मार्फा जन्मस्थलतर्फको यात्रा

वीरेन्द्रकुमार हिराचन
जेठ ३१, २०८०

जेठ ४ मा पोखरादेखि मुक्तिनाथ र जन्मस्थल मार्फा गाउँको भ्रमणका लागि पोखराबाट हाम्रो यात्रा तय भयो । मार्फा गाउँस्थित जनबाल माध्यमिक विद्यालयको तर्फबाट ५ जेठमा आयोजित अभिभावक भेलामा नानीशुक स्मृति प्रतिष्ठानलाई निम्तो थियो ।

मुमा नानीमाया र बुबा शुकबहादुर हिराचनको स्मृतिमा २०६२ मा स्थापित नानी शुक स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तारानाथ गौतम पाखे, संरक्षकहरू र आजीवन सदस्य गरी ७ जना यात्रामा सहभागी थियौं । चालक सञ्जीवले गाडी हुइँक्याए ।

सुइँखेत, नौडाँडा, लुम्ले, कुस्मा बजार हुँदै कालीगण्डकी तिरैतिर हरियाली वन, पहरा छहरा, खोला प्राकृतिक, सुन्दर दृश्यले मनलाई खुसीयाली बनाइरहेको थियो । बाटोमा मुक्तिक्षेत्रमा दर्शन गर्नेहरूको गाडीहरूको लाम देखिन्थ्यो । बाटोमा पर्ने तातोपानीको कुण्डमा नुहाउने मानिसहरूको भिड थियो । भीरपहरा, कालीगण्डकीको सुस्केरा छिचोल्दै, अविरल झरिरहेको रुप्से झरनाले कस्को मन खुसीले नभरिएला ?

केही बेरसम्म हामी छहराको कल्ककलाउँदो निर्मल पानी कालीगण्डकीमा समाहित भएको दृश्य हेरिरह्यौं । हाम्रो यात्रा निरन्तर बढ्दै काप्रेभीर, पारितिर देखिने कोप्चेपानीको प्राचीन थलो हेर्दै घाँसा, लेते पुग्यौं । धवलागिरि हिमालको मनमोहक हरियाली धूपी र सल्लाका रुखहरूको सुन्दर प्राकृतिक दृश्यले निश्चय पनि मन फुर्किरहनु स्वाभाविक हो । तयारी अवस्थामा पुगेको चाक्ला मोटरबाटोले विकसित देश स्वीट्जरल्यान्ड अन्य देशहरूको तुलना गर्न मन पुगिहाल्छौं । धवलागिरि हिमालबाट बगिआउने बोक्सीखोला, टुक्चेखोला, कवि भूपी शेरचनको जन्मस्थल टुक्चेगाउँ हुँदै मार्फा गाउँमा दिउँसोको २:४५ बजे पुग्यौं । मार्फा गाउँ वास्तवमा स्याउबारी अनि फलफूलकै राजधानी हो । प्राय: सबै जमिन स्याउका रुखहरूले ढाकेको थियो ।

मार्फामा हिराचन होममा पहिलो दिनको बसाइँ थियो । पूर्वतर्फ देखिने विशाल पहाड छत्र पाङ् नीलगिरि हिमाल, छैरोगाउँ नजिकै अविरल बगेको सुन्दर छहराले पनि मेरो बाल्यकालको स्मृतिलाई जीवन्त दिइराखेको थियो । पश्चिमको कोपांङ्झोङको डाँडाको मनोरम अवस्थितले र मार्फा गाउँको उत्तरभागमा सेतो र रातो माटोले पोतिएको विशाल पत्थरको पहाड जसलाई ऋसोम गुम्बाको नामले चिनिन्छ । जसका तीनकुने र विभिन्न बौद्ध झण्डाहरूले सजिएको छ । यो मार्फाका थकालीहरूले इष्टदेवता र भगवान्को प्रतीकरुपमा मान्दै आएका छन् । मार्फा गाउँलाई परिचय यहाँ परापूर्वकालदेखि बनेका ढुंगामाटोको प्राचीन शैलीका घर र घरको छाना वरपर मिलाएर राखिएको दाउराहरू नै परिचयको प्रतीक हो । यी सबैले हामीलाइ पूर्वका दिनहरू सम्झाइरहेको थियो । बचेको समयमा मार्फाको रहेको १३ औं शताब्दीमा बनेको निङ्मा सम्प्रदायको विशाल गुम्बा हेर्ने सौभाग्य पायौं । गुम्बाभित्रका प्राचीन विशाल मूर्तिहरू र सजिएका अनगिन्ति बौद्ध पुस्तकले बौद्धदर्शनको वास्तविक स्वरुप प्रतीत हुन्थ्यो । यो गुम्बाको आडको ध्यान केन्द्र, यहाँबाट पश्चिम भीरस्थित प्राचीन प्रागुम्बाले (भीर गुम्बा) मार्फा गाउँलाई थप शोभायमान बनाएको छ । मार्फा गाउँको बसाइँमा धेरै साथीभाइ भेटेर रमाइलो महसुस गर्‍यौं । साँझ होटलमा जनबाल विद्यालयका प्रधानाध्यापक दुर्गा ढकाल र अन्य शिक्षकहरूसँग भेटी भलाकुसरी गर्ने मौका पायौं ।

भीरपहरा, कालीगण्डकीको सुस्केरा छिचोल्दै, अविरल झरिरहेको रुप्से झरनाले कस्को मन खुसीले नभरिएला

भोलिपल्ट जेठको औंसीको विशेष तिथि परेकाले श्राद्धमा जाने कागबेनी र मुक्तिनाथ मन्दिर पुग्ने भगवान्को दर्शनाभिलाषीको भिड लाग्ने भएकाले तारानाथ गौतम दाइ, सत्यदेवी भाउजू, शान्ति हिराचन, चन्दा हिराचन, लक्ष नाति बिहान ५ बजे प्रभातकालमै अगाडि बढ्यौं । तर मेरो श्वासप्रश्वास कारणले मुक्तिनाथ गइएन । प्रभातकालीन धार्मिक तीर्थ यात्रा पूरा गरेर मार्फामा दिउँसो १२ बजेको विद्यालय अभिभावक भेलामा सहभागी हुनु थियो ।

दिउँसो खानापछि मार्फाको सामुदायिक हल पुग्यौं । मैले धेरै पुराना मित्रहरूलाई र विद्यालय परिवार, शिक्षक, विद्यार्थीलाई देखें । सभाहल मार्फा गाउँको लागि शोभायमान थियो । गाउँमा त्यस्तो भवनको अवस्थितिले आयोजित भेला सौहार्दरुपमा सञ्चालन भएको पायौं ।

विद्यालय प्रअ दुर्गा ढकालको संयोजकत्वमा कार्यक्रम विधिवत् आरम्भ भयो । अभिभावक, विद्यार्थीको बाक्लो उपस्थितिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै मार्फा गाउँका एक जना बहुआयामिक प्रतिभाशाली सामाजिक व्यक्तित्व भक्ति हिराचनलाई सम्पूर्ण गाउँको तर्फबाट सम्मान अभिनन्दित गर्ने कार्यक्रम पनि सम्पन्न भएको थियो । उहाँको जीवनको महत्वपूर्ण कालखण्डहरू सामाजिक सेवामा नै समर्पित गर्नु भएको थियो । उहाँको जीवनकालमा प्रारम्भिक शिक्षा यही जनबालमा अध्ययन गर्नुको साथै अध्यापन पनि गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित महानुभावमा मेरा समकालीन मित्रहरू शुभचिन्तक धेरै जनालाई भेट्ने मौका पाएको थिएँ । २०६२ सालमा स्थापना बुबा शुकबहादुर हिराचन र आमा नानीमाया हिराचनको स्मृतिमा नानीशुक स्मृति प्रतिष्ठानको गतिविधि, हालसम्म शैक्षिक तथा सामाजिक सेवामा केन्द्रबिन्दु रहेर भावनाको प्रतिविम्ब हुने गरी संस्थालाई जीवन्त दिने काम गरिरहेको छ । यो संस्थाले उहाँहरूको जन्मस्थलमा जनबाल विद्यालय स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

यसलाई मध्यनजर राखेर स्कुलमा उहाँहरूकै स्मृतिमा संस्थातर्फ २ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय २०७८ मा गरिएको थियो । यो अक्षयकोषको प्राप्त ब्याजबाट प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवमा १ छात्रा र १ छात्रलाई गरिब तथा जेहेनदार नगद पुरस्कार दिने व्यवस्था मिलाइएको थियो । यस वर्ष कक्षा ५ की समीक्षा घोताने र कक्षा ९ का सन्तोष छन्त्याल पुरस्कृत भए । भेलामा नानीशुक प्रतिष्ठानकै संरक्षकहरूतर्फबाट विद्यार्थी र विद्यालयको समग्र शैक्षिक उन्नतिमा योगदान पुर्‍याउन सफल शिक्षकहरू कृष्णप्रसाद कोइराला र राजुप्रसाद श्रेष्ठलाई जनही १० हजारसहित सम्मान गरिएको थियो ।

खासमा जनबाल स्कुलको स्थापना २०१२ सालमा भएको हो । करिब ७० वर्षको लामो कालकाण्डमा आफ्नो क्षेत्रमा फड्को मारेर प्रगति गर्न नसकिएको अनुभूति हुनु स्वाभाविक पनि हो । मार्फाको छिमेकी गाउँहरूमा १२ कक्षा सञ्चालन र क्याम्पस स्थापना गरेर उच्च शिक्षा हासिल गर्ने अवसर छ । मार्फा नमुना गाउँ र स्याउ उत्पादनमा राजधानीले स्वदेशी तथा विदेशमा परिचित छ । यसरी नै सामुदायिक विद्यालयको रुपमा राम्रो गुणस्तर शिक्षा दिन सकेको अवस्था गाउँको र समग्र क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । विद्यालयको लोकप्रियतामा नयाँ आयाम थपिनेछ । हालको विद्यालय र उच्च शिक्षा हासिल गर्न सामुदायिक क्याम्पसको स्थापना गरेर शिक्षा हासिल गर्न सबैखाले परिवारलाई निशुल्क शिक्षा हासिल गर्न सक्ने वातावरण बनेमा मार्फामा उच्च हासिल गर्न सबैखाले शिक्षार्थी टाढाटाढाबाट आउने छन् । राम्रा विश्वविद्यालयसँग पनि अनुबन्धन गरेर उच्च शिक्षा प्राप्त गर्न पाउन सकेमा मार्फा वास्तविकरुपमा नमुना गाउँ हुनेछ भन्ने विचार मन्थन गर्दै पोखरा फर्कियौं ।

Related News

सम्बन्धित समाचार

hero news full width