गर्नु गर्‍यौ मोवाइल तिम्ले ढाँटेर

आदर्श समाज सम्वाददाता
माघ १३, २०७०

यतिखेर प्रत्येक नेपालीको हात हातमा मोवाइल छ। विशेष गरी २०४६ सालको परिवर्तनपछि नेपालले सूचनामा छलाङ मारेको छ। मोवाइलको आविष्कारको कति समयपछि नेपालमा यसले बजार पायो मलाई थाहा छैन। सुरुका दिनमा मोवाइल आउनु अगाडि पेजर आएको थियो। जसबाट म्यासेज पठाउन सकिन्थ्यो। त्यतिबेला पेजर बोकेर हिँड्नु पनि शान नै थियो। पछि मोवाइल आयो। सुरुसुरुमा मोवाइल समाजका धनिमानीले लिन्थे। सँगै बसेर मोवाइलबाट फोन उठाउँदा निकै फूर्ति बढेको भ्रम सबैमा थियो। पछि मोवाइल सर्वव्यापी भयो। सूचनाको हक सबैलाई चाहियो। साँच्चै भन्नुपर्दा मोवाइलले सञ्चारलाई साँघुरो बनाएको छ। हातको औलामा तपाईंको संसार छ। हामी कहाँ भन्दा बंगलादेशमा मोवाइलको प्रयोग छिटो भएको थियो। त्यतिबेला मछुवाले घरमा माछा लिएर आउँछु तरकारी त्यसैको खाम्ला भनेर घरमा फोन गर्छ त भन्दा अनौठो लाग्थ्यो। अथवा आज माछा पाइएन तरकारी अरु नै बनाउ भनेर भन्छन् रे यस्तै यस्तै सुनिन्थ्यो।

अहिले हाम्रो देशमा सञ्चारले व्यापक फड्को मार्यो। साच्चै भन्दा हामीले विकास गरेको भनौं वा संसारको परिवर्तनले हामीलाई बाध्य पारेर हिँडाएको सञ्चारको दुनियाँ नै हो। अहिले घरमा बसेर अमेरिकामा पढ्दै गरेका छोराछोरीसँग आँखा जुधाएर बोल्न सकिन्छ। अरबको मरुभूमिमा भेडा चराउँदै गरेको खसमसँग वनमा घाँस काट्दै विरहका कुरा साट्न सकिन्छ। वेलायतमा नोकरी गरेको छोरोलाई नेपालको अनकण्टार गाउँबाट आमाले बाबु भात खाइस् भनेर सोध्न सक्छिन्। त्यति मात्र होइन, बजैले आफ्नी नातिनीको अनुहार हेरेर कपाल त कुइरेको जस्तो बनाइछेस् भन्न सक्छिन्। बेलायत अमेरिकाको मात्र के कुरा गर्नु अन्तरीक्षमा रहेको व्यक्तिसँग हाकाहाकी कुरा गर्न सकियो, यो सञ्चार माध्यमले। कम्प्युटरको आविष्कारले ज्ञानलाई यति सजिलो बनाइदिएको छ कि अब विश्वमा भएको घटना एक मिनट भित्रै आफ्नै आँखा अगाडि जस्ताको तस्तै देख्न सकिन्छ। जे जुन विषय हेर्ने मन लाग्यो मनले क्लिक गरे पुग्यो। अब हिजो झैँ दराजमा किताब राख्न परेन। यात्रामा किताब बोकेर हिँड्न परेन। सूचना र ज्ञानलाई सजिलै प्राप्त गर्न सकिने समय बनेको छ यति बेला।

सूचना प्रविधिको विनासले मानिसलाई यति सौखिन बनाएको छ कि घरको वल्लो कोठाबाट पल्लो कोठामा फोन गर्छौ। हाम्रा खट्टा चल्न छाडेका छन्। अब भान्सा कोठाबाट टिभी रुममा रहेको छोराछोरीलाई मोवाइलबाट भात खान आउनु भन्ने चलन चल्न थाल्यो। हिजो वनपाखा घाँस काट्दा डोको भेटियो भनेर आफ्नो साथीलाई अलि ठूलो आवाजमा सोधिन्थ्यो। अहिले मोवाइलबाट सोधिन्छ। सूचना प्रविधिले हामीलाई धेरै सुविधा दिएको छ। तर यसको दुरुपयोग पनि त्यतिकै भएको छ भनेर जानकारहरु बताउँछन्। यहासम्म कि दार्जजिङ्गमा त माध्यमिक विद्यालयका विद्यार्थीलाई मोवाइल र मोटर साइकल बन्देजसम्म लगाइयो। अन्य देशमा कार्यालय समयमा नेट चलाउन नियन्त्रण गर्नुपर्‍यो। हाम्रै देशमा हेर्ने हो भने पनि चौबिसै घण्टा हाम्रा बाबुनानीहरु मोवाइलमा झुण्डिएको देखिन्छ। यसले हाम्रा बाबु नानीहरुको अध्ययनमा बाधा दिएको छ। हुन त मोवाइल प्रयोगको घटनाले रमाइलो प्रदान गरेको छ भनिन्छ मोवाइलले ढाँट्न पनि मद्दत गरेको छ रे। हेलो कहाँ हुनुहुन्छ भनेर सोधियो भने कतिले सही बताउलान्, कतिले गलत बताउँछन्। घरबाट श्रीमतीले कहाँ हुनुहुन्छ घर आउने बेला भएन भनेर सोध्दा होटल रेष्टुराँमा कुखुराको साँप्राले दाँत माझ्दै गर्दा पनि म मिटिङमा छु भनेर ढाँट्ने बहादुर पुरुष हामी धेरै छौं। ढाँट्नेमा पुरुष मात्र होइन महिला पनि प्रशस्तै छन्। विदेशको मरुभूमिमा पसिना चुहाउँदै गरेको लोग्नेले फोन गर्दा ढाँटेर मख्खै पारी दिने कुशलता कतिपय महिलामा छँदैछ। विशेष गरी एक ठाउँमा रहेर अको ठाउँमा छु भन्ने चलन मोवाइलबाट प्रशस्त देखिन्छ। यसरी हेर्दा यो मोवाइल ढाँट्ने साधन पनि बनेको छ।

लेनदेन व्यवहारमा ढाँट्नेहरुलाई मोवाइलले गर्नु सहयोग गरेको छ। लाग्छ मोवाइल यिनीहरुको निम्ति बनेको हो कि जस्तो छ। प्रत्येक मोवाइल भाँडोले धेरैथोरै ढाँटेकै छ। तपाईँ यात्रामा हुनुहुन्छ वा बजारमा सपि·मा हुनुहुन्छ भने यसो आँखा लगाउनु होस् त मोवाइलमा कतिले सही बोलेका छन्। आफै ठम्याउन सक्नु हुन्छ। यसो हेर्यो कसैले काठमाडौं जाँदै गर्दा पोखरा आउँदै छु भन्छ। बाहिर आइरहेको बेलामा घरमा छु भन्छ। घरमा रहँदा बाहिर छु भन्छन्। डेटि· रहँदा कलेजमा छु भनेर बाबाआमालाई ढाँट्ने हाम्रा युवा पुस्ता पनि छन्। तन्नेरीहरु एकले अर्कालाई ढाँट्ने प्रतिस्पर्धा नै छ। ढाँट्ने तौरतरिका पनि उमेर अनुसार फरक फरक छ। उमेर अनुसार बोली र व्यवहारमा भिन्नता छ। कसैले ढाँट्नु पर्यो भने म बीजि छु भन्छन्। कसैले कृत्रिम स्वर निकालेर म पछि गर्छु है भन्छन्। कतिले प्रष्ट स्वर सुन्दासुन्दै केही सुनिएन भनेर प्वाक्क राखिदिन्छन्। कतिले आवाज सुन्दासुन्दै हेलो हेलो भनेर रनभूल पार्छन्। यसो मानिसहरुले प्रयोग गरेको मोवाइलको प्रवृत्ति चियाउँदा मोवाइल संसार सारै रोचक देखिन्छ। कतिले अरुले सुन्छन् कि भनेर खासखुस गरेको देखिन्छ। कतिपयले मोवाइलमा कुरा गर्दा कानबाट मुख मुखबाट कानतिर मोवाइलको म्याराथुन गरेको देखिन्छ। कतिले कानले मुखले सुनेका हुन्छन्। कुन्नि किन हो मुखले मोवाइल ठूगेको पनि देखेको छु। कतिपय मोवाइलमा कुरा गर्दा मुर्छा परेर ठाउँ न ठेगान हाँसेको पनि देखेको छु। कतिपय मोवाइलबाट रुदै आँसु पठाउन खोजेको देखिन्छ। यतिखेर हात हातमा मोवाइल होइन कानकानमा मोवाइल छ। मोवाइलको दुरुपयोगले कतिपयको घरवार ब्रि्रेको छ कतिपयको घरबार सप्रेको छ। मोवाइलको मिसकलले जोडा मिलेको पनि छ जोडी टुटेको पनि छ। मोवाइलको म्यासेजले गर्दा कैयौ चेलीहरुले आत्महत्या गर्न विवश पनि भएका छन्। कतिपय अवस्थामा यै मोवाइलले ब्ल्याकमेल र अपहरण गराएको छ। यसरी विचार गर्दा यो मोवाइलको प्रयोग कति सही कति गलत काममा छ हामीले समीक्षा गरौं। एक ताका मोवाइल खुर्पेटो झै भिर्ने चलन थियो। आजकल यो चलन हराएको छ। न्यू ब्राण्डका मोवाइल देखाएर शान दिने चलन त छँदैछ। आफ्नो नयाँ मोवाइल देखाउन यसो हातमा खेलाउने रहर त छँदैछ। सूचना प्रविधिको विकासले हाम्रो जीवनलाई कति प्रभाव पारेको छ मात्र मोवाइलको प्रयोगलाई हेरेर थाहा पाउन सकिन्छ। तपाईंले मोवाइलको प्रयोग कसरी गर्नुभएको छ विचार गर्नुस त।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग