छन्दमणिको महाकाव्य लेखन

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७३

युवा जोश, जाँगरको सीमा हुँदैन। आँटेपछि जस्तोसुकै कर्ममा पनि अघि बढ्न सकिन्छ। २२ वर्षे युवावस्थामा छन्दोवद्ध महाकाव्यको सिर्जना गर्ने आँट गरे र पूरा गरे छन्दमणिले। उनी लाखौं युवालाई उदाहरण पनि बन्न सफल भएका छन्। अझ प्रेरणा र उत्साहको कामना छ त्रिपाठीजीलाई।

युवा महाकाव्यकार छन्दमणि त्रिपाठी २०४४ साल असार २५ गते जन्मिएका हुन्। उनको जन्म कास्की, पोखराको हेमजा गाउँमा भएको हो। यिनका देशको अनुसूची (कवितासंग्रह २०६३), छन्दवहरका शब्दलहर (गजलसंग्रह २०६५), तरङ्गका अभिव्यक्ति (कवितासंग्रह २०६५), नयाँ नेपाल -महाकाव्य २०६६) आदि कृतिह प्रकाशित भइसकेका छन्।

शंकरमणि नाउँका छन्दमणि त्रिपाठी सानै उमेरदेखि काव्यात्मक प्रस्तुतिमा उत्रिएका होनाहार र भविष्यका आशालाग्दा जाज्वल्यमान प्रतिभा हुन्। जनार्दन शर्मा त्रिपाठी, माधव वियोगीजस्ता छन्दका मूर्धन्य स्रष्टाको काखमा हुकेका छन्दमणिले साहित्यिक वातावरण एवम् प्रेरणाका स्रोतका लागि टाढा गइरहनु परेन। पोखराका साहित्यिक सुसंस्कृति पारिवारिक एवम् आफन्तजनका माहौलमा हुर्किएका शङ्करमणि त्रिपाठी (छन्दमणि) को ‘नयाँ नेपाल’ शीर्षकको महाकाव्य नेपाली साहित्यको बजारमा आएको छ।

प्रस्तुत महाकाव्यको शुभकामना एवम् भूमिका लेखनको प्रारम्भिक अध्ययनबाट मुकुन्दशरण उपाध्यय, जनार्दनशरण त्रिपाठी, माधव वियोगीजस्ता पद्य साहित्यका हस्तीका काखमा लुट्पुटिदैँ उनीहरूकै पे्ररणाबाट आफूले महाकाव्य रचेको उल्लेख गर्ने महाकाव्यकार छन्दमणि आफ्नी जीवनसँगिनी छन्दिका पनि महाकाव्यकार नै भएकोमा अत्यन्त हषिर्त छन्। नारी प्रतिभा वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष छन्दिकाले प्रकाशकीय लेखेको उक्त काव्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, मोदनाथ प्रश्रति, मुकुन्दशरण उपाध्याय, जनार्दनशरण त्रिपाठी, माधव वियोगी, दुर्गाप्रसाद नेपाल, डा. नारायणप्रसाद खनालले शुभकामना तथा भूमिका लेखेका छन्।

प्रस्तुत महाकाव्य शास्त्रीय एवम् नेपाली लोकलयका वाणिर्क छन्दहरूमा संरचित छ। काव्य  मन्दाक्रान्ता, स्रग्धरा, शालिनी, उपजाति, इन्द्रवज्रा, उपेन्द्रवज्रा, अनुष्टुप र उसका विविध भेद (नवअनुष्टुप्, मविपुला, रविपुला), वसन्ततिलका, पञ्चचामर, मालिनी, भुजङ्गप्रयात्, शादूलविक्रीडित, तोटक, मोटनक, वोतोर्र्मि, चम्पकमाला र शिखरिणी गरी १७ शास्त्रीय छन्दका एक हजार नौ श्लोकमा संरचित छ। काव्यमा नेपाली लोकछन्दका एक सय ७८ श्लोक पनि समावेश छन्। नयाँ नेपाल  महाकाव्य दश सर्गमा विभाजित छ। प्रस्तुत काव्यका प्रत्येक सर्गमा कम्तीमा १०० भन्दा माथिका संख्याका श्लोक छन्।  महाकाव्यका सर्गहरूमा कम्तीमा पनि १०० श्लोक रहनुपर्दछ भन्ने मान्यतालाई छन्दमणिले स्वीकारेका छन्। छन्दलाई मन पराउने त्रिपाठीले आफ्नो नाम छन्दमणि राखेका छन् अनि श्रीमतीको नाममा पनि छन्द नै जोडेर छन्दिका भनेका छन्।

नयाँ नेपाल महाकाव्यमा कविजीले कल्पना गरेको कथा अंश यसप्रकार छ- नेपालको कुनै एक गाउँको मध्यम वर्गीय किसान परिवारमा जन्मिएका अंशुमालीलाई नायकको स्थान दिइएको नयाँ नेपाल महाकाव्य वर्गीय चिन्तनबाट अभ्रि्रेरित छ। अंशुमाली शिक्षार्जनका निम्ति गाउँबाट सहरतिर जान्छ। अध्ययनका क्रममा सहपाठी आस्थासित ऊ आकषिर्त हुन्छ र परम्परित सामन्तीय कुसंस्कारको पर्दा हटाएर उसले आस्थासित अन्तरजातीय नाता गाँस्दै जान्छ।

आमाबाले लिएको साहूको ऋण तिर्न नसकेर अंशुमालीमा पीडाबोध हुन्छ र ऊ जागिर खोज्न देशका अनेक ठाउँतिर भौँतारिन्छ। उसलाई कोही, कसैबाट सहयोग मिल्दैन। स्वदेशमा रोजगार नपाएकाले ऊ विदेशतिर पुग्छ। उसले व्यवस्था परिवर्तनका लागि देशमा आन्दोलन चर्किएको खबर सुन्छ र देशमा नयाँ युग ल्याउने अठोटका साथ र्फकन्छ। आन्दोलनको आँधीबेहेरीमा ऊ र आस्था होमिन पुग्छन्। आन्दोलनको क्रममा अंशुमालीको सहादत हुन्छ। अंशुमालीबाट आस्था एक्लिए पनि उनको आँट, साहस नयाँ युग ल्याउन उठेका लाखौँ जनताको सपना, कल्पनासितै मिल्न पुग्दछ। यतिकैमा काव्य समापन हुन्छ।

नेपाली महाकाव्य लेखनका कवि भेलामा छन्दमणि पनि उपस्थित भएका छन्। नेपालको पछिल्लो व्यवस्था परिवर्तनपश्चात् लेखिएको नयाँ चेत, नयाँ जोश र नयाँ जाँगरले भरिएको नयाँ नेपाल महाकाव्य पठनीय छ। त्रिपाठीजीका कृतिमध्ये नयाँ नेपाल उनको पहिलो महाकव्य हो। उक्त महाकाव्यका पद्यमध्येबाट शालिनी छन्दको एउटा नमूनाः

संसारैको सारलाई बुझेर

बाँच्यो हाम्रो देश यो लम्किएर

जस्ले यो नेपाल नै लेख्न सक्छ

त्यस्ले सारा विश्व नै देख्न सक्छ

(नयाँ नेपाल महाकाव्य २:९)

शिक्षण पेशामा संलग्न रहेका युवाकवि छन्दमणिमा सिर्जनाको जोश जाँगरले कहिल्यै नछाडोस्। उनले समकालीन युवाका लहरमा आफूलाई उदाहरणीय बनाउन सकून् !

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै