पुरेत र यूरोप्रेतको फन्दाबाट देशलाई मुक्त गराउने मार्ग

आदर्श समाज सम्वाददाता
पौष १५, २०७०

जनता बिना राज्य हुदैन, आस्ता बिनाका जनता पनि हुँदैनन्। तर पनि राज्यको धर्म हुदैन, राज्य त सबै धर्म र आस्थाको साझा चौतारी हुन्छ, सहअस्तित्व र सहकार्य संस्कृतिको रक्षा नै राज्यको धर्म हुन्छ अध्यात्म राज्य राजनीति भन्दा धेरै माथि उठेको हुनुपर्छ, संसारी मोहको घेरा तोडेको हुनुपर्छ, निर्विवाद र निर्विकल्प हुनुपर्छ। यावत जीवनको अस्तित्वलाई अबोध बालक जस्तै पशुबोध गरेर रक्षा र क्षमा गर्ने अध्यात्मले राज्यको घेरालाई मान्यता दिदैन, राज्यको कुनै कुनामा सिमित सास्कृतिक विविधताको डोरीमा अल्झिएर बस्दैन। यति हुँदापनि अध्यात्म, राजनीति र अर्थनीति भन्दा अलग हुन सक्दैन। किनभने अध्यात्म, राजनीति वा अर्थनीति जे संज्ञा दिए पनि सबैको लक्ष्य सर्वजन हितायको सिद्धान्तमा जनता माथि नै केन्द्रित हुन्छ र जनताले नै तिनको स्तर निर्धारण गरेका हुन्छन्। संसारी विष भनेर जति नै आदर्शको कुरा गरे पनि अध्यात्मलाई सम्पन्नता वा विपन्नताले प्रत्यक्ष असर गरेको हुन्छ। अति सम्पन्नता र अति विपन्नता दुवै अवस्था अध्यात्म साधनामा बाधक हुन्छन्। त्यसैले सबै धर्मका शास्त्रहरूले अर्थ र राजनीतिलाई कुनै न कुनै तवरले सम्वोधन गरेका हुन्छन्।

अध्यात्म विशुद्ध हुन्छ तर राजनीति र अर्थनीतिको सामिप्यताको कारणले गर्दा अध्यात्मका अगुवाहरू अपरिपक्व भएको अवस्थामा अध्यात्म संक्रमित भएर राजनीतिको उपकरण हुने जोखिम पनि उत्तिकै हुन्छ। हिन्दूस्तानमा मुगल तथा अङ्ग्रेज साम्राज्य बिस्तार हुँदा होस् वा नेपालको राष्ट्रिय एकीकरणको दौरानमा उत्पन्न सामाजिक घाउमा मलमपट्टी लगाउदा होस् राजनीतिले अध्यात्मलाई धेरै पटक उपयोग गरेको इतिहास साची छ। राष्ट्रिय सहअस्तित्व र सहकार्यलाई टुटाएर वा जुटाएर जे गरेर होस राजनीतिक लाभ लिनु राजनेताको धर्म हो। टुट्नु र फुट्नु दृष्टिको फरक मात्र हो, कसैको टुर्टाई अरूकसैको दृष्टिमा जुटाइको मान्यता राख्न सक्छ। नेपालमा पनि अध्यात्मको टुर्टाई फुर्टाई उपयोग राजनीतिमा धेरै पटक धेरैले गरेकाछन्। राज्य बिस्तार वा साम्राज्य बिस्तारको क्रममा यो उपकरण क्रान्ति गर्न र प्रतिक्रान्तिबाट रक्षा गर्न दुवै चरणमा प्रयोग भएका थिए। राष्ट्रिय एकीकरणको दौरान राज्यका संरचना क्षेदन गर्न र राज्यसुखबाट च्यूत भएका भुरे टाकुरे राजघरानाले प्रतिक्रान्ति गर्नबाट बचाउने अध्यात्म हालका दिनमा पहिचान र आत्मनिर्णयको अधिकार जस्तो सस्तो नाराको बिक्री वितरण गर्ने उपकरणको रूपमा उपयोग भएको उदाहरण आज पनि हाम्रो सामु विद्यमान छ।

मंगोलियाको भेडीगोठ सार्दै हिमालवारी आएको सन्तहरू र सरास्वती नदीको गोलोक यात्रा पछि विरक्त भएर सिन्धुघाँटीबाट कमण्डलु लिएर आएका सन्तहरूले बनाएको नेपाल नामको बँगैचामा सबै जनता एक हिसाबले आप्रवासी नै हुन्। भिन्न-भिन्न उद्देश्यले नेपाल पसेका दुवै वर्गको आहार व्यवहार पनि भिन्न थियो तर पनि दुवैको एकमत प्रकृतिको पूजा गर्ने थियो। त्यसैले दुवै समुदाय मिलेर साझा बगैचा बनाए। यो बगैचामा रस चुस्ने रहर मुगल बादशाहबाट तिरस्कृत सन्त तथा आर्थिक साम्राज्य निर्माणमा लालयित अङ्ग्रेज सन्तहरूलाई पनि हुनु स्वभाविक नै थियो। ती सबै सन्तलाई आ-आफ्नो भाषा संस्कृतिको विस्तार गरेर समाजमा स्थापित हुनु आवश्यक थियो तर नेपालको माटोले मुगल सन्तलाई खानबाट शाह बनाएर होस् वा वल्रि्रथा चलाएर होस् सहअस्तित्वको नया धर्मसंस्कृति अवलम्वन गर्न बाध्य बनाइदियो। सहअस्तित्व संस्कृतिको यो प्रकृयामा अङ्ग्रेजसन्तहरूको प्रयासले समेत भताभुङ्ग पार्न सकेन र म्याक्समूलर जस्ता दिग्गजहरूलाई उल्टै सहअस्तित्व संस्कृतिको अनुयायी बनाउन प्रेरणा दिएकोले अङ्ग्रेजसन्तहरूबीच नेपाली धर्मसंस्कृति उपर जिज्ञासा हुनु स्वभाविकै थियो। तर अङ्ग्रेज सन्तहरूलाई सत्यको बोध गराउन सक्षम हाम्रो संस्कृतिले आफ्नै परिवार भित्रका धर्मछाडाहरूको मन भने परिवर्तन गर्न सकेन। तीनधारा पाठशालाको सिधा खाएर हुकेका भाषाका जैसीहरू समेत धर्मछाडाहरूको विखण्डन उद्यमका निमित्त दिलोज्यानले लागे, काठमाडौंमा घर बनाउने र चुनावि खर्च जुटाउने सहज मार्गको रूपमा विखण्डनवादीहरूको सिधा खान पुगे। धार्मिक सहिष्णुताको उदाहरण बनेको नेपालको झण्डा र पात्रो समेत बदल्ने उद्यममा उद्यत् विखण्डनवादीहरूको मतियार धर्मछाडाहरू नै भए।

ब्रह्माण्डिय सहअस्तित्व संस्कृति निर्माणको सामर्थता राख्ने नेपालको माटो, जल तथा अन्नले जस्तोसुकै अवस्थामा पनि सहकार्यको बाटो निकाल्न सक्छ। किनभने नेपालले अवलम्बन गरेको धर्म प्रकृति सँगको प्रेम हो, प्रकृतिको पूजा गर्दा अनिष्ट हुनै सक्दैन, समय अन्तरालमा मध्यमार्गबाट अगाडि बढिहाल्छ। धर्मछाडा राजनेताको कमजोरीको फाइदा उठाउदै विखण्डनवादीहरूले मल्लवंशी शासनकाल भन्दा अगाडीको अवस्थामा लान खोज्दैमा घडीको सुर्इ उल्टो घुम्दैन, नेपाली जनताले राजा नै परिवर्तन गर्ने सामर्थता राख्छन् भने राजनेता त चुट्कीभरमा परिवर्तन गरिदिन्छन्। २०६० को दशकमा नेपालीले राजा देखि रैतीसम्म तह लगाउन देखाएको सुझबुझलाई सामान्य गणितीय हिसाबले विश्लेषण गर्नेले जे जस्तो भाषामा बुझे पनि नेपालीको अभिमत राजनेताले जनताको चाहना अनुसार नचल्ने हो भने खजे दुराले कोखिलामा बच्चा बोकेर राजा स्थापना गरे जस्तै गर्न पनि बेर लगाउँदैनन् भन्ने हो। यस दशकको राजनीतिक उतार चढावलाई अध्यात्मिक विश्लेषण गर्ने हो भने हालैको निर्वाचनमा अभिमत प्राप्त दलहरू जनताको परीक्षामा उत्तीर्ण भएको होइनन्, एक पटक अनुत्तीर्ण भए तापनि एक दुर्इ विषयमा मात्र अनुत्तीर्ण भएकोले मौका परीक्षामा सामेल गराइएको मात्र हो। दलहरूको विगतमा देखाएको वचपना नियत हो वा परिस्थितिजन्य बाध्यतामा जनताको आस्थामा खेलवाड गरिएको हो ?मौका परीक्षामा स्पष्ट गर्नुपर्ने हुन्छ। मौका परीक्षामा उत्तीर्ण दलहरू मात्र जनताको दलमा परिणत हुनेछन्। त्यसैले अहिलेको जीतलाई जनमर्थनको भ्रम नपाल्न राजनेताहरूलाई विनम्र अनुरोध गर्दछौं।

बौद्धमतालम्बीहरूको जगजगीको बेला कृष्ण अजुर्वेदीय कर्मकाण्डको सहारामा केही समय कुरेर ज्ञानको चुचुरोमा पुग्न तय गरिएको मार्गलाई भक्तहरूले अपण गरेको अक्षतामा समेत चुकानी झिक्ने पुरेतले परम्परालाई धेरै लामो अवधि धान्न सक्दैनन्। गाँस र बासको निमित्त भगवान् तिर र्फके जस्तो गरेर भक्तजनको पूजा गर्ने स्वभावले अन्ततः पुरेतलाई राजनीतिको गुलाम बनाइछाडछ। अक्षताबाट जीवन निर्वाह गर्न पल्केका उप्रेतहरू सुदामामार्गी भक्तबाट कनिका पनि थोरै प्राप्त हुन्छ भनेपछि कंशको दरवारमा याचना गर्न जान्छन्। कंशले पनि नपत्याएका उप्रेतहरू यवनहरूको दरवारमा युरोको याचना गरेर कंशको जरो खन्न थाल्दछन्। विखण्डनको राजनीति गर्नेले त्यस्तै युरोप्रेतलाई प्रयोग गरेर अध्यात्मिक राजनीति गर्छन्। कुनै पण्डितले शास्त्रको प्रयोग गरेर समाज परिवर्तन गर्न खोजेमा पण्डित नारायण पोखरेललाई रूपन्देहीको सालझण्डीमा गरेको व्यवहार गरेर काँडा पन्छाउने प्रयास गर्छन्।

अहिलेको जनताको अभिमत अक्षतामा चुकानी झिक्ने पुरेत तथा युरोप्रेतलाई प्रयोग गरेर भ्रमको राजनीतिक लाभ लिनेको पक्षमा कीमार्थ होइन। नेपालीले पुरेत तथा युरोप्रेतको राजनीतिक खेल स्पष्ट बुझेका छन्। उनीहरूलाई अध्यात्मिक सहिष्णुताउपर हुने राजनीतिक खेलवाड पटक्कै मन पर्दैन। नेपालीको बुझाइमा अध्यात्मिकताको अर्थ हिन्दूसँग मात्र सम्बन्धित हुँदैन। जुन धर्म सम्प्रदायको भए पनि स्वधर्ममा इमान्दार भएकालाई उच्च सम्मान गर्ने नेपालीलाई हिन्दू, बौद्ध, जैन, शिख, मुसलमान वा इशाई वर्गमा अध्यात्मको रेखा कोरेको मन पर्दैन। त्यसकारण यो दशकको जनमत राजनेताले अध्यात्मलाई आफू अनुकूल व्याख्या गर्दै जनताको मौनतालाई आफू उपरको समर्थन भनेर भ्रमको खेती गरेको मन नपरेको अभिव्यक्ति मात्र हो। पुरेत र युरोप्रेतको उपरको समर्थन पक्कै होइन।

नेपालमा प्रदुसित अक्षता भक्षण गर्ने रोग कनिकामार्गी पुरेतहरूलाई भन्दा भुरेटाकुरे राजालाई जाँड खुवाएर आफूले सिधा खाएका उप्रेतका सन्तानलाई धेरै लागेको छ। यवनहरूले विकासको आवरणमा प्रवेश गरेको क्षेत्रमा त्यस्ता उप्रेतसँग समागम भएपछि उनीहरू युरोप्रेतमा बढुवा भएका हुन्। विकासे राजनीतिको खोलमा नेपालीको विपन्नता विदेशको चर्चहरूमा अतिरञ्जित तवरले प्रस्तुत गरेर उठाइएको दशांस तथा केही इसाइहरूको अपुताली खान पल्किएपछि उनीहरूमा राजनीतिको ख्वाव पनि बढ्दै गयो। यस कार्यमा भाषा र कलममा दखल भए पनि इमान्दारी नभएका केही धर्मछाडा कलमजीवी, लेखापरीक्षक तथा जनप्रतिनिधिले समेत सहयोग गरेका छन्। सुकिलो लुगा र र्टाईसुट वा गेरूबस्त्र तथा त्रिपुटमा ठाँटिन रमाउने धर्म छाडा भाइरससँग प्रजा र राजा दुवैलाई रोगी बनाउने क्षमता भएकोले नेपाली जनता अब अतिवादी पुरेत तथा युरोप्रेतलाई उनीहरूको वास्तविक धरातलमा सीमित राख्न सक्रिय हुनुपर्छ।

आर्थिक साम्राज्य निर्माणको निमित्त अध्यात्मलाई हतियार बनाउनु त्यति खराव होइन जति अरूको स्थापित धर्म संस्कृतिको जह्रो खनेर आफ्ना कमजोरी लुकाउँदै धमिलो पानीमा माछा मार्ने नीति खराब हुन्छ। गरिवमुखी विकास ऋण वा अनुदानको नाममा बौद्धिक ठेकेदारी गर्दै आएका सुकिला मुकिलाले त्यस्तै नीति लिएर  गाउँको फोटो खिचेर युरोपतिर भ्रमण गरेका छन्। गाउँका भट्टीमा रमाउने तर मेहनत र पसिनासँग डराउनेलाई रङ्ग रसको व्यवस्था गरेर गरिबी निवारण जस्तो परियोजना कार्यान्वयन गर्दा पनि ठेक्का लेवी चढाउने संस्कृति बढाएका छन्। लिन भन्दा दिन निको मान्ने नेपालीको स्वाभिमानलाई युरोपको कुना कुनामा बेचेर अपारदर्शी मार्गबाट रकम झिकाउँदै लेखापरीक्षण तथा करको दायरा छलेर कमाउ धन्दामा लागेका छन्। चिकित्सालय र शिक्षालयबाट सुरु गरिएको धमिलो पानीमा माछा मार्ने उद्यमको बल्छी सुशासन र नीतिगत अनुसन्धानको मार्ग हुँदै लेखापरीक्षणको क्षेत्रमा पनि फैलिएको छ। दाता निकायमार्फत चर्चसँग मोलतोल गर्ने व्यवसायमा अर्थविज्ञहरू नै क्रियाशील भएका छन्।

उपरोक्त विसङ्गतिहरू रोक्ने कार्य अध्यात्म गुरूहरूको हो तर गरिव जनताले चढाएको अक्षता मै चुकानी झिक्न लँगोटी कसेर, खरानि धसेर, बस्त्र पहिरिएर लागेका गुरूबाट त्यस्तो महान लक्ष्य साध्ने क्षमता हुँदो रहेनछ। धर्मशास्त्रको खोलमा लुकाइएको पेस्तोलले पण्डा जन्माउन सक्दोरहेछ तर पण्डालाई पण्डित बनाउन सक्दैन रहेछ। त्यसैले दिगो शान्तिको निमित्त सर्वप्रथम पुरेत र युरोप्रेतको नियन्त्रण आवश्यक छ। दुवै प्रकारका भाइरसको जनसंख्या प्रचुर मात्रामा बढेको राज्यले लिने धर्म सापेक्षता वा निरपेक्षताको नीतिले यसको नियन्त्रण गर्न सक्दैन। वाशुदेव सर्वम् चक्षुधारी जनताले पुरेत र युरोप्रेतमा भेद देख्दैनन् वा अक्षतामा भएको तछाडमछाडको दौडमा भाग लिन मन गर्दैनन्। जनता जनार्दन भएको भूमीमा पुरेत र युरोप्रेत कसैको केही लाग्दैन  जनताको बीचबाट पण्डित, पादरी, मुल्लाह, लामा, गुरूको उदय भएपछि पुरेत र युरोप्रेत दुवैको अस्तित्व लोप हुन्छ। त्यसैले राज्यले धार्मिक सापेक्षता वा निरपेक्षताको भ्रममा अल्झिनु भन्दा धार्मिक स्वतन्त्रता र सहिष्णुतामा ध्यान दिएर धर्मको नाममा नेपालीको महानतालाई विदेशको गल्लिगल्लिमा हुने लिलामी प्रक्रिया रोक्नुपर्छ। जुनधर्म अँगाले पनि  आखिर नेपाली नै हुन्। राज्यको अपेक्षा जुनसुकै धर्मका भए पनि उत्कृष्ट साधक बनुन् भन्ने हुनुपर्छ। त्यसैले राज्य धर्मको विभाजन रेखा मेट्टाएर अध्यात्मको वातावरण बनाउदै अनेकतामा एकता बनाउने लक्ष्यका साथ बढनु पर्छ। विश्वका अध्यात्मिक साधकहरूको गन्तव्य नेपाल बनोस्, अध्यात्मिक पर्यटनमा नेपालीले मेवा सहितको सेवा गर्न पाउन् र विश्वमा कहलिएका धर्मगुरूले नेपालीको उदाहरण दिदै अध्यात्मको प्रचार गरून्। राज्य व्यवस्था र प्रजा सच्चा अध्यात्मिक भएमा विचौलिया पुरेत र युरोप्रेतको अस्तित्व आफैँ समाप्त भएर जान्छ , जनता जनता बीच वैमनस्यता खडा गरेर धमिलो पानीमा माछा मार्ने काम नै हुँदैन र दिगो शान्तिको मार्ग फराकिलो हुन्छ।

इतिहासमा धेरै राजाहरू विस्थापित भएकाछन्। शास्त्रका कथामा सन्तसमुहले नै नालायक राजालाई पदच्यूत गरेर वशांणु शुद्धिकरण प्रकृयाबाट पृथु जस्ता राजा जन्माएका छन्। राजाको कुरा गर्दैमा पुनरागमन र राजा विरूद्ध बोल्दैमा अग्रगमन हुँदैन। शाह, सेन, मल्ल, देव आदी राजाहरू त पूनस्थापन हुन सक्दैनन् भने भुरेटाकुरे राजवंशको पहिचान र स्वाभिमानको पक्षमा वकालत गर्नु अग्रगमन हुन सक्दैन। लिगलिगकोटे राजगुरूले चाहदैमा सिर्सकोटे राजा बहुराउँदैनन्। त्रि्रामा घिउ दलेर दौडनेलाई राजा बनाएर जाँडमा भुलाउने अनि आफु नेपथ्यको राजा हुने तरिका समय सापेक्ष हुँदैन। राजा छान्ने तरिका निर्धारण गर्ने अधिकार प्रजाको हो, बन्दुक र सन्दुकले समयमा प्रभाव त गर्न सक्ला निर्क्यौल गर्न सक्दैन। त्यसैले जात, वर्णय वर्गको नाममा धुर्त्याइपूर्वक गरिएको अत्रि्रतिगमनको पक्षपाति युरोप्रेत लाई जनताले किनारा लगाइदिएका हुन्। जुनसुकै धर्म सम्प्रदायका भएपनि वैदिक साम्यवाद वा अध्यात्मिक पूँजीवादका हिमायतीलाई जनताले लत्याउँदैनन्।

धर्म र जातको वर्गीकरण गर्दै लिगलिगकोटे पद्धतिमा संघियता र शासकीय स्वरूपलाई मुछने प्रयास गर्दा पहिलो संविधानसभाले जनताको संविधान दिन सकेन। दोश्रो संविधानसभाले उक्त वर्गीकरणको भाइरस जगैदेखी नासेर धार्मिक एवं भाषिक एकतामा सुत्रवद्ध गर्न कठिन त होला तर असम्भव हुँदैन। मूल्यशृंखलाकेा आधार लिएर लक्षित वर्गलाई समावेसी व्यापार साङ्लोको कडी बनाउँदै अध्यात्मिक पर्यटनमा सहभागी गराउँदा धर्म र जातको विभेद हट्दै एउटै आवाजमा नेपाली भूमीको गुणगान गाउन सकिन्छ। उत्तर र दक्षिणको आर्थिक विकासबाट लाभ लिने र लाभको प्रत्याभूति लक्षित वर्गसम्म लग्ने सहज मार्ग अध्यात्मिक पर्यटन भएकोले रचनात्मक सुरुवातको निमित्त ढिलो गर्नु हुदैन। हिमाली टाकुरालाई मूर्ति र हिमनदीलाई मन्दिर बनाउने प्रयास गरेमा यो सम्भव हुन्छ। नेपाली काँग्रेसको घोषणापत्र दफा ५.५ हरफ ६ अनुसार धार्मिक स्थल पूर्वाधार विकास प्राधिकरणको तुरून्तै स्थापना गरेर सरकारी सक्रियता बढाउन सकियो भने पुरेत र युरोप्रेतले धर्म र जातको नाममा खण्डन र विखण्डनको राजनीति गर्ने अवसर पाउँदैनन्।

कैलाशबाट बग्ने कर्णालीलाई गङ्गामन्दिर, शाल्रि्राम गर्भ राख्ने कालीलाई कृष्णामन्दिर र कोशीलाई बराहमन्दिर बनाउने संकल्पका साथ प्राधिकरण सक्रिय भएमा पुरेत र युरोप्रेतको फन्दाबाट देशलाई मूक्ति दिन सकिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग