ओली कामरेड, बोलीको पनि तौल हुन्छ

हावाबाट बिजुली निकाल्नेबाट आरम्भ भएको ओलीको ‘किस्से रेल’ लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हलसम्म आएर रोकिएको छ। तर, यहीँ रोकिनेवाला छैन। अझ बेगले दौडनेछ, जतिञ्जेल उनी सिंहासनबाट धरातलतिर र्फकने छैनन्।

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७३

भनिन्छ, ‘बोली बन्दुकको गोलीजस्तै हो।’ जसरी बन्दुकको गोली फर्केर आउँदैन, त्यसरी नै बोलिसकेको कुरालाई फेरि आफ्नो वशमा ल्याउन असम्भव हुन्छ। चिनियाँ आध्यात्मिक दार्शनिक कन्फ्युसियस भन्थे, ‘आफूले बोलेको कुरामा प्रायः मलाई पश्चाताप हुन्छ। तर, चुप लाग्नुमा कहिल्यै हुँदैन।’ कन्फ्युसियसको भनाइको अन्तवर्स्र्तुले भन्छ, ‘हतार वा आवेगमा गलत बोलेर पछुताउनुभन्दा मौन बस्नु नै बुद्धिमानी हुन्छ।’

एक दिन भूकम्पले भग्नावशेषमा फेरिएको बस्तीमा पुगेँ। भूकम्पले सिङ्गो बस्ती खण्डहरमा परिणत भएको थियो। मानिसहरू कटुसको स्याउला बारेर बनाइएको छाप्रोमा रात काट्दै थिए। जब आकाश गर्जन्थ्यो, मनमा पीडाको रेल कुद्थ्यो, भयको ढयाङ्ग्रो ठोक्थ्यो, तन आकुलव्याकुल हुन्थ्यो। पानी परेपछि छाप्रोभित्र स्याखु ओढेर पानी तर्काउँथे। उनीहरू नेता चिन्दथे। तर, सरकार चिन्दैनथे। दोषी भाग्यलाई सरापेर दिन बिताउनु उनीहरूको दैनिकी हुन्थ्यो। खण्डहर बस्ती विवशतापूर्वक नियालेर र्फकंदै थिएँ। हाम्रा प्रधानमन्त्री भाषण गर्दै थिए। स्वप्नद्रष्टा प्रधानमन्त्रीको मुखारबिन्दुबाट सपनाको वर्षा भयो, ‘अब नेपालले आफ्नै पानीजहाज किन्छ। प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डा फहराउँदै तीन दिनमा नेपाल सामान भित्रयाउँछौं।’ बजेटपछि सत्ताको चाबी प्रचण्डलाई सुम्पने लिखितम् गरेका म्यादी प्रधानमन्त्रीको उल्का वर्षाले जगतै चकित भयो।

स्याउलाको छाप्रोभित्र टिभी पक्कै थिएन। तर, पीडितले रेडियोबाटै ओली वाणी पक्कै सुने। स्याउलाको छाप्रोबाट क्षतविक्षत हृदयले पानीजहाजको कल्पना कसरी गर्दा हुन् – म आफैं बिलखबन्दमा परें। त्यही बेला हाँस्य टेली शृङ्खलाको एउटा किस्सा याद आयो, ‘खान लाउन पो दुःख छ, पैसाको त छैन नि। पैसा त आज नभएर भोलि हुन्छ।’ ओलीको पानीजहाजको किस्साले यसलाई माथ गर्थ्यो। मनमनै सोचें, ‘ओली बाल्यकालदेखि नै अभिनयमा लागेका भए कस्तो ख्याती कमाउँदा हुन् झ्’

अनलाइन हेर्छु, पत्रिका पढ्छु। सबैतिर देख्छु, ‘हाँस्य कलाकार धुर्मुस-सुन्तलीको जोडी भूकम्प प्रभावित बस्तीमा ढुङ्गा बोक्दै छन्।’ उनीहरूको पक्षमा सामाजिक सञ्जाल रङ्गिन्छ। कतिले भन्छन्, ‘धुर्मुस तिमी नेता नभएर किन अभिनेता भयौं ?’ यता, ओली छ महिनादेखि पूरैका पूरै अभिनेताको भूमिकामा छन्। दर्शक भन्छन्, ‘यिनको कार्यक्रम छुटाउनै हुन्न। कम्तिमा दिनभरि हाँस्न पाए आयु त बढ्छ।’ अनि, ओली टुक्काका पारखीको पुकार पनि उस्तै छ, ‘ओली कामरेड, तिमी अभिनेता हुनुपर्नेमा किन नेता भयौं ?’ यहाँ नेता हुनुपर्ने अभिनेता भयो, अभिनेता हुनुपर्ने नेता भयो ? दोष कसलाई दिनू ? जनता रनभूल्लमा छन्।

पानीजहाज किन्ने ओली वाणीपूर्व दर्जनौं महावाणी बजारमा आए। नाकाबन्दीले नागरिक आक्रान्त थिए। २/४ माइल लामो तेलको लाइन हेर्दा आँखा पाटि्टन्थे। खडेरीमा पानी बनेर ओलीवाणी बर्सियो, ‘अब नेपालमै तेल निकालिन्छ। नाकाबन्दीको चिन्ता नगरौं।’ देश अट्टाहास हाँस्यो। जबजका अनुयायीहरू रातभर जाग्राम बसे। साङ्लाले बिस्टाएको दराज खोले। ओलीवाणीको सत्य खोज्न रातभर घुँडा धसे। प्रतिरक्षाको छेस्को उठाउने प्रयत्न गरे। तर, नागरिक हुरी निकै शक्तिशाली थियो, सुदूर क्षीतिजमा मसिनो क्रन्दनबाहेक अरु हात लागेन।

बजारमा ग्यासको हाहाकार मच्चियो। कालोबजारीले डाँडो काटयो। चाँबी हातमा लिएका मन्त्रीहरू पनि लुखुरे देखिए। सरकारी अधिकारी नेपालकै होलान् त, भन्नेसम्मको लख काटियो। आयल निगम शंकाको घेरामा बाँधियो। तब, ओलीवाणीले नयाँ चमत्कार देखायो। उनले थपे, ‘चुल्हो-चुल्होमा ग्यासको पाइप फिट गर्दिन्छु।’ जनता लाइनमा थिए। १५ रुपैयाँको दाउराका लागि आशा बोकेर धाउँथे, सन्ताप बोकेर र्फकन्थे। तर, ओली यतिमै रोकिएनन्। धक फुकाएर टुक्का थपे, ‘चिन्ता नगर्नुस्, सरकार हावाबाट बिजुली निकाल्दै छ।’ ओलीवाणी पूर्णतः असम्भव थिएन। तर, भोकले मर्नै लागेको मानिसलाई स्र्वर्गको खिरको कथा सुनाएझैं थियो। अनि, देशभर एक पटक फेरि हाँसोको फोहरा छुटयो।

हावाबाट बिजुली निकाल्नेबाट आरम्भ भएको ओलीको ‘किस्से रेल’ लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हलसम्म आएर रोकिएको छ। तर, यहीँ रोकिनेवाला छैन। अझ बेगले दौडनेछ, जतिञ्जेल उनी सिंहासनबाट धरातलतिर र्फकने छैनन्। ‘वी आर विथ युको ब्रोइलर ट्रेण्ड चलेसम्म उनको सपनाको रेल दौडिरहनेछ। अको निर्वाचनमा एमालेले भोट माग्नै नपर्ने परिस्थिति नबनाएसम्म उनले आफूलाई रोकिन आवश्यक ठान्ने छैनन्।

ओलीका किस्सा पछिल्तिर शक्तिशाली पम्प छ। जब, त्यसले दम दिन्छ, ओलीको ‘टुक्के भकुण्डो’ बुरुक्क उप|mन्छ। उनका अनुयायी पनि निम्छरा छैनन्, ओलीवाणीको बचाउमा अहोरात्र खटेकै छन्। उनीहरूका आफ्नै दाबी छन्, तर्क छन्, जसले ओलीवाणीमा उर्जा मिल्छ। उनीहरू भन्छन्, ‘ओली राम्रो सपना देख्छन्, सपना नै नदेख्ने पनि नेता हुन्छ -’ एक मन भन्छ, कति दमदार तर्क – अझ देवकोटाको ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ सुनेपछि त ओलीवाणी ‘देववाणी’झैं लाग्छ। तर, यतिमै मन मान्दैन, अब्दुल कलाम सम्झन्छ। कलाम भन्छन्, सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ। यथार्थमा सपना त्यो हो, जसले निदाउनै दिँदैन।’ मन आफैंलाई सोध्छ, ओली सपना देखेर निदाएका छन् कि सपनाका कारण निदाउनै सकेका छैनन् ?’ जब स्याउलाको छाप्रो रुन्छ, कोशौं लामो लाइन देखिन्छ। तस्करहरू मालिक हुन्छन्। अनि, साझा निष्कर्ष आउँछ, ‘हाम्रा अभिनेता प्रधानमन्त्री मस्त न्रि्रामै छन्।’

ओली सर्मर्थक मङ्गोलियाको उदाहरण दिन्छन्। भन्छन्, ‘मङ्गोलिया भूपरिवेष्ठित भएरै दुर्इ सय ६० पानीजहाज चलाएको छ। के नेपालले सक्दैन ?’ प्रश्न फलामभन्दा बढ्ता घनत्वको छ। विज्ञान भन्छ, ‘किन नसक्नु, गज्जबले सक्छ।’ तर, वर्तमान र व्यवहारले भन्छ, भूपरिवेष्ठितबाहेक अरु कुरामा नेपाल र मङ्गोलियाको तुलना होला -’ भूकम्प पीडितको व्यथा, कुम्भकर्णयसरकार, औसत आय र राजनीतिक अस्थिरताले भन्छ, ‘प्रधानमन्त्री र उनका अनुयायी धरातलमा छैनन्।’ ओलीका सर्मर्थकहरू प्रचण्डले स्वीजरल्याण्ड बनाउने सपना बाँडेकोलाई सिरानी हाल्छन्। तर, यो यथार्थ भुल्दछन् कि त्यो एक रणनीतिक सोच थियो, ओलीको जस्तै रातारात गर्ने किस्सा र ठट्टा थिएन।

यति बिघ्न खानतलासीपछि एउटा प्रश्न पक्कै उठ्छ, ‘अभिनेता भएरमात्रै ओली आठ महिना टिके होलान् ?’ प्रष्ट भन्न सकिन्छ, ‘त्यसै पक्कै टिकेनन्।’ उनका केही गुण अवश्य छन्। दिल्लीले उनकै कार्यकालमा नाकाबन्दीको गुलेली हान्यो। त्यसको मार खेपे। राष्ट्रियता कौडीमा बेचिनबाट जोगाउन मियोकै काम गरे। मधेस आन्दोलनको हुण्डरी चलाइयो। अन्ध-राष्ट्रवादको वकालत गरेरै भए पनि स्वाभिमानको पक्षमा उनी उभिए। नागरिक अभिमतको सम्मान गरे। स्वाभिमानको शिरमा चिसो पानी खन्याएनन्। दवाव र अभावसामु काँपेनन्। प्रचण्डकै सारथि भएर उभिए, स्वाभिमानको झण्डा जोगाए। यसको अवमूल्यन गर्नै मिल्दैन। तर, यसकै प्रकाशमा ‘ओलीवाणी’लाई मोक्ष मिल्दैन।

म्यादी सरकारको आयु एक/दुर्इ महिनाभन्दा बढ्ता छैन। अहिले उनी बोलीमा छन्, बजेटमा टुक्का झुल्कन बाँकी नै छ। यसमा सकभर उनी चुक्ने छैनन्। बजेटमा यस्ता महत्वकांक्षा ओकल्ने छन्, त्यसले वाहीवाही बटुल्न सकोस्। किनकि, बजेट कार्यान्वयन उनको दायित्व होइन। खाली कागजमा सत्ता साझेदारीको राजीनामा गरेका उनलाई भाषण गर्ने औजार चाहिएको छ। उनलाई भोट तान्नु छ, चुनाव जित्नु छ। बजेटको सम्भाव्यता र सन्तुलन आफ्नो थाप्लोको भारी ठान्दैनन्। तसर्थ, उनले सामाजिक सुरक्षा भत्ता बढाउनेछन्, एमाले नेताको नाममा स्कूल, बाटो, प्रतिष्ठान खोल्नेछन्, बजेट छुट्टाउनेछन्। खर्चको सामर्थ्य बामपुड्के भए पनि बजेटको आकार बढाउनेछन्। कार्यकर्ताको भरणपोषण गर्नेछन्। उखान-टुक्काको शब्दसागरमा ‘लुटको धन, फूपुको श्राद्ध’ झल्किनेछ। उनलाई धरातलमा टेकेपछि भन्नुछ, ‘एमालेको लोकप्रिय कार्यक्रमको डरले सरकार ढालियो, काम गर्न दिएनन्।’

ओलीवाणी ओबामाको जिब्रोबाट सुन्दा सत्य लाग्थ्यो। कुरा त्यही हो। तर, ओली बोल्दा जगत हाँस्छ। हामी अमेरिका, चीन, बेलायतमा छैनौं, नेपालमा छौं। २४ प्रतिशत जनता अहिले पनि निरपेक्ष गरिबीको रेखामुनि छन्। राज्यका मेसिनरी आफ्नै दिमागले चल्दैनन्, चल्ने रिमोट अन्तै छ। देशका प्रमुख सहरका सडकमा ‘हिले दौड प्रतियोगिता’ हुन्छ। राजनीतिक अस्थिरताले एउटा सरकारको बजेट अकोर्को कार्यान्वयनमा पुग्छ। देशका मेरुदण्ड अरबमा पसिनासँग जीवन साट्दै छन्। यस्तो देशमा ‘टुक्का’ले नागरिकको छाती पोल्छ, जगत लाजले भुतुक्कै हुन्छ।

‘ओली सपनाको बेलुन’ कहाँ पुगेर प्वाट्ट फुट्छ, ठेगान छैन। तर, उनी जितको उन्मादमा छन्। उनी भन्छन्, ‘एमाले कार्यकर्ताको शिर ठाडो हुने गरी काम गर्दै छु।’ ठान्दैछन्, ‘मेरा टुक्काले देशै एमालेमय हुँदै छ।’ उनका दृष्टिमा आलोचक दुराग्रही छन्। उनीको विरोधले माखो मर्दैन। तर, यथार्थले सपना चिन्दैन, धरातल चिन्दछ।

ओली पहिला प्रधानमन्त्री हुन्, अनिमात्र एमाले नेता। सबैभन्दा पहिले उनको तौल देशको तराजुमा जोखिन्छ। त्यसपछि मात्रै एमालेको तराजुमा जोख्ने अनुमति मिल्छ। उनको गरिमा देशको प्रतिष्ठासँग गाँसिन्छ र गाँसिनुपर्छ। यो रेल र पानीजहाजको कुरा गर्ने बेलै होइन। बरु, स्याउलाको छाप्रो हटाएर जस्ताको छाना हाल्ने बेला हो। झुपडीका दर्दलाई शब्दले नभएर कर्मले सम्बोधन गर्ने बेला हो। पुनर्निर्माणको प्रभावकारी कदम चाल्ने बेला हो। तसर्थ, प्रधानमन्त्रीले पानीजहाजको टुक्का छोडेर स्याउलाको छाप्रोतिर चक्षु लगाऊन्, अभिनेताबाट राजनेतामा फड्को हान्ने हिम्मत गरून्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै