क्यान्सर रोकथामका मार्गर्दर्शनहरू

आजको भोगवादी दुनियाँमा योगवादी हुन सक्यो भने रोगवादी जिन्दगी बाच्नु पर्दैन। त्यसैले दैनिक शारीरिक क्रिया, योग र सकारात्मक सोच अत्यावश्यक छन्।

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७३

स्वस्थ जीवन जिउन पाउनु मानवको नैसर्गिक अधिकारभित्र पर्दछ। मानव जीवन स्वस्थ राख्न सम्भावित रोगको संक्रमणबाट बचाउन रोकथामका पद्धतिलाई अपनाउनु पर्दछ। मानव सभ्यताको विकास क्रमसँगसँगै परिवर्तित जीवनशैली, उद्योगधन्दा, कलकारखाना, प्रविधि, विकास, निर्माण सहरीकरण, खानपान, रहनसहनजस्ता कारणले मानव जातिमा संक्रमण हुने रोगको बृद्धि भइरहेको छ। मानव शरीरमा हुने धेरै रोग सामान्य भए पनि केही रोग जटिल प्रकारका हुन्छन्। जटिल रोगमध्ये अर्वुद रोग प्राणघातक रोगका रुपमा चिनिन्छ। तसथ अर्वुद रोगको निवारण र न्यूनीकरणका लागि संवेदनशील हुनु अपरिहार्य छ। सुर्तिजन्य पदार्थ, मध्यपान, मोटोपन, खानपान, रहनसहन, दैनिक शारीरिक क्रियाले अर्वुद रोग बढी हुन र कम हुनुमा गहिरो सम्बन्ध राख्दछ भन्नेमा विज्ञहरूको एकमत छ।

अर्वुद (क्यान्सर) रोग अन्य रोगभन्दा फरक, असामान्य प्रकारको रोग हो। सरुवा रोग नभएता पनि शरीरको एउटा अंगबाट अको अंगमा यो छिटो सर्ने रोग हो। यो रोग जीनसँग सम्बन्धित भएको हुँदा संक्रमण हुने तरिका पनि शरीरको संरचनासँग सम्बन्धित हुन्छ। जसरी मानव शरीर कोष, तन्तु, अंग र प्रणाली भएर बनेको हुन्छ। यो सिष्टमलाई ठीक ढंगले सञ्चालन गर्न शरीरको विशेष खालको कोष (डिएनए, आरएनए)ले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। समयको बहावसँगसँगै स्वस्थ अवस्थामा रहँदासम्म पुराना कोष नष्ट हुने र उत्तिकै संख्या र आकारमा नयाँ कोष परिपूर्ति गराउने काम निरन्तर र नियमित रुपमा चलिरहन्छ। विशेष कारणवस यो सिष्टममा प्रतिकूल प्रभाव परी कोषहरूको असामान्य बृद्धि, विकास हुन जान्छ। अनावश्यक कोषबाट शरीरका भित्री अंग अथवा बाहिरी अंगमा गिर्खा डल्ला देखा पर्दछन्। ती, त्यसरी बनेका गिर्खा डल्लालाई टयुमर भनिन्छ। टयुमर दुर्इ प्रकारका हुन्छन्।

१)     साधारण गिर्खा (benign tumor) : छिटो नबढ्ने, एकै ठाउँमा बस्ने, शरीरको अन्य भागमा सरेर नजाने, शल्यकृया गरी उपचार गराएमा पूर्ण निको हुने।

२)     असाधारण गिर्खा : छिटो बढ्ने, एउटा अंगबाट अको अंगमा छिटो सर्ने, स्वस्थ कोषलाई नष्ट गरिदिने असाधारण गिर्खालाई नै क्यान्सर भनिन्छ।

अर्वुद (क्यान्सर) रोग गराउन महत्वपूर्ण भूमिका खेल्ने कारक तत्वहरूको विषयमा विविध अध्ययन, अनुसन्धानको गहन विश्लेषण र पुनः मूल्याङ्कन गरी विश्वकै एउटा सामूहिक धारणा तय गर्न १९९७ मा वल्ड क्यान्स रिर्र्सच फन्ड-डब्लुआरसिएफ) र अमेरिकन इन्सिटिच्युट फर रिर्र्सच-एआइआरसी) को संयुक्त प्रयोजनमा वृहत अध्ययन अनुसन्धान तथा समस्तीकरण कार्यक्रम सञ्चालन  गरियो। विश्वका स्थापित यससम्बन्धी विशेषज्ञको कमिटी बनाएर यो कार्य अगाडि बढाइयो।

१० वर्ष लामो लगाएर गरिएको अनुसन्धानबाट विश्वासिलो तथा सम्भावित प्रमाणको आधारमा भविष्यमा गर्ने अध्ययन, अनुसन्धान, क्यान्सर रोकथामका शैक्षिक कार्यक्रम तथा सबै राष्ट्रले स्वास्थ्य नीति तय गर्नका लागि मार्गर्दर्शनका रुपमा सिफारिसहरू, आवश्यक पोषण तत्व, खानपिन, दैनिक शारीरिक कृया रोकथामका उपाय अबलम्बन गर्ने उद्देश्यले कार्य सम्पन्न गरेर प्रकाशनमा ल्याइयो। यी प्रकाशित १० प्रतिवेदनमा दुर्इ विषयलाई विशेष रुपमा सिफारिस गरिएको छ। उपरोक्त सिफारिसहरू नै नेपालमा क्यान्सर रोकथामका लागि मार्गर्दर्शनका रुपमा लिन सकिन्छ। यी प्रकाशित विषयहरू सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था, समूह, क्लब र प्रत्येक व्यक्तिप्रति लक्षित गरी तय गरिएको छ।

१)     मोटापन

मोटापनले क्यान्सरको खतरा बढाउँछ। मोटापनलाई नियन्त्रणमा राखी स्वास्थ्य सीमाभित्रको वजन सबैले जीवनभर कायम राख्नु पर्दछ। बिएमआइ भन्नाले आफ्नो तौल किलोग्राममा नाप्ने, शरीरको उचाइ मिटरमा परिणत गरी उचाइले नै गुणन गर्ने र तौललाई भाग गर्ने, जसबाट आएको प्रतिफललाइ बिएमआइ भनिन्छ। स्वस्थ मानिसको बएमआइको प्रतिफल -सिमा) २१ र २३ बीच हुन्छ। जस्तो एउटा २२ वर्षको युवकको वजन ७० किलो र उचाई १.७ मिटर भएमा ७०/१.७×१.७Ö२४.२ यो २२ वर्षको युवकको बएमआइ सिमाभन्दा केही बढी देखियो। पुरुषको कम्मरको साइज बढीमा ३७ इन्च र महिलाको कम्मरको साइज बढीमा ३१ इन्च हुनुपर्दछ। मोटापन नियन्त्रण राख्न जन्मेदेखि नै आमाबाबुले विचार पुर्‍याउनुपर्ने हुन्छ। सानोमा मोटापन भएकाहरू तरुण अवस्थामा पनि मोटो हुने अधिक सम्भावना हुन्छ।

२)     दैनिक शारीरिक क्रिया/योगाभ्यास, सकारात्मक सोच

दैनिक शारीरिक क्रिया, योगाभ्यास र सकारात्मक सोचमा रोग निको पार्ने, शरीर तन्दुरुस्त राख्ने, क्यान्सर हुनै नदिने, सुन्दर बनाउने, शक्ति त छँदै छ, यसले भोग गर्ने कलाकौशल पनि सिकाउँछ। आजको भोगवादी दुनियाँमा योगवादी हुन सक्यो भने रोगवादी जिन्दगी बाच्नु पर्दैन। मानवको जीवन दृष्टि योगमय भएन भने रोगमय परिणाम निश्चित छ। त्यसैले दैनिक शारीरिक क्रिया, योग र सकारात्मक सोच आजको परम आवश्यक वस्तु हो।

३.     खानपिन

क्यान्सर विभिन्न कारणबाट हुने एउटा भयावह रोग भए पनि यसलाई नियन्त्रण र रोकथाम गर्न सन्तुलित एवं स्वस्थ खानाको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्यवर्द्धक खानाले शरीरलाई सधैं स्वस्थ एवं सक्रिय राख्ने हुनाले ३० देखि ४० प्रतिशतसम्म क्यान्सरको खतरालाई रोक्न सक्दछ। प्रत्येक दिनको खानामा गेडागुडीको सुप, दाल, भात, आलु प्रशस्त मात्रामा सागसब्जी र दैनिक घटीमा ३०० ग्राम शुद्ध द्ध फलफूल -वयस्कका लागि) खानु पर्दछ। अन्नभन्दा सागसब्जी र फलफूलको मात्रा बढी हुनु पर्दछ। उसिनेको र बफाएको खाना, पोलेको, भुटेको र तारेको खानाभन्दा लाभदायक हुन्छ।

४.     शाकाहारी खाना

मानव जातिले सबै प्रकारका खाना सेवन गर्ने गरेको भए पनि शरीरको संरचना र पाचन प्रणालीका हिसाबले शरीर सधैं स्वस्थ राख्न शाकाहारी खाना उत्तम मानिन्छ। पाँच सय ग्राम शुद्ध हरियो सागसब्जी वा फलफूल पाँच घण्टामा पचाउन सक्ने पाचन प्रणालीलाई एक सय ग्राम मासु पचाउन तीन गुणा बढी समय लाग्ने विज्ञहरूको भनाइ छ।

५.     मांसाहारी खाना

मांसाहारी खाना सेवन गर्नेहरूले पनि रातो मासुको सेवन कम गर्नु पर्दछ। रातो मासु भन्नाले राँगा, खसी, बोका, च्याङ्ग्रा, भेडा तथा बंगुरको मासु भन्ने बुझिन्छ। विज्ञका अनुसार पाचन प्रणालीका हिसाबले पाचन प्रणाली ठीक रहँदासम्म २४ घण्टामा बढीमा एक सय ग्रामसम्म सेवन गर्न सकिन्छ। सकेसम्म सेवन नै नगर्नु वेस। रातो मासुभन्दा सेतो मासु लाभदायक देखिन्छ। सेतो मासु भन्नाले माछा र कुखुराको मासु भन्ने बुझिन्छ। माछा र कुखुराको मासु पनि वर्षमा आठ किलोभन्दा बढी सेवन गर्नु राम्रो मानिँदैंन।

६.     रक्सी सेवन :

स्वस्थ मानिसमा पनि रक्सी सेवनले क्यान्सरको खतरा बढ्न सक्दछ। तर स्तरीय रक्सीहरू सीमित मात्रामा सेवन गर्दा शरीरलाई आवश्यक अल्कोहल प्राप्त भई मुटुसम्बन्धी रोगलाई फाइदा गर्ने र खाना पचाउनमा पनि आंशिक मद्दत गर्ने विश्वासलाई दृष्टिगत गर्दा वयस्क पुरुषले दिनको दुर्इ पेग र महिलाले एक पेगमा सीमित राख्नुपर्ने हुन्छ। अल्कोहलमा हुने इथानलको मात्रा १०-१५ ग्रामभित्रको हुनु उपयुक्त मानिन्छ। तर क्यान्सर रोगीका लागि भने रक्सीसेवन पूर्णरुपमा बर्जित गरिएको छ।

७.     प्रशोधित खाना

प्रशोधित खानाहरू शरीरका लागि हानिकारक मानिन्छन्। प्रशोधित खाना भन्नाले अचार, कृत्रिम तत्वहरू मिसाएर टिनको डिब्बामा बन्द गरी सञ्चित गरेको खाना, मासुमा सेकुवा, ससेज, बेसन तथा सलामी, त्यस्तै लामो समय -१ महिनाभन्दा बढी)सम्म नुन मिसाएर बनेका खाद्य पदार्थहरू खानु क्यान्सरको खतरा बढाउनु हो। स्मरण रहोस्, नुनको मात्रा शरीरलाई आवश्यक भएता पनि दैनिक १० ग्रामभन्दा बढी नुनले क्यान्सरको खतरा बढाउँछ।

८.     परिपूरक खाना

क्यान्सरको खतरा कम गर्न अथवा शरीर स्वच्छ राख्न प्राकृतिक खाद्य पदार्थको मात्रा मिलाएर आवश्यकता अनुसार सेवन गरेमा मात्र सम्भव छ। कृत्रिम पोषण तत्वले क्यान्सरको खतरा बढाउन सक्छ।

९.     आमाको दुध

बच्चा जन्मेको एक घण्टामा स्तनपान गराउन सके २२ प्रतिशत मृत्युदर रोक्न सकिन्छ। विशेष कारणवस आमाले शिशु स्याहार पुर्‍याउन नसक्दा वा स्तनपान गराउन नसक्दा विकल्प खोज्नु स्वभाविक पनि हो तर कम्तिमा छ महिना स्तनपान गर्न पाउनु शिशुको जन्मसिद्ध अधिकार हो। स्वस्थ आमाको दूधमा ८८.२० प्रतिशत पानी, १.२५ प्रतिशत प्रोटिन, ७.२ प्रतिशत ल्याक्टोज, ३.१ प्रतिशत चिल्लो पदार्थ र ०.२८ प्रतिशत क्याल्सियम खनिज तत्व भिटामिन इन्जाइम तथा थुप्रै शक्तिवर्द्धक तत्व पाइन्छन्। बच्चाको शारीरिक आवश्यकता अनुसार मस्ितष्क विकास गर्न जरुरत पर्ने सबै एमिनो एसिड पाइन्छन्। दूधमा पाइने इम्युनोग्लोबिन एले रोगसँग लड्न एन्टीबडीको काम गर्दछ र हेमलेटले क्यान्सर कोषलाई समाप्त गर्ने र स्वस्थ कोषलाई केही नगर्ने हुँदा क्यान्सर रोग विरुद्ध लडी क्यान्सर हुनबाट बचाउँदछ। स्मरण रहोस्, आजका दिनसम्म प्राप्त उपलब्धि, उत्पादित क्यान्सर रोगका औषधिहरू वा रेडियसनले क्यान्सरका कोषकोशिकालाई नष्ट गर्नुका साथै स्वस्थ कोषकोशिकालाई पनि नष्ट गर्दछ। दुर्इ वर्षसम्म स्वस्थ आमाको स्तनपान गर्ने बच्चा क्यान्सरलगायत थुप्रै रोग लाग्ने खतराबाट बच्न सक्दछ।

१०.    क्यान्सर रोगबाट निको भएकाहरू

अधिकतम क्यान्सर रोग सिर्जना मानिसको आफ्नै कारणबाट भएको देखिन्छ। यो रोग नेपाललगायत विश्वमै समस्याका रुपमा देखिएको छ। नेपालजस्तो भूपरिवेष्ठित, अल्पविकसित मुलुकमा यसको प्रकोप बढ्दो छ। धेरैको सही समयमा निदान हुन सकेको छैन। अधिकांश (८० प्रतिशत) क्यान्सर रोगीको मृत्यु भएको छ। यो डरलाग्दो अवस्थामा नयाँ क्यान्सर रोगीको मनोवल गिर्नु स्वभाविक मानिन्छ।

नयाँ क्यान्सरका रोगीलाई माथि उल्लिखित विषयबारे जानकारी र सम्बन्धित विशेषज्ञबाट उचित परामर्शको आवश्यकता पर्दछ। साथसाथै, क्यान्सरबाट पूर्णरुपमा निको भएर सफल जीवनयापन गरिरहेका मानिसको भोगाइ, अनुभव र सफलताका शब्द प्रत्यक्ष रुपमा सुन्न पाउँदा नयाँ रोगीमा सकारात्मक सोचको विकास हुन्छ। दृढ इच्छाशक्ति आउँछ अनि रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति बढेर उपचारमा सहज हुन्छ।

(लेखक नेपाल अर्वुदरोग निवारण संस्था कास्कीका उपसभापति हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै