बुद्धले देशना गरेको सुख

बुद्धको उपदेशमा दुःखका कुरा धेरै छन् र दुःख निवारणका कुरा पनि छन्। तर, सुखका सम्बन्धमा बुद्धले चर्चा नै गरेनन्, गरे पनि ज्यादै कम।

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७३

बुद्धका अनुयायी, चाहे ती भिक्षु हुन् वा गृहस्थ, उनीहरू त्रिदेशनाको स्मरण गरिरहन्छन्। मन्त्रोच्चारण झैँ पुनरोक्ति पनि गरिरहन्छन्-त्रिवन्दनाको ‘बुद्धम् शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, संघम् शरणम् गच्छामि-किन भजिन्छन् यी तीन कुरा – किन दोहोर्‍याउछौँ यी प्रतिबद्धता – यी श्रद्धाका अभिव्यक्तिमा गहिरो अर्थ छ, त्यसैले हामीले बारम्बार दोहोर्‍याइ रहेका हुन्छौं।

बुद्धको उपदेशमा दुःखका कुरा धेरै छन् र दुःख निवारणका कुरा पनि छन्। तर, सुखका सम्बन्धमा बुद्धले चर्चा नै गरेनन्, गरे पनि ज्यादै कम। जस्तै, भनौं चार आर्य सत्यको कुरा। मानव जीवनमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ, दुःख निवारणको उपाय छ। यिनै चार आर्य सत्यवरिपरि केन्द्रित छ बुद्धको सारा शिक्षा।

मानिसको एउटा स्वभाव हुन्छ, जुन कुरा कम छ त्यसको चाहना र चर्चा बढी हुन्छ। सुखका सम्बन्धमा पनि केही छन्- धम्मपदमा ‘सुख वर्ग’ छ। बुद्धले विभिन्न स्थान, काल, प्रसंग र व्यक्तिहरुलाई देशना गरेको संगालो छ सुखको सम्बन्धमा। प्रत्येक वर्ष, वर्षाको तीन महिना भिक्षुहरू वर्षावास बस्छन्, धर्मदेशनाका लागि दूरदराज कतै जाँदैनन्। कहिँ कतै विहारमा बस्छन्, ध्यान, समाधिमा रहन्छन्, धर्म-विनयको चर्चा गर्छन्, भिक्षाटन पनिवरिपरि क्षेत्रमा नै सीमित राख्छन्। बुद्धको पनि यही हो वर्षाका तीन महिना।

एक वर्षको वर्षवास श्रावस्ितको जेतवन विहारमा रहेको छ बुद्धको। बुद्ध जहाँ रहन्छन्, ठूलो संख्यामा भिक्षुहरू पनि साथै रहन्छन्-यो स्वभाविकै हो। भिक्षु हुँदासाथ वा मुण्डन गरेर गेरुवस्त्र चिवर धारण गर्दा साथ कोही पनि कायल्केशरहित, बहुश्रुत र विनयधर भइहाल्छ भन्ने कुरा होइन। कुण्ड-कुण्ड पानी, मुण्ड-मुण्ड बुद्धि भनेझैं बुद्ध संघमा विभिन्न चेतनास्तरका भिक्षु हुनु स्वभाविक पनि हो। भोजनपश्चात् भिक्षुहरूले आपसमा कुरा गर्न थाले। प्रसंग कसैले उठाए होला, सुख केमा छ भन्ने कुराको। यसैमा उनीहरूले चर्चा गर्न थाले। छलफल चल्दै जाँदा केही भिक्षु बहकिए। भौतिक व्ैभवको उपभोगमा सुख हुन्छ कसैले भने, कोहीले राजकीय शक्तिको प्रयोग गर्न पाउनु सुख ठाने र कसैले त कामभोगको सुख कल्पना पनि गरे होलान्। त्यही कतै आराम गरिरहेका बुद्धले सुने, भिक्षुहरूको यो विडम्बनायुक्त निर्रर्थक छलफल। सबै त्याग गरेर गेरुबस्त्र धारण गरेको छ, बनेको छ भिक्षु तर चर्चा गरेको छ, सांसारिक सुख प्राप्तिका, भौतिक भोगमा सुख मिल्छ भन्ने कुराको। बुद्धलाई लाग्यो होला, अहिल्यै, यही अवस्थामा यी भिक्षुहरूलाई सम्झाउन आवश्यक छ- वास्तविक, चिरस्थायी सुख के हो, के ले दिन्छ सुख –

बुद्धले भने-’के अर्थ न बर्थको चर्चा गरेका छौ – कही संसारिक भौतिक भोगमा सुख पाइन्छ – अनि बुद्धले यो गाथा भने-

सुखो बुद्धानं उप्पांदो-सुखा सध्दम्म देसना।

सुखा स·स्स सामाग्गी-समग्गानं तपो सुखो।।

बुद्धहरूको जन्म हुनु सुखदायक हो, सर्द्धमको उपदेश सुखदायक हो तथा एकता युक्तहरूको तपस्या पनि सुखदायक हो। -धम्मपद, नेपाली आनुवादसहित सहित भिक्षु आनन्द, पृष्ठ ८८)

पहिलो कुरा छ – बुद्धं शरणं गच्छामि ! बुद्धको शरणमा जान्छु। बुद्धले भनेका छन्- ‘बुद्धहरूको जन्म हुनु सुखदायक हो।’ एउटा बुद्धको कुरा होइन, बुद्धहरू अर्थात अनन्त बुद्धहरूको कुरा हो। र, यो बाहिरबाट आरोपित हुने, प्रत्यारोपण गर्ने कुरा पनि होइन। बुद्धत्व भनेको आर्जन गर्ने कुरा हो, आफूभित्र जन्माउने कुरा हो। सुखको चर्चा गरिरहेका भिक्षुलाई बुद्धले भने अन्यत्र नखोज, पहिले आफूभित्र बुद्धत्व जन्माऊ, बुद्धहरु जन्म हुनु नै सुख हो। बाहिर, भौतिक वस्तुको सुख सुख होइन, एक भ्र्रम हो। जति धेरै बुद्धत्व आफूभित्र जन्माउन सकिन्छ त्यति नै बढी सुख आर्जन हुन्छ। यस  अर्थमा बुद्धम् शरणम् गच्छामीको अन्तर्य, आफ्नै शरणमा जाने हो। जसमा सत्य छ, शील छ, करुणा छ, संयम छ र जो सतत् जागरुक अप्रमादी छ। त्यही मानिस बुद्धत्ववाला छ। र, सुख पनि यसैमा छ।

बुद्ध उपदेशको सङ्ग्रह धम्मपदको समग्र अध्ययन गर्दा बुद्धले व्यक्ति स्वयमलाई मुक्तिदाता मानेका छन्। निर्वाण पद प्राप्त गर्ने भनेको व्यक्ति स्वयमले हो। बुद्धत्व समाजमा वा संघमा पाइने भए शाक्य मुनि बुद्ध वन प्रस्थान गर्नुपर्ने पनि थिएन। ध्यान, समाधि र जागरुकता (अप्रमाद) एक्लै प्राप्त गर्ने कुरा हुन्। त्यसैले बुद्धले ‘अप्प दीपो भवः’ आफ्नो बत्ति आफै होऊ भने। तर एकबाट अर्कोले सिक्ने, सत्संग गर्ने, र जसले आफ्नै श्रमद्धारा ज्ञान प्राप्त गरेको छ। श्रमणत्व प्राप्त गरेको छ अर्थात् जीवन र जगतको तथ्य बुझेर तथागत बनेको छ। उनीहरूबाट सर्द्धमको देशना गर्नु कल्याणमय हुन्छ, सुखदायक हुन्छ। बुद्धले यो पनि भनेका छन्-’जुन व्यक्ति बुद्ध, धर्म तथा संघको शरण लिन जान्छ, जसले दुःखको उत्पत्ति, दुःख-निरोध, दुःख निरोध हुने अर्थ अष्टांगिक मार्गलाई प्रज्ञा दृष्टिले हेरेको छ, उस्ाको शरण नै रक्षादायक उत्तम शरण हो। यही शरण लिएर नै सबै तरहको दुःखबाट मुक्ति हुन्छ।’ बुद्धले दुःखबाट मुक्तिको कुरामा जोड दिएका छन्, उपाय पनि बताएका छन्। हामीले केही सानै अंश भए पनि बुद्धका उपदेशलाई आफ्नो जीवनचर्यामा अवलम्बन गर्न सक्यौं भने जीवन कल्याणमय हुनेछ।

सब्ब मंगलं भवतु !

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै