दीगो विकास अहिलेको आवश्यकता

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७३

दीगो विकास भन्नाले वातावरण मैत्री विकास अर्थात् टिकाउ हुने विकास हो। जीवित प्राणी र प्रकृतिबीचको अन्तर्सम्बन्ध दीगो बनाउन गरिने प्रयास नै दिगो विकास हो। ब्रुटल्याण्ड कमिसनको परिभाषामा भविष्यका पिढीको आवश्यकतासँग सम्झौता नगरी वर्तमान पिढीको आवश्यकता परिपूर्ति गर्नु नै दिगो विकास हो।’ देशभित्र रहेका प्रकृतिक स्रोत, साधनको सन्तुलित प्रयोग गर्नु र जगेर्ना गर्नु अहिलेको टड्कारो आवश्यकता हो। तसर्थ आधुनिकता र विकाससँगसँगै वातावरणीय साधन, स्रोतको उपयोगमा विवेकशीलता कायम गर्नु नै दिगो विकास हो। दिगो विकासले दिगो स्रोत व्यवस्थापनमा भूमिका खेल्छ। यसभित्र वातावरण संरक्षण र व्यवस्थापन, जैविक विविधताको संरक्षण, जनसंख्या वृद्धि तथा सहरीकरणप्रति सचेततालगायतका थुप्रै विषयवस्तु प्रत्यक्ष वा परोक्ष रुपमा समेटिएका हुन्छन् ता कि ती हरेक विषयवस्तुको सन्तुलनले एक न एक पक्षबाट दिगो विकासलाई प्रभाव पारेको हुन्छ।

दिगो विकासको अवधारणा सन १९८० को दशकबाट सुरु भएको हो। राष्ट्रसंघीय विकास तथा वातावरणसम्बन्धी विश्व आयोग ब्रुटल्याण्ड आयोगद्वारा सन् १९८७ मा हाम्रो साझा भविष्य’ नामक प्रतिवेदनमा दिगोविकास’ शब्द प्रयोग गरिएको पाइन्छ। उक्त प्रतिवेदनमा विकासोन्मुख मुलुकहरुको आय वृद्धि, गरिबी निवारण एवं वातावरण सुधारसम्बन्धी विभिन्न कार्यक्रम उल्लेख गरिएको थियो। यसका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा वातावरण व्यवस्थापन, दिगो विकास, जलवायु परिवर्तन अदि सम्बन्धी थुप्रै प्रयासहरू र कायक्रम कार्ययोजनाहरू सञ्चालन हुँदै आएका छन्। तीमध्ये थुप्रै कार्यक्रम र तीनका अवधारणलाई नेपालले पनि समय-समयमा अवलम्बन गर्दै आएको छ। वातावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी, दिगो विकाससम्बन्धी थुप्रै नीति तथा कार्यक्रम हुँदै आएका छन्। जस्तै, उदहरणका लागि वि.सं. २०६६ सालमा जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले बसेको कालापत्थर बैठक, राष्ट्रिय अनुकूलन कार्यक्रम तथा राष्ट्रिय जलवायु नीति, २०६७, नेपालले अवलम्बन गरेको सहस्राब्दी विकास, दिगो विकासका नारालगायतका नीतिगत प्रयास साथै विद्युतीय सवारी साधनको पर््रवर्द्धनमा जोड, फोहरमैला व्यवस्थापनमा जोड आदि थुप्रै उल्लेखनीय कार्य सरकारी तथा गैरसरकारी क्षेत्रबाट भइरहेका छन्। तथापि दिनप्रतिदिन बढ्दो प्रदूषण, बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरणका कारण वातावरण प्रदूषित हुँदै दीगो विकासमा असर परिरहेको विज्ञहरू बताउँछन्।

किन यस्तो भइरहेको छ, यसको कारण के हुन सक्छ, भन्ने प्रश्नको जवाफ खोज्नु अहिलेको पिढीको टड्कारो आवश्यकता भएको छ। भनिन्छ, पढाइले भन्दा अनुभवले मान्छे महान बन्छ। पढेर जान्नेभन्दा परेर जन्ने मान्छे धेरै सचेत हुन्छ, किनकि उसले त प्रत्यक्ष अनुभव गरेको हुन्छ। यहाँ प्रश्न छ : भूगोल, वनस्पति र सम्बेदनशीलताको। यी तीन कुराको सम्बन्ध सम्पर्ूण्ा जीवन जगतसँग आएर जडिएको हुन्छ। विकासका नाममा आउने परिवर्तनप्रति सचेत रहने, चेतनाको प्रचारप्रसारमा प्रत्येक व्यक्तिले भूमिका निर्वाह गर्नु तथा विकल्पको खोजी गर्नु प्रत्येक सचेत नागरिकको कर्तव्य हुन जान्छ। जसका लागि संस्कृति, समाज, पर्यावरण र आर्थिक क्रियाकलापको समायोजन गरी सँस्कृतिक परिवेशबाट समाधान खोज्ने, समाजमा भइरहेका परिवर्तनको अनुसन्धान गरी आफ्नै जीवन पद्धतिबाट वातावरण मैत्री दीगो विकासको सुरुवात गर्नुपर्छ।

यस्तै, विद्यालयहरूमा सैद्धान्तिक शिक्षाभन्दा प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, समुदाय र विद्यालयबीच सहकार्य र छलफल गरी स्थानीयको सहभागितामा कार्यक्रम सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ। जसको परिणमस्वरुप प्रत्येक नागरिक र समुदाय दीगो विकासको अवधारणाप्रति सचेत बन्न सकोस्।

भविष्यमा आइपर्ने समस्या र असरहरूको समाधानका उपाय खोज्न सकोस्। तर अरुको मुख ताक्ने प्रवृतिले समस्या अझ निम्तिन पनि सक्छ। व्यक्तिले संघ, संस्थाले सरकारको मुख ताक्ने प्रवृति राम्रो होइन। प्रदूषित वातावरण र संरक्षण अभाव आदिका कारणले उत्पन्न विभिन्न समस्या जस्तै : जलवायु परिवर्तन, हरितगृह प्रभाव, अतिवृष्टि तथा अनावृष्टि, तापक्रम वृद्धि, दैविक तथा प्रकृतिक प्रकोपहरूका कारण हामीले गुमाउन नचाहेका वस्तुहरु गुमाउनुपर्ने भएको छ। यसैमध्ये लामो समयसम्म पानी नपरेर खडेरीले खानेपानीका मुहानसमेत सुक्न लागेको अहिलेको अवस्था पनि एउटा उदाहरण बन्न सक्छ। हुन त नेपालमा अहिल ेनै त्यति आत्तिइहल्नु पर्ने अवस्था छैन भन्ने मत पाइन्छ तर दिन प्रतिदिन यी असरहरू नेपालमा पनि देखा पर्न थलेका छन्। विस्तार-विस्तार यसले आफ्नो प्रभाव बढाइरहेको छ। बेलैमा सबै सचेत नहुने र लापरवाही बढिरहने हो भने यसले भयावह रुप लिन सक्छ।

तसर्थ दीगो विकासको अवधारणा प्रकृति र जीवनबीचको अन्योन्याश्रति सम्बन्धको विषय हो। जसको बारेमा हरेकले सचेत रहनु जरुरी छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै