कृषि पर्यटनको आधार : असारे रोपाइँ महोत्सव

नेपालमा दुइ तिहाई जनसंख्याको जीवन जीउने आधार लिएर बसेको कृषि क्षेत्रको विकास विना आर्थिक तथा सामाजिक रुपान्तरणको सपना पूरा हुन सक्दैन। कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म नेपालको विकास परिकल्पना अधुरो नै रहने निश्चित छ।

आदर्श समाज सम्वाददाता
असार १५, २०७३

ropai_masina

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला

बनाइ कुलो, लगाइ पानी आएर गोडौंला

भनेर सानी पटुकी रातो बाँधेर झरेकी

धमिलो खोला बाढीले होला कसरी तरेकी

उल्लिखित कविताका पङ्क्तिले असार महिनामा किसानको मनभित्रका अपेक्षा र वर्षात्को मौसममा आइपर्ने चुनौतीलाई एकैसाथ संकेत गरेको छ। असारको महिना देशैभरि मनसुनी वर्षा सक्रिय हुने मौसम हो। यो मौसममा खेतबारीदेखि खोल्सा-खोल्सीसम्म मूल फुटाएर पानी छताछुल्ल भएको हुन्छ। धानको बीउ रोपेर फलाउने एउटा कृषकको रहरलाई खहरे खोलाको बाढीले पनि रोक्न नसक्ने यथार्थलाई कविले आर्श्चर्यका साथ प्रकट गरेका छन्। रोपाइँ गरी धान खेती लगाउने महिना असारले नेपाली समाजमा विशेष महत्व राख्दछ। खाद्यान्नको प्रमुख स्रोत धान फलाउनका लागि धानको लहलहाउँदो हरियो बिउलाई खेतको दबदबे हिलोमा रोपेर त्यसको सुरुवात गरिन्छ। हाम्रो देशमा राज्यले समेत एउटा विषेश पर्वका रुपमा असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरी रोपाइँमार्फत् धान उत्पादन गतिविधिमा लागेका कृषकलाई प्रोत्साहन गर्ने नीति लिएकोे छ।

कृषिप्रधान देश नेपालका करिब ६८% मानिसको प्रमुख व्यवसाय नै कृषि हो तर विडम्बना हामी ठूलो परिमाणमा कृषिजन्य वस्तु धान, गहुँ, तरकारी आदि आयत गरी परनिर्भर भएका छौं। हाम्रो देशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३४% छ। कृषि उत्पादनकवारे चर्चा गर्दा प्रमुख खाद्यान्न वालीका रुपमा धान, मकै, गहुँ, कोदो आदिले महत्वपूर्ण स्थान राख्दछन्। त्यसमा पनि हामी नेपालीको खाना खाने स्वभावलाई हेर्दा प्रायः दिनमा दुर्इ-तीन पटकसम्म धानको चामलबाट बनाइने भात, रोटी, पुलाउ आदि परिकार खाने प्रचलनबाट पनि हाम्रो समाजमा धान उत्पादनको आवश्यकता र असारे रोपाइँको महत्व स्पष्ट हुन्छ।

जीवन निर्वाहको प्रमुख स्रोत खाद्यान्न हो र यसको उत्पादन किसानमार्फत् हुने गर्दछ। नेपालमा दुइ तिहाई जनसंख्याको जीवन जीउने आधार लिएर बसेको कृषि क्षेत्रको विकास विना आर्थिक तथा सामाजिक रुपान्तरणको सपना पूरा हुन सक्दैन। कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म नेपालको विकास परिकल्पना अधुरो नै रहने निश्चित छ। कृषि पेशालाई आकर्षक बनाउन उन्नत बीउ, विजन, मलखाद र उन्नत खेती गर्ने प्राविधिक ज्ञानलाई राज्यको नीतिले कति किसानमुखी बनाउन सकेको छ – खेतीयोग्य भूमिको उचित व्यवस्थापनदेखि कृषि उत्पादनमा आधुनिक प्रविधिकोे उपलब्धता र उत्पादित वस्तुको बजारीकरणसम्मका गतिविधिमा राज्यको नीतिले कति सम्बोधन गरेको छ – आफ्नो बारीमा नगदे तथा खाद्यन्न बाली फलाउन छोडेर अरबको मरुभूमिमा न्यून बेतनमा जोखिमयुक्त काम गर्न किन पलायन भएका छन् नेपाली युवा ?  किसानलाई प्रोत्साहन गर्न कागजमा लेखिएसम्मका विषय व्यवहारमा कति कार्यान्वयन भएका छन् ? यी विषयको गम्भीर समीक्षा गरी अपेक्षित सुधारका लागि पहल गर्नु आवश्यक देखिन्छ। त्यसैले असार १५ को रोपाइँ महोत्सव वा धान दिवस केवल औपचारिकताका लागिमात्र सिमित नहोस्। यसले कृषि उत्पादनमा सरिक हुँदै राष्ट्रिय उत्पादकत्व बढाउने वर्ग र समुदायमा थप प्रेरणा र उत्साह थप्ने गरी यसलाई प्रवर्द्धन गरोस्। कृषि पेशालाई व्यवसायीकरण गर्दै आत्मसम्मानका साथ राष्ट्रिय उत्पादनमा सरिक हुने संस्कृति निर्माण गर्नु आजको आवश्यकता हो।

पर्यटकीय सहर पोखरा ताल, तलैया र सुन्दर हिम शृङ्खलाको दृश्यसहितका प्राकृतिक छटाले भरिपूर्ण हुनका साथै खाद्यन्न, फलफूल तरकारीलगायतका कृषिजन्य उपजका लागिसमेत उत्तिकै लोकप्रिय स्थान हो। असार लागेपछि उपत्यका स्थित धान खेतका फाँटमा धमाधम रोपाइँ भइरहेको छ। सामान्यतया असारको महिना रोपाइँ गर्ने, मकै तथा हिउँदे धान थन्काउने आदि कार्यले किसानलाई कामको चटारो नै पर्दछ।

पोखराको पर्यटन मूलतः छोटो तथा लामो दूरीको पदयात्रा गतिविधिमा आधारित छ। पोखरा पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रको पदयात्रा सुरुवात वा विश्राम गर्ने स्थान हो। पदयात्रामार्फत् हाम्रा प्राकृतिक सम्पदा एवं सांस्कृतिक गतिविधिलाई हेरेर आनन्द लिन पर्यटक आउने गर्छन्। त्यसमा पनि पोखरा आउने पर्यटकमध्ये करिब ६५% पदयात्रा गर्नकै लागि आउने गर्दछन्। मनसुनी वर्षाका कारण खोलानाला बढ्ने, वनजङ्गल एवं बुटयान बढेर झाडी हुने, बाटो चिप्लो एवं भिरालो स्थानमा पहिरो जाने समेतका असजिलो अवस्थाका कारण यो मौसम पदयात्राका लागिसमेत अनुपयुक्त मानिन्छ।

यसर्थ पोखराको पर्यटनलाई मनसुनी वर्षात्को समयमा पनि सदावहार बनाउने सर्न्दर्भमा असारे रोपाइँ एक महत्वपूर्ण अवसर भएको छ। पोखरा सबै मौसमको लागि गन्तव्य स्थल हो भन्ने सन्देशका दिन पोखरा पर्यटन परिषद्ले प्रत्येक वर्ष पोखराका विभिन्न फाँटमा रोपाइँ महोत्सव गर्दै आएको छ। यस वर्ष पनि असार १५ गते महतगौडा स्थित सातमुरे फाँटमा रोपाइँ महोत्सव गर्ने तयारी छ। असारे रोपाइँ महोत्सव कृषि पर्यटनकै एक अभिन्न अंग हो। ग्रामीण पर्यटनकीय गतिविधिअन्तर्गत कृषि उत्पादनको जुन परम्परागत शैली छ, त्यो हाम्रा विदेशी पाहुना वा पर्यटकका लागि एक नौलो अनुभुति दिने खालका छन्। हलगोरु नारेर परम्परागत औजारको प्रयोग गरी नेपाली मौलिक पोशाक एवं वर्षात्को पानीबाट ओतिन प्रयोग गरिने छत्री, स्याखुजस्ता सामाग्रीको प्रयोग पर्यटकका लागि विशेष आकर्षणका विषय हुन्छन्।  यस्तै परम्परामा हुर्किएका हाम्रालागि त आनन्दको अुनुभूति हुने यस्ता गतिविधिले विदेशी पर्यटक नरमाउने त प्रश्नै भएन। केवल हामीले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु आवश्यक छ।

पर्यटन बिभिन्न गतिविधिमध्ये कृषि पर्यटन ग्रामीण तथा दीगो पर्यटन गतिविधिसँग सम्बन्धित छ। यसले परम्परागत मूल्य, मान्यता, सीप, प्रविधि, जीवनशैली आदिको संरक्षण गर्दै वैकल्पिक आम्दानीको ढोका खुलाउँदछ। कृषि पर्यटन गतिविधि हाम्रो देशमामात्र गरिएको नौलो प्रयास भने होइन। दक्षिणी थाइलैण्डमा गरिने नरिवल खेती, इण्डोनेसियामा धान रोपाइँ, जापान तथा कोरियाका ग्रामीण इलाकामा फलफूल तथा तरकारी वगैंचा भारत तथा श्रीलङ्काको चिया बगानमार्फत् कृषि पर्यटन गतिविधिलाई अगाडि बढाइरहेका छन्। यस सर्न्दर्भमा हामीले हाम्रो देशको मुख्य पेशाको रुपमा स्थापित कृषि क्षेत्रलाई पर्यटन गतिविधिको अभिन्न अंगको रुपमा विकास गर्नु अति सान्दर्भिक देखिन्छ। आफ्नो परम्परागत उत्पादन शैलीप्रतिको हिनतावोध र गुलामी संस्कृत्रि्रतिको मोहले विदेश पलायन भइरहेका युवालाई कृषि र पर्यटन व्यवसायमार्फत् छुट्टै आकर्षण प्रदान गरी कृषि उत्पादकत्वमा वृद्धि गर्नुका साथै पर्यटन व्यवसायमार्फत् किसानको आयआर्जनको वैकल्पिक स्रोतमा समेत सकारात्मक असर पर्ने अपेक्षा गर्न सकिन्छ। यस अर्थमा हाम्रो प्रमुख खाद्यान्न वाली धान रोपाइँ गर्ने असार महिना र धान रोपाइँलाई विशेष उत्साहपूर्वक सम्पन्न गर्नु आवश्यक छ।

अन्तमा, मगमगाउँदो पोखरेली मसिनो, जेठो बूढो धानका वाला झुल्ने पोखरा उपत्यकामा रहेका  फाँटहरू कंक्रिट जंगलमा रुपान्तरित भइरहेका छन्। कम्तिमा पनि सिंचाइ सुविधा नपुगेका पाखो वारी, ढुङ्यान तथा रुखो क्षेत्रमा वस्तीको विकास गर्दै पाँगो माटो युक्त धान तथा गुहँका वाला झुल्ने फाँटको संरक्षण गर्न सकेमा पोखरा कृषि पर्यटनका हिसावले समेत उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ। राजनीतिक रुपमा अत्यन्त तरल र सङ्क्रमणकालीन अवस्थामा रहेको देशको वस्तुगत परिवेशभित्र सिमित भू-माफियाका गतिविधिले हाम्रो जीवनशैली र उत्पादन प्रणालीलाई नै चुनौती दिइरहेको छ। आशा गरौं,सम्वन्धित निकायले उपयुक्त नीति र निर्णयका आधारमा खेती योग्य जमिनको अनावश्यक खण्डीकरणलाई निरुत्साहित पार्दै तिनको संरक्षणका लागि किसानलाई प्रोत्साहन दिने कार्यको छिट्टै थालनी हुनेछ। पोखरालाई कृषि उत्पादन र पर्यटन गतिविधिको संगम कृषि पर्यटन गन्तव्यका रुपमा समेत विकास गर्न सम्बन्धित निकायले आवश्यक ध्यान दिनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै