अनि मलाई लाग्छ सिद्धान्त र व्यवहारमा देखिने समन्वय भनेकै यही हो। हाम्रा विभिन्न वादमा बाँधिएका नेताहरूले आफ्ना सिद्धान्तलाई यसरी नै व्यवहारमा उतार्ने हो भने उनीहरू पनि अनालोच्य हुने थिए होला। सिद्धान्त भनेको मञ्चमा उठेर बखान गर्ने भाषण होइन बरु व्यवहारमा लागू गर्नुपर्ने आचरण हो। यति बेला म पनि मञ्चमा उठेर कुर्लू कुर्लू झैं लाग्छ- ए वादका पिछलग्गू नेता हो ! तिमीहरूले सिद्धान्तलाई व्यवहारमा उतार्न चाहन्छौ भने मेरो भैँसी गोठमा आओ र मेरी बूढियालाई गुरुआमा भनेर ढोग गर र गुरुदक्षिणा चढाएर उनीसँग वर माग।

सामान्य अर्थमा तपाईं’ले बुझेको भैँसी भनेको राँगाको पोथी हो। हात्ती र गैँडाभन्दा सानो र गाई बाख्राभन्दा ठूलो जिउको मध्यम शरीर भएको स्तनधारी स्त्री पशु हो भैँसी। तपाईंको यो बुझाइ आंशिक रूपले सत्य भए तापनि पूर्ण सत्य भने होइन। यो शक्तिशाली पशु हो। तपाईंले हिन्दूहरूको पुराण पढ्नुभएको छ भने तपाईंलाई के थाहा छ भने भैँसी भनेको मृत्युका देवता मानिने यमराजको बाहन हो। प्राणीले सबै ऐन, कानुन नियम विनियम तोड्न सक्छ, तर जन्मिनेले मर्नै पर्छ भन्ने यमनियमलाई भने तोड्न सक्तै सक्तैन। यदि जन्मिएको प्राणी संसारमा बाँचिरहेको भए आजसम्म यस संसारको गति कस्तो हुँदो हो, तपाईं कल्पना नै गर्न सक्नुहुन्न। त्यस्तै शक्तिशाली यमराजको बाहन भएकाले होला भैँसीको लिङ्ग स्त्री भए तापनि व्यवहारमा यसलाई पुलिङ्गवत् व्यवहार गरिन्छ र भनिन्छ जेमराज। जेमराज भनेको यमराज शब्दकै तद्भव रूप हो। यत्तिमात्र होइन भैँसी संविधान, कानुनभन्दा पनि माथि छ। कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने तपाईंको नीतिलाई भैँसीले धोती लगाइदिन्छ।

हाम्रो मुलुकको कानुनले स्त्रीपशुको वधलाई गैह्र कानुनी मानेको छ। कुनै व्याधाले आफ्नो वधशालामा स्त्री पशुको वध गरेको छ भने ऊ दण्ड/सजायको भागी हुन्छ र कानुनको कठघरामा उभिएको हुन्छ। तर जुन वधशालामा भैँसीको वध हुन्छ, त्यस वधशालामा कानुनको उपस्थिति कहिल्यै हुँदैन। कि भैँसी स्त्रीपशु नै होइन ? अझ भनूँ यस वधशालासम्म पुग्नसक्ने उसको हैसियतै छैन। त्यसैले के भनिन्छ भने हाम्रो मुलुकलाई शासन गर्ने अरू कुनै कानुन छैन, केवल देवाधिदेव पशुका पति पशुपतिले शासन गरेका छन्। त्यसैले ठूलाबडाले शुभकामना दिने क्रममा पशुपतिनाथले हामी सबैलाई रक्षा गरून्’ भनेर आशीर्वाद दिने गर्छन्।

भनिन्छ शक्तिशालीको सङ्गत गरियो भने कल्पनै गर्न नसकिने काम पनि गर्न सकिन्छ। यो भनाइ भैँसीमा पूरा लागू भएको देखिन्छ। जब भैंसीहरू सीमा पारिबाट टाटाका सवारीमा सवार भएर मोक्षका लागि उत्तराभिमुख हुँदै काठमाडौं उपत्यका (जहाँ मोक्षका लागि पशुपति राज भएका छन्) मा छिर्न आउँछन्, त्यहाँसम्म आइपुग्दा उनीहरूले लिङ्ग समेत परिवर्तन गरिसकेका हुन्छन्। कुमालकोटीको न्यायमा पर्छन्। कुमालकोटीको न्याय भनेको के हो ? कुरो स्पष्ट भएन कि क्या हो ल सुन्नुहोस्- ‘कुमाल कोटी नामक कीराले कुनै कीरा खोजेर ल्याई आफ्नो गोलाभित्र थुन्छ र आफ्नो भुँ भुँ शब्द सुनाउँदै त्यस कीरालाई पनि आफैजस्तै बनाउँछ।’ कुमालकोटी न्यायको ज्ञाता भएकाले नै राँगो किन्न जाने व्याधाले भैँसी किन्दै ट्रकमा सवार गराउने क्रममा कुमालकोटी न्याय गर्छ। अर्थात् भुँ भुँ गर्छ, त्यसैले काठमाडौं उपत्यकामा छिर्दा नछिर्दै सबै भैँसीहरू राँगामा परिणत भइसक्छन्। वधशालामा भैँसी काटेबापत कुनै पनि व्याधालाई कानुनको कठघरासम्म आइपुग्नै नपर्ने एउटै कारण के रहेछ भने कुमालकोटी न्याय ज्यादै शक्तिशाली रहेछ, जसले स्त्रीलाई पुरुष र पुरुषलाई स्त्री बनाइदिन पनि सक्छ।

मेरो भैँसी माहात्म्य गाउने क्रम अझै कति अगाडि बढ्ने थियो, त्यो ता मलाई थाहा थिएन, तर यत्तिकैमा मेरी बूढियाले च्याँठ्ठदिै भनिन्-‘लोग्ने मान्छेलाई पोथी जातको मासुको महिमा गाउने अवसर पर्‍यो भने तीन रात, तीन दिनसम्म गाइरहन्छन्।’ भन्छन् कुरो साँच्चै रहेछ। मेरो लोग्नेले थोरे लाहुरी भैँसीको मासुको खुलेर वर्ण गरेको देखेर मलाई के लाग्दै छ भने यो लाहुरी भैँसी कुनै तरुनीको प्रतिबिम्ब त होइन। लोग्ने मान्छेको मन त विचित्रको हुन्छ, भन्छन्। लाहुरी आफू मात्रै राम्री होइन उसको पाडो त झन् कति राम्रो थियो थियो। काटीकुटी आफ्नै आमाजस्तै। म आफूलाई टलक्क टल्किने टप लाउने चाहना नभएको भए एक महिना पनि नबित्तैको पाडाको घाँटीको दाम्लो कसाईका हातमा किन हस्तान्तरण गर्ने थिएँ र – अब यो हाते लाहुरी भैंसी थाक्नासाथ लिन आऊ भनी उसै कसाई दाइलाई बोलाएकी छु। यस हातेलाई जति खुवायो उति नै यसको मासु बढ्छ। जति मासु बढ्यो उतिकै बढी नै मूल्य आउँछ। पहेंलो म·ल सूत्र र एकजोर सुनको बाला लगाउने मेरो धोको यसै लाहुरीको मासुले पूरा गरिदिन्छ कि भन्ने ठूलो आशा छ। ‘भन्न नहुने व्यथा साह्रो’ भन्छन्- कतै यस लाहुरीले बीचैमा राँगो खोजिदिई भने परेन त फसाद। म आफै पोथी। पोथीको मौलिक हक प्रजननलाई कसरी रोक्न सक्छु र म। परिवार नियोजनको साधन, पशुका लागि पनि त बनेकै होला नि कि नहोला यस अप्ठेरो विषयको प्रश्नको उत्तर कसलाई सोध्ने होला हँ ?

ए बूढा ! अहिलेको वर्ष फलिफापको जस्तो छ। यस सिँगारी बाख्रीले पाठो जन्माई। मैले पाठो छ महिनाको नहुँदै सन्तानेश्वरी देवीलाई सन्तानै होस् भनेर बली चढाएँ। लाहुरीले पाडो पाई। उसै पाडाले मेरा कानमा झल्किने टप लगाइदियो। अब एउटै चाहना छ? लाहुरीलाई गर्भधारणको चाहना नओहोस्। उसलाई सकुशल कसाई दाइको हातमा सुम्पिनपाउन। लाहुरीले गहना र सन्तानेश्ववरीले सन्तान दि एभने हाम्रा सारा चाहना पूरा होलान् कि झैँ लागेको छ। तिमीलाई नि बूढा। ए बूढा ! सन्तानको मुखै नहेरी कसरी मर्ने त नि।

जान्ने सुन्नेहरूले भन्ने गर्छन्- एउटाको जरो नउखेलीकन अर्काको औषधी हुँदैन। बलिया बा·ाहरूले कुनै निम्सरो र कमजोरलाई थिचोमिचो गरे भने तटस्थहरूले प्रतिक्रिया दिइहाल्छन् हाल ठूलो रूखको सेपले साना साना पथरालाई हुर्किनै दिन्नन्। एउटै खोलामा डुबुल्की मार्दा मार्दैमा ठूला माछाले साना माछालाई क्वाप्लक्कै निलिदिन्छन् र सो देख्नेले भनिहाल्छन् :- मत्स्य न्याय भनेको यही हो। खोज्दै गए यस्ता खाले प्रतिक्रियात्मक अभिव्यक्तिहरू कति पाइन्छन् कति। मैले बोलेको बोलीलाई पनि सूक्तिमय वाक्यमा गणना गरिदिने हो भने मैले त भन्ने थिएँ :- यस किसिसको थिचोमिचोको सही नाम मार्त्यन्याय हो, मार्त्य किनभने मात्स्य न्यायको तुलनामा मार्त्य न्यायको भूमिका कति हो कति बढी छ।

मेरी बूढी माऊलाई पहेंलो टप लाउन मन लाग्यो र उनले सजिलैसँग लाहुरीको पाडो कसाइलाई दिइन्। उनलाई नाक, कान, घाँटी पहेंल्यै पार्ने चाहना भयो र आफ्नो इच्छा पूरा गर्न लाहुरीको घ्रि्रो तेस्याइदिने भइन्। उनले आफ्नो थुनमा दूध रसाओस् भनेर सिंगारीको थुनै सुकाइदिइन्। सन्तानेश्वरी भनिने ढु·ालाई पुजिन्। यति सबै दृश्य/अदृश्यलाई देखेपछि मैले मनमनै भनें :- अज्ञान र अन्धविश्वासलाई एकै घान बनाएर भुट्ने हाँडीको निर्माता कहिले जन्मिएला खोइ ! हामीलाई त अहिल्यै खाँचो भइसक्यो के गर्ने हो, खोइ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width