किन विदेसिन्छन् नेपाली ?

आर्थिक नीति सुधार गरौं, देश बन्न समय लाग्दैन। अहिलेकै पुस्ताले युरोपेली मापदण्डमा जीउन पाउँनेछ।

आदर्श समाज सम्वाददाता
असार ८, २०७३

हामी नेपालीले विगतको शासन पद्दतिलाई फाली नयाँ पद्दति थालनी गरेका छौं। नेताहरू भन्ने गर्दछन्, नयाँ नेपाल कसका लागि केका लागि, कस्तो हो – भूगोल फेरेर र कानुन बदलेरमात्र नयाँ नेपाल हुने हो कि व्यवहारिक रुपमा पनि नयाँ नेपाल बनाउने हो यहाँ विचारणीय कुरा धेरै छन्। पहिला शाह वंशको शासन कालमा पारिवारिक भत्ता खाएर देशमा विकास भएन भनियो। अहिले वरिष्ठ पद धारण गर्ने व्यक्तिहरूले पदबाट छाडेपछि पनि विलासी जीवनयापनका लागि सरकारी ढिकुटीबाट भत्ता, भाडा, घर, सचिवालयदेखि गाडी, पेट्रोलसहितको सुविधा लिने-खाने गरेकोबाट जनतालाई नयाँ नेपाल बन्ने रहेनछ भन्ने परेको छ। उनीहरूलाई यो त भ्रम रहेछ भन्नेसमेत परेको छ।

जहाँसम्म नेपालको परम्परा र मानसिकता परिवर्तन हुँदैन तबसम्म सर्वसाधारणको अपेक्षा बमोजिमको नयाँ नेपाल बन्दैन। उनीहरूले यसको अनुभूति लिन पाउन सम्भव छैन किनभने पहिला पनि संसदहरूले पेन्सन पाउने विधेयक पेश भएको थियो। जनताले विरोध गरेपछि सो विधेयक पारित भएन। अहिले पनि बिना कानुन राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुखसमेतका वरिष्ठ ओहोदामा आसिन भइ पदमुक्त भएका व्यक्तिहरूलाई मनग्ये सुविधा र सुरक्षा दिइएको छ। यस्तो कार्य हाम्रोजस्तो विपन्न मुलुकको लागि सुहाउने विषय होइन। राजनीति गर्नेले देश र जनताको सेवा गर्नुपर्नेमा आ-आफै सुविधा बढाउने नीति निर्माण गर्नु राम्रो भएन। जनताले भोट दिएर राष्ट्रको सम्मानित पदमा पुर्‍याएका व्यक्तिहरूले जनतालाई हेर्ने हो कि आफै भोगी हुने हो यस्ता विषयमा नेताजी भनाउँदाहरूले सोच्नु जरुरी छ। होइन भने जनतालाई लोकतन्त्र आएको अनुभूति केले दियो, भाषणले मात्र अबका जनताले विश्वास मान्न छाडे। देश थप गरिबीको भासमा जाँदै छ। नेताहरू बेलायत, जापान, अमेरिका भ्रमण गर्ने, सिंगान पातलो भए पनि उपचारको निहुँमा विदेश जाने, दूरदराजका जनताले सिटामोल नपाउने स्थिति विद्यमान छ। तिनै जनताले तिरेको राजश्वमा नेताहरू रमाउने के यो लोकतान्त्रिक पद्दतिभित्र पर्ने विषय हो – हो भने हामी जनताले केका लागि निर्वाचनमा भाग लिइ भोट दिने – यस्तो कुरा सुन्नेलाई पनि दुःख लाग्छ। जुन देशमा शासन पद्दति र मानवअधिकारको उपभोग गर्न जनताले पाएका छैनन्, त्यस देशमा लोकतन्त्र छ भन्नु भ्रममात्र हो। देश विकास गर्न विचार र सिद्धान्त अपरिहार्य हुन्छ। यहाँ नेताहरू उच्च पदमा जानका लागिमात्र राजनीति गर्ने पद्दति मौलायो। जहाँका युवा रोजगारीमा दैनिक हजारौंको सङ्ख्यमा विदेश पलायन हुनु परेको छ। विदेशीका सामु नेपाली भनेर गर्व गर्ने र मर्यादित हुने अवस्था छैन। विदेशीसँग अनुदान र भिक्षा लिएर देशको सार्वभौमसक्ता धानिएको छ। त्यस देशमा नेताहरूले साविक पदमा रहँदा सरहको सुविधा लिने गरेका छन्। त्यसरी पेन्सन, भत्ता खान त २०/३० वर्ष कर्मचारी भएर कार्यालयमा बसे भयो, किन नेता बन्ने ?

देश बन्नको लागि यति धेरै पार्टीहुनु आवश्यक पनि छैन। पार्टीको सदस्य भएपछि आफ्नो नेताले नराम्रो काम गरे पनि ढाकछोप गर्नुपर्ने, पार्टीचलाउन र कार्यकर्ता मोबिलाइजेसन गर्न अको रकम पनि सरकारले अनुदान दिने परम्परा थालनी गरेको छ। यो पनि आवश्यक कुरो होइन। जुनबेला नेपालमा जग्गा अध्रि्रहण गर्दा सरकारले क्षतिपूर्ति दिन नसकी मालपोतबाट शोधभर्ना गर्ने गरी रकम दिइन्थ्यो, त्यो बेलाका जनता सुखी थिए, धनी थिए। अहिले भैंसीपालन, गाईपालनदेखि प्रत्येक व्यवसायीबाट कर लिइएको छ। विदेश जाने युवाबाट रेमिट्यान्स आएको छ, करको दायरा यति ठूलो छ तर रोजगारको अवसर केही छैन।

यो नियालेर जनताको घरमा हेर्ने हो भने विदेश नजानेको घरमा शिक्षा, स्वास्थ्यमा खर्च गर्न कठिन छ। देश बनाउन दृष्टिकोण चाहिन्छ। सरकार बनाउने र फाल्ने काम मात्रको लोकतन्त्र जनतालाई के काम लाग्यो। ६-६ महिनामा प्रधानमन्त्री फेरेर पुरुषार्थ देखाउनेले देश बनाउँदैनन्। जुन सरकारले विकासको बजेट घोषणा गरेको छ, त्यो सम्पन्न नगरेसम्म हेर र कुर भन्ने नीति लिनुपर्छ अनि घोषणा गरेको काम पूरा गर्न नसकेमात्र सरकार असफल भएको मानिन्छ। यहाँ त गणितीय हिसाबले सरकार चल्ने, चलाउने प्रवृत्ति भएकाले पनि देशले शिर उठाउन सकेको छैन।

देश बन्न विचार, प्रविधि र स्थायी शासन पद्दति आवश्यक छ। विदेशमा सरकार परिवर्तन भए पनि विदेश नीति एउटै हुन्छ। शासन पद्दतिमा त्यति फरक पर्दैन। यहाँ त राष्ट्रिय स्वार्थ हैन, विदेशको स्वार्थ पूरा होस्, बरु आफ्नै अनिष्ठ होस् भन्ने सोचिन्छ। यसरी देशमा राजनीतिक स्थिरता हुन सक्दैन। नेताहरूले नजानेर यस्तो गरेका होइनन्, जानजानी आवश्यक काम नगरेका हुन्। तसर्थ अब जनता नै सचेत भएर पार्टीर गुटको पछि नलागी स्वतन्त्र विचार दिने बानी पनि बसालौं।

हाम्रो देशले २०४६ सालमा भएको राजनीतिक परिवर्तनपछि अग्रगति लिनुपर्नेमा विस्तारै आर्थिक विपन्नता बढ्दै गएको र अझै २०५२ सालदेखि सशस्त्र व्रि्रोह, भूकम्प एवं नाकाबन्दीले पनि हामीलाई स्वतन्त्र रुपमा बाँच्नबाट प्रतिबन्ध लगायो। यी, यस्ता घटना भए पनि देश उभो लगाउन विचार नै चाहिन्छ। विगत ३० वर्षमा हाम्रोभन्दा कम आय भएका चीन पाकिस्तान, सिंगापुर, भुटानजस्ता देश आज नेपालभन्दा कैयौं गुणा बढी आर्थिक उन्नति गरेर छिमेकी देशलाई सहायता दिन सक्षम भइसकेका छन्। हाम्रो देशमा सद्विचारका नेता नहुँदा राज्यप्रति जनताको विश्वास घट्दै गएको छ। सक्षम युवा विदेश जाने, गाउँ रित्तै हुने, विकासमा पहुँच कम हुनुको मुख्य कारण हो। त्यसैले राजनीति होइन, आर्थिक नीति सुधार गरौं, देश बन्न समय लाग्दैन।  अहिलेकै पुस्ताले युरोपेली मापदण्डमा जीउन पाउँनेछ।

हामी कुनै विचारप्रति आबद्ध त हुँला तर त्यो विचार भनेको निर्वाचनका बेलामा प्रयोग हुने हो। सधैँ कसैको भक्त भएर कसैको गुण गान गाएरमात्र हिड्ने होइन। विवेकले देशेको कुरा क्षमताले भ्याएसम्म अभिव्यक्त गर्ने बानी हुनुपर्छ,। हामी नेपाली विपन्न समुदायको नजरमा कस्तो छवि देखिएको र यसमा सुधार हुन के गर्नुपर्छ, अब उन्नति कुनै एउटा राजमार्ग सुधार गरेर कुनै एउटा पक्की पुल बनाएर वा एउटा उद्योग खोलेरमात्र हुने होइन। देश उभो लाग्न पहिलो स्रोत जलविद्युत आयोजना, खानी उत्खनन् एवं कृषिमा सुधार गरेर विदेश पलायन भइरहेका युवालाई नेपालमा नै रोजगार प्रदान गर्न पहल गर्नुपर्छ। आफ्नो क्षमताले भ्याए राम्रो नभ्याए विश्वका विकसित राष्ट्रको सहयोग लिनु लिक्वान युको बाटो दक्षिण कोरियाको नीति अवलम्बन गर्न जरुरी छ।

Related News

सम्बन्धित समाचार

hero news full width