बाबुसाहेब, भालेचरा र छोकडा नाच समूह

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७२

‘नाहं बसामि बैकुण्ठे योगिनां हृदये न च

मदभक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद’

सङ्गीतको महत्त्व विशाल छ, अगम्य छ। त्यसैले विष्णु पुराणमा भगवान् विष्णुले आफ्ना अति प्रिय भक्त नारद मुनिलाई भन्नुभएको छ, ‘हे नारद म बैकुण्ठमा पनि बस्दिन, योगीहरूका मनमा पनि बस्दिन तर मेरा भक्तहरूले जहाँ गाउँछन्, जहाँ बजाउँछन् अर्थात् जुन ठाउँ सङ्गीतमय हुन्छ, त्यहीं नै म बस्दछु। यसबाट पनि सङ्गीतको महिमा अपरम्पार रहेछ भन्ने बुझिन्छ। सङ्गीतको प्रादुर्भाव आदिकालबाटै भएको मानिन्छ। मानिसको जन्मेदेखि मरणोपरान्तसम्म नै सङ्गीतले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। वैज्ञानिकहरूले समेत सङ्गीतको महत्त्व र महिमा बुझन र खोज्न थालेका छन्। गाई, भैसीको दुध दुहन लागेका बेलामा मधुर सङ्गीत बजाइदियौँ भने बढी दूध दिने, बिरामीलाई गीतहरू सुनाइ दिँदा उनीहरूमा रोगको असर कम हुने पाइएको छ। साथै, बोटविरुवाले समेत सङ्गीतमय वातावरण पाए भने राम्रोसँग फल दिने गरेको पाइएको छ।

त्यस्तै, मानिसका लागि हाँसो पनि एउटा ठूलो बरदान साबित भएको छ। स्टाफोर्ड मेडिकल युनिभर्सिटीका प्रसिद्ध डाक्टर विलियमका अनुसार हाँस्दा एपिनेप्रिmन, डोपामाइन जस्ता हर्माेनहरू उत्पन्न हुन्छन्। जोडसँग हाँस्दा शरीरमा एडेफिर्न नामक रसायन वृद्धि हुन्छ। यसले तनाव दूर गर्छ। साथै, यथोचित हाँस्ने गर्नाले र्सर्दी, जुका, दम, हृदयरोग, उच्च रक्तचाप, बेचैनी, सिरर्दर्द, पेटसम्बन्धी समस्याहरू, कमजोरी, रगतको कमी, काममा मन नलाग्नु जस्ता रोगमा लाभ हुने तथ्य पत्ता लागेको छ।

सङ्गीत स्रष्टाहरू, हास्य कलाकारहरू हाम्रा अमूल्य धरोहर हुन्। यसमा कुनै शंका छैन। त्यसैले यस लेखमार्फत् पोखराका अग्रज सङ्गीत स्रष्टा स्व. रामचन्द्र राणा- बाबुसाहेब), भालेचरा -स्व. गणेशलाल जोजिजू), उहाँहरूको समूह तथा छोकडा नाचबारेमा केही प्रकाश पार्ने कोसिस गरेको छु।

राणाको जन्म वि.सं. १९८० मा पाल्पाको तानसेन, सिलखानमा भएको थियो। उहाँका दुर्इ पत्नीहरू कान्ता राणा र नाम थाह नभएकी अर्की धर्मपत्नी हुनुहुन्थ्यो। दुर्इ छोराहरूमध्ये जेठा स्व. लवविक्रम राणा र कान्छा कुशविक्रम राणा हुनुहुन्छ भने चार छोरी शान्ति श्रेष्ठ, मिरा कार्की, उमा श्रेष्ठ र रमा शाही हुनुहुन्छ। उहाँका छ नाति, दुर्इ नातिनीहरू पनि छन्। उहाँका बाजे मे. कप्तान भूपेन्द्रविक्रम राणा पाल्पा तानसेनका सहायक कमाण्डर इन चिफ हुनुहुन्थ्यो। उहाँका गुरु भाक्सु भारतका प्रख्यात सङ्गीतकार मित्र सेन हुनुहुन्थ्यो, जसबाट उहाँले सङ्गीत शिक्षा प्राप्त गर्नुभएको थियो। उहाँका दाजु कर्णयल घनविक्रम राणा पोखरामा सैनिक अफिसर हुनुहुन्थ्यो। २०११ सालमा उहाँ पोखरा आउनु भएको थियो। घनविक्रम राणाको पोखरा, रानीपौवाको पुरानोधारा स्थित निवासको आडैमा ‘रामकटेरा’ बनाइ बस्नु भएको थियो। पोखरा आउनु भएपछि उहाँले राष्ट्रिय उच्च मावि, टुडिखेल तथा महेन्द्र निम्न मावि, लाहाचोकमा सङ्गीत शिक्षक भइ योगदान पुर्‍याउनु भएको थियो। उहाँको वि.सं. २०१८ मा स्वर्गारोहण भएको थियो। स्व. राणाले छोटो समयमा पोखराको सङ्गीत क्षेत्रमा पुर्‍याउनु भएको योगदान स्मरणीय छ। उहाँका केही गीत पनि थिए। नारायणप्रसाद कर्माचार्यज्यूले उपलब्ध गराउनु भएको उहाँको एउटा गीत यस्तो छ :

केटी    :      नजाऊ बिन्ती नानीको बा फर्की आ, फर्की आ।

केटा    :      पर्दैन भन्नु नानीको बा, घस्की जा घस्की जा

किन कचकच गर्छ झन्झन्।

केटा    :      आइमाई हुन्छन् एकदम बेकार

जिद्धी खोरे तिनको विचार मलाई थाहा छ

लोग्नलाई गर्ने तिरस्कार

दोस्तीलाई कैयौँ परिकार मलाई थाहा छ

पर्दैन भन्नु नानीको बा, घस्की जा, घस्की जा।

केटी    :      हाँस्नु, बोल्नु, बस्नु सारा सभ्यताको हो मर्यादा

साथीहरूको सत्कार गर्नु राम्रो मुखले हाँस्नु, बस्नु

तिमीलाई के भनूँ

नरिसाउ बिन्ती नानीको बा, फर्की आ, फर्की आ।

केटा    :      घरिघरि मिटिङमा जाने घरको कुरा सबै फिजाउने

लोग्नेलाई लम्फु पार्ने फ्रेन्डहरूसँग ग्रान्ड बन्ने

मलाई थाहा छ

रिसाय बरु खाँचो छैन। बरु जा घस्की जा, घस्की जा

केटी    :      कस्तो अबुझ बालक जस्तो, आफै नहुने कुरा गर्छ

मेरोमात्रै दोष देखाउँछौ, आफ्नु बानी कैले मिटाउँछौ

मैले के भनूँ

खोइ बुद्धि त्रि्रो गयो कता- फर्की आ, फर्की आ।

जोजिजुको जन्म वि.सं. १९७९ मा साँघुमुख, पोखरामा भएको हो र पछि रानीपौवामा उहाँको बसोबास थियो। उहाँका पिता स्व. सूर्यलाल जोजिजु तथा माता स्व. भीमकुमारी जोजिजु हुनुहुन्थ्यो। उहाँका स्व. डम्बरकुमारी तथा शोभालक्ष्मी गरी दुर्इ पत्नी हुनुहुन्थ्यो। उहाँका चार छोरी स्व. मिश्रीदेवी, स्व. ठूलनानी, शान्ति शर्मा, लक्ष्मी तथा तीन छोरा स्व. राधेश्याम, बद्रीलाल र हरेराम हुनुहुन्छ भने नातिनातिनी पनि प्रशस्त छन्। स्व. भालेचराले हास्य कलाकार भएर पुर्‍याउनु भएको योगदान चिरस्मणीय छ र रहनेछ।

भालेचरा हास्य कलाकार हुनुहुन्थ्यो। उहाँको अभिनय ज्यादै जीवन्त तथा हास्यप्रद हुने गर्थ्यो। छोटो कदका भालेचराको आगमन मञ्चमा हुँदा सबै खुसीले गदगद हुन्थे। उहाँ यस्ता पङ्क्ति गाउनु हुन्थ्योः

बस्ती मेरो काला पानी, घर हो मेरो पैंयू

शिक्षा पाए दार्जिलिङमा, सर्टिफिकेट कैयौ

आइमाइको सातो फाल्ने भालेचरा मै हु।

जसको श्रीमती काली छे, उसको श्रीमान्लाई गुमान छ

अगेनाको छेउमा लगि उभ्यायो भने हाडीको के काम छ

जसको श्रीमती कचकचे छ, उसको श्रीमान्लाई पनि गुमान छ पोखरीको

डिलमा लग्यो भने भ्याकुताको के काम छ –

यो गीतको टुक्रा उहाँकी छोरी लक्ष्मी जोजिजुबाट प्राप्त भएको हो। अरू धेरै गीत भए पनि लिखित नभएका कारण सम्झना नभएको उनी बताउँछिन्।

छोकडा नाच

२०१३ सालतिर पोखरामा सङ्गीतका साधन ज्यादै सीमित मात्रामा थिए। सङ्गीतको आनन्द लिने माध्यम कि त सीमित रेडियो थियो, कि गाइनेहरूले गाउने/बजाउने सारङ्गीका धुन थिए। तीजमा गाइने तीजका गीतहरू, भजन, चुट्का, रत्यौली, वालन नाच, नेवार समुदायबाट प्रस्तुत हुने गाइजात्रा नाच, धेरै वर्षको अन्तरालमा निकालिने भैरब नाच, रामायण, कृष्णलीला, बाघ जात्रा आदि नै साङ्गीतिक मनोरञ्जन गर्ने माध्यम थिए। आजको जस्तो टेलिभिजन, सिनेमा हल, नाटयशालाहरू थिएनन्। त्यस्तो समयमा पनि स्व. रामचन्द्र बाबु साहेब (राणा), भालेचरा (स्व. गणेशलाल जोजिजु), स्व. तीर्थ शेरचन, अरूण रन्जितकार (तोपबहादुर रञ्जितकार), नारायणप्रसाद कर्माचार्य, भीमलाल श्रेष्ठ, कर्णयल घनविक्रम राणा, भू.पू. इन्स्पेक्टर नरबहादुर शेरचन आदि युवाको प्रयासबाट वि.सं. २०१३ सालतिर पोखराको रानीपौवामा छोकडा नाचको गठन भएको थियो। त्यो नै पोखरेली लोक संस्कृतिको सशक्त संस्था थियो। त्यति बेलासम्म पोखरामा नाटयशाला, सङ्गीत प्रशिक्षणशाला आदि केही थिएनन्। कहिले कसैको आँगनमा साङ्गीतिक कार्यक्रम हुन्थे। संयोजनको काम नारायणप्रसाद कर्माचार्यले गर्नुहुन्थ्यो। भरखरै विवाह भएको हुनाले श्रीमतीकै नयाँ-नयाँ शृङ्गार, सामग्री, वस्त्राभूषण प्रयोग गरेर नाटकमा महिला कलाकारको शृङ्गारमा प्रयोग हुने गर्थ्यो। स्व. राणाले हास्यरस प्रधान गीत, कविता रचना पनि गर्नुहुन्थ्यो। उहाँका हास्यव्यङ्ग्य समसामयिक हुन्थे। छोकडा नाचमा भएका कलाकार र उनीहरूको कार्य विभाजन यस प्रकार रहेको थियो :

स्व. रामचन्द्र राण-बाबु साहेब): गीतकार, गायक, सङ्गीतकार निर्देशन आदि

भालेचरा (स्व. गणेशलाल जोजिजु) : हास्य अभिनेता

तीर्थ शेरचन : नामी राष्ट्रिय कलाकार। उहाँ पुरुष कलाकारको भूमिका निर्वाह गर्नुहुन्थ्यो।

अरूण रन्जितकार (तोपबहादुर रन्जितकार) : महिला कलाकारको भूमिका खेल्नुहुन्थ्यो।

नारायणप्रसाद कर्माचार्य : बेन्जु बादक हुनुहुन्थ्यो।

भीमलाल श्रेष्ठ : थाहा पाउन नसकिएको।

स्व. कर्णयल धनविक्रम राणा : भायोलिन बादक हुनुहुन्थ्यो।

भू.पू. इन्स्पेक्टर नरबहादुर शेरचन : तबला बादक हुनुहुन्थ्यो।

यसरी तयार भएको छोकडा नाच करिब चार महिना चलिरहृयो। नाचको अवधि करिब साढे तीन घण्टा जति हुन्थ्यो। सो नाच पहिलो पटक रानीपौवास्थित शोभा भगवतीमा प्रदर्शन गरिएको थियो। सुरुदेखि नै यस नाचले दर्शकको मन जित्न सफल रहृयो। अनि त के चाहियो र धेरै ठाउँबाट नाचको माग हुन थाल्यो। पोखरामा लहर नै चल्यो। नाच पोखराका साथै वरपरका ठाउँबाट पनि दर्शक नाच हेर्न आउन थाले। वाह ∕, वाह ∕ थपडी, धन्यवाद, स्यावासी निकै पाए कलाकारहरूले। सबैले नाचको मुक्त कण्ठले प्रशंसा गरे। सबैलाई पेट मिचीमिची हसाए कलाकारहरूले। उक्त नाचले निकै प्रसिद्धि पनि कमायो। सबै कलाकार एकसेएक सिपालु थिए। बाबुसाहेबले गीत रचना गर्नुका साथै नाचको निर्देशन, गायन, हार्माेनियम बजाउने गर्नुहुन्थ्यो। उहाँले गाउँदा सधैँ हाँसीहाँसी गाउनु हुन्थ्यो। दर्शकलाई मन्त्रमुग्ध बनाउने खुबी उहाँमा थियो। सुनिन्छ, उहाँले धेरै गीत, भजन, चुड्का समसामयिक समाज तथा राजनीतिलाई विषयवस्तु बनाएर रचना गर्नु भएको थियो। परिवारिक स्रोतका अनुसार ती कुनै पनि रचना प्रकाशन हुन पाएनन्। बरु केही व्यक्ति आएर प्रकाशन गरी दिन्छौ भनी लगेर आफ्नै नाममा प्रकाशन गरे। यस लेखकलाई उहाँका छोरा भूपू इन्स्पेक्टर कुशविक्रमले करिब दुर्इ दर्जन रचना उपलब्ध गराउनु भएको छ। अनुकूल मिलेमा पत्रपत्रिकामा ती रचना प्रकाशन गर्ने कोसिस गर्नेछु। कम उमेरमै स्र्वर्गवास भएका कारणले उहाँको प्रतिभा विशेषतः उहाँको सङ्गीत र गायन कलाले व्यापकता पाउन सकेन। उहाँका रचना पनि अप्रकाशित नै रहे। जुन ज्यादै दुःखको विषय बन्यो।

जे होस्, ती अग्रज सङ्गीत स्रष्टा स्व. रामचन्द्र बाबुसाहेब, हास्य अभिनेता भालेचरा, स्व. गणेशलाल जोजिजु साथै छोकडा नाचका अन्य कलाकार तथा वाद्यवादक समूहले ठूलो गुन पोखरेलीलाई लगाएका छन्। जुन तिरिनसक्नु छ। पोखरेलीले चिरकालसम्म उहाँहरूलाई उच्च सम्मानका साथ सम्झिरहने छन्।

यो आलेख तयार पार्न नारायणप्रसाद कर्माचार्य, लक्ष्मी जोजिजू, भूपू इन्स्पेक्टर नरबहादुर शेरचन तथा भूपू इन्स्पेक्टर कुशविक्रम राणाले आवश्यक जानकारी प्राप्त गर्न सहयोग पुर्‍याउनु भएकोमा उहाँहरूप्रति धन्यवाद तथा आभार प्रकट गर्दछु। भाषा सम्पादनमा सहयोग पुर्‍याउनुहुने पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद अधिकारीप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्दछु।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै