परिवर्तनको प्रवाहमा ‘म ढुङ्गो कसरी बनूँ’

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७०

दर्शन, विचार र यथार्थलाई मोहरूपी मसीले रङ्गरोगन गर्दै साहित्यिक सिर्जनामा आफ्नो मनस्थितिलाई हदरम क्रियाशील राख्नसक्ने व्यक्तिहरू विरलै पाइन्छन् । यसैले युगानुकूल देखापर्ने तथाकथित साहित्यकारहरूलाई चिन्ने र चिनाउँदै जाने काम अन्य सचेत पाठकहरूले गर्दै जानुपर्दछ । साहित्य र कलाका सर्न्दर्भमा विचार गर्दा कुनै पक्षमा उत्कृष्ट ठानिएका रचनाहरूको समीक्षा र समालोचनालाई पनि सिर्जनाकै हाराहारीमा लैजानुपर्दछ भन्ने मान्यतामा पनि यो पङ्तिकार हालसम्म अडिएको छ ।

अहिलेको प्रसङ्गमा कवि शोभाकान्त गौडेलद्वारा रचित “म ढुङ्गो कसरी बनूँ ?” भन्ने कृतिभित्रको सोही शीर्षकको कवितालाई यहाँ चर्चाको विषय बनाउन खोजिएको छ । यसै सिलसिलामा कवि स्वयम्को र प्रकाशक समेतको छोटो चिनारी दिने काम पनि सान्दर्भिक नै ठान्नुपर्ने हुन्छ । विक्रम सम्वत् २००८ सालमा पर्वत जिल्लाको फलेवास खानी गाउँमा जन्मिएका कवि गौडेल नेपाल सरकारको इन्जिनियरिङ सेवाबाट हाल निवृत्त भइसकेका छन् । यसै सेवामा कार्यरत रहँदादेखि नै यिनले राष्ट्रसेवा र साहित्यिक सेवाको परिचय दिइआएका छन् । हाल उनी कास्की पोखराको मालेपाटनमा बसोबास गरिरहेका पनि छन् । डा. कालु शर्मा सुवेदीले उनको यस कविता सङ्ग्रहलाई वि.सं. २०६१ मा प्रकाशित गराएका रहेछन् । पेशाका हकमा डा. सुवेदी एक नामी चिकित्सक हुन्, उनी हाल पश्चिमाञ्चल अस्पताल पोखरामा सेवारत छन् । स्वास्थ्य सेवाबाहेक व्यवहारिक/वैज्ञानिक शिक्षातर्फ पनि विशेष दृष्टि राख्न चाहने व्यक्ति हुन् डा. कालु शर्मा सुवेदी ।

अब नजर लगाउने काम गरौं कवि शोभाकान्त गौडेलको ‘म ढुङ्गो कसरी बनूँ -’ भन्ने कविताका केही अंशमाः

बगरमा पल्टिरहेको पत्थर त होइन म

आत्मा र भाव सुन्ने भइरहने?

बनमा लडिरहेको मुढो पनि त होइन म

युगौंदेखि निर्जीव सडिरहने”

‘म ढुङ्गो कसरी बनूँ’ (२०५३:२०)

यस कवितामा व्यक्त भएको विचार र अवस्था वि.सं. २०५३ सालतिरको हो, जुन अवस्थामा तत्कालीन ने.क.पा. माओवादीले जनयुद्धको थालनी मात्र गरेको थियो । राजनीतिक, आर्थिक दृष्टिकोणबाट हेर्दा संसदीय राजनीतिको सत्ता पक्ष र विरोधी पक्ष दुवैको समान दृष्टिकोणबाट निजीकरण लागू गरिएको अवस्था हो । सरकारी स्वामित्वमा रहेका उद्योगधन्दाहरूलाई क्रमशः निजीकरण गरिँदै थियो । प्रतिवर्ष घाटैघाटामा सञ्चालित ती सरकारी उद्योग कलकारखानाहरू घाटाका अवस्थामा राख्नुभन्दा नाफा आर्जन गर्दै सञ्चालन गराउन सक्ने पूजीपतिहरूकै जिम्मा दिनु वेश हुन्छ भन्ने दृष्टिकोण रहेको हुनसक्दछ । परन्तु यस दृष्टिकोणलाई राजनीतिक परिवर्तनकै उपज ठान्नुपर्दछ । किनकी राजनीतिमा लिइएको दृष्टिकोण अनुरूप नै यस्ता गम्भीरखालका निर्णयहरु गरिएका हुन्छन् ।

राजनीतिक पृष्ठभूमि भने यत्तिमै सीमित छैन । नेपालको एकीकरणको अभियान राजनीतिक अभियान नै हो । पृथ्वीनारायण शाहको एकीकरणको अभियानबाट विशाल बन्दै गएको नेपाल सुगौली सन्धिमा खुम्चिन पुग्यो । हामीले भन्नुपर्दछ राजतन्त्रको नेतृत्वमा विशाल बन्दै गएको नेपाल राजतन्त्रकै छहारीमा खुम्चिन बाध्य भयो । यो एउटा अविस्मरणीय ऐतिहासिक घटना हो । राजनीतिक सचेत नेपालीका निम्ति भावनात्मक रूपमा चोट परेको अवस्था पनि हो । राजतन्त्रको शासनसत्ता राणापरिवारको हातमा आउँदा राजतन्त्रको अवस्था झनै खुम्चियो । यता नेपाली जनताको अभिव्यक्तिको स्वतन्त्रताको हक पनि सँगसँगै खुम्चियो । नेपालीहरूका लागि शिक्षा र चेतनाको जगत् एक शताब्दी भन्दा बढी अँध्यारै रहृयो । त्यसैले त वि.सं. २००७ सालमा राजनीतिक परिवर्तन भयो । राजनीतिक अभ्यासकै क्रममा वि.सं. २०१७ सालमा पनि राजनीतिक परिवर्तन भएकै हो । यसपल्ट भने जनताका प्रतिनिधिहरूको भन्दा राजाको राजशक्ति देशभक्तिका नाममा झनै बलियो बन्यो । शासनको माध्यम पञ्चायत व्यवस्था हुन गयो । त्यसैले त वि.सं. २०३६ सालमा पञ्चायत व्यवस्थाका विरुद्ध जनआन्दोलन भयो । निर्दलीय र बहुदलीय दुर्इ परिपाटीका बीच नेपाली जनताको जनमत बाँडिन बाध्य भयो । यो पनि जनताद्वारा राजनीतिक परिवर्तनको माग गरिएको ज्वलन्त अवस्था हो । बहुदलीय व्यवस्था स्थापित नभइसकेको हुँदा यसलाई राजनीतिक स्वतन्त्रताको अपूर्ण अवस्था ठानिएको हो । वि.सं. २०४७ सालमा बहुदलीय व्यवस्था स्थापित हुँदा राजनीतिक स्वतन्त्रताले पूर्णता पाएको हो कि भन्ने आभास सर्वत्र महसुस गरिएको हो । यो केवल आभास मात्र हुन गयो, यथार्थमा यस प्रकारको आंशिक परिवर्तनबाट जनताका आर्थिक-सामाजिक अवस्थामा आमूल परिवर्तन आउन सकेन । आंशिक परिवर्तनको सकारात्मक पक्षले समग्रमा अलिकति उज्यालो ल्याउँछ, परन्तु त्यसलाई अको नकारात्मक पक्षले सर्लक्क गाँजी दिन्छ । पिछडिएको जनमानसको छटपटिएको अवस्थाले कुनै राहत पाउन सक्दैन । हाम्रो देशमा परिवर्तनको प्रवाह यसरी उज्यालो-अँध्यारोको रूपमा कहिले मन्द गतिमा र कहिले तीव्र गतिमा निरन्तर चलिरहेको छ । त्यसैले हुनसक्दछ स्वतन्त्र-चिन्तनको उज्ज्वल पक्ष अँठिएर कालो बादलले ढाकिएको बेला कवि गौडेलले ‘म’ पात्रको माध्यमबाट ‘बगरमा पल्टिरहेको पत्थर त होइन म’… भन्ने अभिव्यक्ति दिएका छन् ।

युगौंदेखिको उत्पीडनलाई मत्थर गराउने हेतुले प्रत्येक पटक परिवर्तनकै नारा उराल्ने राजनीतिक शक्तिलाई आ-आफ्नो वर्गचेतले भ्याएसम्म उत्पीडित जनताले सहयोग पुर्‍याउँदै आएका छन् । वि.सं. २०५२ सालमा उद्घोष गरिएको जनयुद्धकालीन अवस्थामा हजारौं हजार नेपालीहरूले जीउ/ज्यान अर्पण गरे । वर्ग चेतनाकै पृष्ठभूमिमा उभिएर उनीहरूले शहादत् प्राप्त गरे र यसरी जनयुद्धका शहीदहरू परिवर्तनको प्रवाहलाई तीव्र गतिमा लैजाने प्रेरक तत्व बन्न पुगेका छन् । कवि गौडेलले पनि आफ्नो चेतना प्रवाहलाई शहादत् प्राप्त शहीदहरूकै हाराहारीमा पुर्‍याएर गतिशील गराएका छन् । परिवर्तनको प्रवाहलाई निरन्तर गति दिलाउन उनी आफू पनि शहीदहरूकै पङ्क्तिमा शहादत् हुने प्रण गर्दछन् । कवि गौडेल यसै सर्न्दर्भमा भन्दछन्ः-

…ढुङ्गो भइ पुजिन चाहन्न म

फोरिदेउ, कुनै निर्माणमा एक सल गारो भइदिन्छु?

मुढो बनाई नलडाउ मलाई

बरु चिरिदेउ मक्किएका कुनै घरको दलिन हुन चाहन्छु

देशको लागि यही माटोमा विलिन हुन चाहन्छु । (पृ. २१)

पाठकहरूले बुझ्नुपर्दछ कि कवि गौडेल नेपाली जनताको प्रत्येक ऐतिहासिक चरणको छिनोफानो गर्न उभिएका छैनन् । विगतका ऐतिहासिक चरणहरूमा केही परिवर्तनहरू त अवश्य भए नै । त्यसको सकारात्मक प्रभावलाई पनि कविले आफ्नो मिरमिरे प्रकाशमा राखेर हेर्न सक्नुपथ्यो? परन्तु त्यसलाई उनले अलिकति पनि दर्शाउन सकेका छैनन् । हरेक राजनीतिक परिवर्तनले केही न केही सकारात्मक प्रभाव पारिरहेको हुन्छ । नेपालका राजनीतिक परिवर्तनहरूले पनि कुनै न कुनै अंशमा सकारात्मक प्रभाव पार्दै आएका पनि छन् । दुर्इ सय वर्ष अगाडिको पृथ्वीनारायण शाहको एकीकरण अभियानले नेपाललाई आधुनिक राज्यको स्वरूपमा उभ्यायो । बहुजाती नेपालको गौरवशाली अस्तित्वको चिनारी बढ्दै गयो, नेपाल राज्य अन्तर्राष्ट्रिय जगत्मा चिनियो । नेपालको राणा-शासनले राजा र जनता दुवैको अधिकारलाई खुम्च्यायो, परन्तु शक्ति सम्पन्न राणा जङ्गबहादुरले सुगौली सन्धीमा खुम्चिएको नेपाललाई अलिकति फराकिलो बनाए । पश्चिम नेपालमा नयाँ मुलुक आर्जन गरेर नेपालको क्षेत्रफल बढाए । राज्यको क्षेत्रफल बढाएर मात्र भाइबन्धुहरू बढाए, नेपालको जनसङ्ख्या वृद्धि गराए । यस पक्षलाई आजको परिप्रेक्ष्यमा सकारात्मक ठान्नुपर्ने हुन्छ । बरु आजकल लाखौं लाखको सङ्ख्यामा नागरिकताका प्रमाणपत्रहरू मात्र बढाउने प्रावधानहरू आइरहन्छन्, परन्तु क्षेत्रफल भने यथावत् नै छ । हाम्रो भौगोलिक क्षेत्रफल यथावत् रहिरहेको अवस्थामा कविहरूले आ-आफ्ना कल्पना र यथार्थका आयतनहरू बढाउनुपर्ने देखिन्छ । सानो कविताले काव्यको आयतन लिन सकोस्, काव्यले महाकाव्यको विस्तारित रूप लिन सकोस्? ता कि यी सबै प्रकारका कविताहरूमा सकारात्मक र नकारात्मक दुवै पक्षहरूलाई समेट्न सकियोस् ।

जेहोस्, गौडेल जस्ता कविहरूको सान्दर्भिकता अहिले पनि उत्तिकै खटि्करहेको छ । “म ढुङ्गो कसरी बनूँ” कविताको शास्वत अंशलाई फेरि पनि दोहोर्‍याउनुपर्ने देखिन्छ । अब नेपाली जनता ढुङ्गो बनेर बस्नसक्ने छैनन्? किनकी नेपाली जनताले बुझेका छन् ‘गणतान्त्रिक व्यवस्थामा संविधान नै देशको मेरुदण्ड हो ।’ संविधान निर्माण नहुनु भनेको मेरुदण्डको अभाव खटि्करहनु हो । मेरुदण्डको अभावमा शरीरको हालत के हुन्छ – मेरुदण्डको अभावमा देश कसरी चल्न सक्दछ – शासनको आसन कहाँ अडिन्छ – दुर्इ वर्षभित्रमा बनाउनुपर्ने संविधानलाई संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले चार वर्षमा पनि निर्माण गर्न सकेनन् । असफलताकै कारण पहिलो संविधान सभा भ· भयो ।अब दोस्रो संविधान सभाको चुनाव  २०७० साल मंसिर महिनामा हुँदैछ । दोस्रो पटकको यो चुनाव तोकिएको समयमा हुन्छ वा हुँदैन? कुन-कुन राजनीतिक पार्टीहरू संविधान निर्माणमा सहयोगी हुन्छन् र कुन-कुन पार्टीहरूले असहयोग पुर्‍याउँछन् । यी दुवै थरिका क्रियाकलापहरुलाई नेपाली जनताले राम्रोसँग चिन्नेछन् । नेपाली जनता विगतमा भन्दा धेरै सचेत हुँदै आएका छन् । पहिलो संविधान सभाको चुनावमा पनि नेपाली जनता सचेत थिए, अबको निर्वाचनमा पनि नेपाली जनता अझै बढी सचेत रहनेछन् । नेपाली जनता कुनै हालतमा पनि ढुङ्गो बनेर बस्न सक्ने छैनन् ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width