पृथ्वीनारायण शाह र उनका उपदेशहरू

आदर्श समाज सम्वाददाता
पौष २७, २०७०

चीनमा एउटा भनाई छ – ‘तिमीले जुन पोखरीको पानी खान्छौं त्यसको निर्मातालाई सम्झने पनि गर।’ आधुनिक चीनका महाननेता तथा एक मार्क्सवादी दार्शनिक माओले आफ्ना धेरै साहित्यहरूमा यस भनाईलाई महत्त्वका साथ उल्लेख गरेको पाइन्छ। उक्त सरल भनाईमा एउटा गहिरो अन्तरदृष्टि के रहेको छ भने हाम्रा पुर्खाका पौरखका उपलब्धीहरू हामीले उपभोग गर्दा ती पौरखी पूर्वजप्रति आदरभाव राख्ने वा सम्मान गर्ने कार्यबाट हामीहरू विमुख हुनुहुँदैन। कृतज्ञता मानवमात्रको नैसर्गिक गुण र स्वभाव हुनुपर्छ भन्ने कुरा पनि उक्त चिनियाँ लोक कथनको निहितार्थ हो।

दुःखको कुरा के छ भने नेपाली समाज र समग्र राज्य व्यवस्थाको वर्तमान स्वभाव र व्यवहार कृत छन्। हुँदै गएको छ, बैगुनी चरित्र प्रकट भएको छ। खास गरेर आधुनिक नेपाल निर्माणका महानायक पृथ्वीनारायण शाहप्रति केही वर्षयता हाम्रो राज्य र समाजले देखाएको उपेक्षा एउटा ज्वलन्त उदाहरण हो।- नेपाली कृतध्नताको।

सत्ताइस पौषको सर्न्दर्भमा प्रत्येक नेपालीले आफ्नो मुटुमा हात राखेर सोच्नुपर्छ-त्यस कठिन समयमा पृथ्वीनारायण शाह र उनका सहयोद्धाले नेपालको एकीकरणको अभियान थालनी गरेर यस क्षेत्रका समग्र पहाडी एवं मैदानी क्षेत्रका स-साना राज्यहरूलाई एक सुत्रमा ल्याई एकीकरण गरी केन्द्रीय राजसत्ता समेतको एक सार्वभौमसत्ता सम्पन्न विशाल नेपाल राष्ट्रको निर्माण नगरेको भए हामीले एक स्वाभिमानी नेपाली हुनुको गौरव गर्न सक्ने थियौं र ? अनि के बुद्ध जन्मेको लुम्बिनी, जनक सीता जन्मेको मिथिला र विश्वको ताज सगरमाथाको देशको नागरिक हुनुको गौरव गर्न पनि पाउने थियौं त ? यी सबै अङ्ग्रेज साम्राज्यवादको कब्जाभित्र पुगिसकेका हुन्थे। र स्वतन्त्र भएपछिको भारतका नेहरूलगायतका शासकले हिमालय श्रृंखला भारतको रक्षाकिल्ला’ भन्ने दाबीको हामीले विरोध गर्नै पर्ने थिएन। यो सारा उनीहरूकै भएका हुनेथिए। एकीकरण अगाडि नै तराइका केही भू-भाग त अंग्रेजले कब्जा गरिसकेका हुने थिए। पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाली सेनाले पछि अंग्रेजलाई लखेटेको हो। अतः राष्ट्र निर्माता पृथ्वीनारायणका यी महान् योगदानको कम मूल्याड्ढन गर्नु वा उनीप्रति आदरभाव प्रकट गर्ने कुरामा कन्जुस्याई गर्नु वा पृथ्वीनारायणको व्यक्तित्वलाई झुठा एवं कपोलकल्पित लान्छना लगाई आफ्नो व्यक्तित्व उँचो हुन्छ भनेर सोच्नु कृतज्ञताको पराकाष्ठा त हुँदै हो नेपाली राष्ट्रवाद र राष्ट्रियताको मूल मर्ममा बञ्चरो हान्नु पनि हो।

हो, नेपालको एकीकरण एक्ला पृथ्वीनारायणले मात्र गरेका होइनन्। यस महत्त्व कार्यमा कालु पाण्डेदेखि विशे नगर्चीसम्मको सहयोग उनलाई रहेको छ। तर यी सबैका महानायक पृथ्वीनारायण थिए भन्ने कुरा बिर्सनु हुँदैन र उनको सम्मान हुने भनेको कालुपाण्डेदेखि विशे नगर्चीसम्मका तत्कालीन वीर योद्धा र बुज्रुक देशभक्तहरूको सम्मान पनि हो भन्ने कुरा पनि सत्ताइस पौषको सर्न्दर्भमा हामीले बुझ्नु पर्दछ।

पृथ्वीनारायणको पारिवारिक सर्न्दर्भ, नेपाल एकीकरणमा उनले निकालेको जुक्ति, उनका मुख्य सहयोगीहरू र यस अभियानका दौरानमा पाए भोगेका दुःख हण्डरका सम्बन्धमा बुझ्न दिव्य उपदेशका रूपमा प्रकाशित दस्तावेज भन्दा अर्को इतिहासको सामाग्री यर्थाथ परक र आधिकारिक हुन सक्दैन। यसमा पृथ्वीनारायणले नेपाल राष्ट्रले लिनुपर्ने सामाजिक, वैदेशिक, आर्थिक-सामाजिक एवं सु-शासनका सम्बन्धमा प्रष्ट मार्ग चित्र समेत प्रस्तुत गरेका छन्। यो उनको आत्मवृत्तान्तको दस्तावेज पनि हो।

यो ‘उपदेश’ नाम दिइएको ऐतिहासिक दस्तावेजमा व्यक्त भएका कुरा पृथ्वीनारायणले कस्तो समय-परिस्थितिमा व्यक्त गरेका थिए भन्ने कुरा बुझनुले पनि महत्त्व राख्दछ।

नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो। पृथ्वीनारायण सानैदेखि फूर्तिला, निकै तेजिला तथा प्रतिभाशाली र खाइलाग्दा एवं हृष्टपुष्ट थिए भन्ने पनि इतिहास शिरोमणि बाबुराम आचार्यले उनको जीवनीमा लेखेका छन्। यिनको यशस्वी व्यक्तित्वको स-विस्तार वर्णन गर्ने आचार्य नै पहिलो नेपाली हुन्। बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका छन्। राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि। यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए। यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइनदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। काठमाडौं उपत्यका विजयी गरी काठमाडौंमा राजधानी सार्ने काम त पहिले नै भइसकेको थियो। यी काम सम्पन्न हुँदासम्म कालुपाँडेलगायत उनका विश्वासी एवं बहादुर सेनानायकहरू युद्धमा मारिएका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए भन्ने घटना पनि यस प्रस·मा स्मरणीय छ। पृथ्वीनारायणका भाइहरू विजित केही राज्यको शासनाधिकार आफूहरूलाई दिएन भनेर उनीसँग पूर्णतः रुष्ट भई बागी बनेका थिए। दलमर्दन शाह आफै ललितपुरको राजा बन्न चाहन्थे। कान्छा भाइ सुरप्रताप भक्तपुरको अधिकार नपाएको रिसमा शत्रुसँग मिल्न गएका थिए। राजा यक्ष मल्ल र मुकुन्द सेन (प्रथम) ले भाइ छोराहरूलाई देशबण्डा गर्दाको ऐतिहासिक गल्तीबाट पाठ सिकेका दूरदर्शी पृथ्वीनारायण देश टुक्र्याउने कुरामा सहमत हुने प्रश्न नै थिएन। यसबेलाको उनको मनस्थिति राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो ‘राष्ट्रनिर्माता’ लघु काव्यमा बडो मर्मस्पर्शी काव्यात्मक शैलीमा प्रस्तुत गर्नु भएको छ। यी सबै कुराले उनको शरीर जरा-जीर्ण बन्दै गयो। रोगले पनि आक्रान्त बनेका उनी आफ्नो अन्तरिम राजधानी नुवाकोटमा गए। अब आफ्नो जीवनको इहलिला समाप्त हुँदैछ भन्ने बुझेर त्यहाँ उपलब्ध सबै भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुरा नै दिव्य उपदेश हुन्। यो उपदेश नुवाकोट देवघाट नजिक पृथ्वीनारायणले मौखिक बताउने र उपस्थित कोही कसैले लिपिबद्ध गरेका हुन्। पृथ्वीनारायणका यी वचन कति सत्ययुक्त एवं महत्त्वपूर्ण छन् भन्ने सम्बन्धमा इतिहासकार नयराज पन्तका यी शब्दहरू पर्याप्त छन्- हाम्रो देशमा इतिहासको पठन-पाठन गर्ने रीति छैन। श्री ५ पृथ्वीनारायण शाह बाहेक आजसम्म नेपालको कुनै व्यक्तिले पनि शुद्ध इतिहास बताउने चेष्टा गरेको मलाई थाहा छैन। (नयनराज पन्तको दृष्टिमा श्री ३ ज·बहादुर राणा, पृष्ठ ५१, प्रकाशक ज्ञानगुन साहित्य प्रतिष्ठान)।

पृथ्वीनारायणले आफ्नो जीवनको अन्तिम समयमा आफ्ना भाइ भारदारहरूलाई दिएको यो अर्ति उपदेश कसले लिपिबद्ध गरेको भन्ने प्रष्ट एकीन नभए पनि उनका एक प्रिय सेनापति ‘बरब्शी’ अभिमानसिंह बस्नेतले पनि सारेर राखेका रहेछन्। यिनैका वंशधर श्री बखतमान सिंह बस्नेतको सौजन्यबाट इतिहास शिरोमणि बाबुराम आचार्यले प्राप्त गरी बाबुराम आचार्य र योगी नरहरिनाथको अथक प्रयासबाट पहिलो पटक छापिएको हो। (श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश, सम्पादक ऐ.शि. बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादकीयबाट) यसै ‘दिव्योपदेश’ लाई परिस्कृत एवं प्रकाशकका हैसियतले बाबुराम आचार्यका सुपुत्र, स्वनामधन्य विद्वान श्री प्रा.श्रीकृष्ण आचार्यका यी भनाई – ‘प्रत्येक वर्ष पौष महिनाको २७ गतेका दिन यिनको (पृ.ना.कोले.) जन्म जयन्ती मनाउने उद्देश्यका साथ वि.सं. २००९ मा ‘पृथ्वी जयन्ती समारोह समिति’ नामक एउटा सामाजिक संस्थाको गठन पनि सम्भव हुन आयो। राजधानी काठमाडौंमा कार्यरत रहेका त्यतिबेलाका प्रायः सबै जसो लब्धप्रतिष्ठित व्यक्ति, लेखक तथा साहित्यकारहरू पनि ‘समारोह समिति’ मा सदस्यको रूपमा सहभागी हुनुभएको थियो। ‘उक्त पुस्तक, पृष्ठ ञ)। यो जन्मजयन्ती समारोह समिति बाबुराम आचार्य र योगी नरहरिज्यूकै सक्रियतामा गठन भएको थियो। दिव्य उपदेशको प्रकाशनपछि यसरी पृथ्वीजयन्ती जनस्तरबाट मनाउन शुरु भएको हो। राज्य र सरकारले उपेक्षा गरे पनि जनताको तहबाट पृथ्वी जयन्ती मनाउन सकिन्छ र मनाउने गरिनु पनि पर्छ।

यो पङ्ितकारको विचारमा जस्तो श्रीकृष्ण-अर्जुन संवादको ‘गीता’ वा भगवान बुद्ध र भिक्षुहरूको संवादको ‘धम्मपद’ वा सन्त कविरको ‘दोहा’ कालातीत छ, सधैं नीतनुतन लाग्छ हामी नेपालीहरूका लागि पृथ्वीनारायण शाहका दिव्य उपदेश सधैं सजीव मार्ग दर्शन गर्ने एवं कालातीत पनि छन्। पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरौं। ‘दिव्यउपदेश’ को अध्ययन, मनन गरौं र यसमा अनुशीलन गर्ने प्रयास पनि गरौं। अस्तु।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग