आमा मिलनको बचत सहकारी एवं स्मारिकाबारे केही कुरा

आदर्श समाज सम्वाददाता
माघ १२, २०७०

‘यत्र पुज्यन्त्य नारी

रमन्ते तत्र देवता।’

महिलाहरूलाई सक्षम, सबल, क्षमतावान बनाउन आर्थिक सामाजिक, शैक्षिक रूपमा आत्मर्निभर बनाउने कार्यमा सहभागी बनाई उद्यमशीलता तथा व्यवसाय मूलक सीप सिकाउन दक्षताको विकास गर्नु गराउनु नै आमा मिलन केन्द्र कास्कीको पवित्र उद्देश्य रहेको देखिन्छ। महिलाहरूलाई सशक्तीकरणका माध्यमद्वारा सामाजिक चेतनाको अभिवृद्धि गराई उनीहरूको चौतर्फी विकास गर्ने गहनतमय उद्देश्य बोकेको आमा मिलन केन्द्र कास्कीकी नायिका हुनुहुन्छ अक्ष्यक्ष इन्दिरा पौडेल।

२०५१ सालमा स्याङ्जा जिल्लामा आमा मिलन केन्द्रको स्थापना भएपछि संस्थाको अध्यक्षको नेतृत्व लिएर महिला अधिकार र मानव अधिकारका राम्रा र प्रभावकारी काम गर्नुभएको इतिहास छ। इन्दिरा पौडेलले स्याङ्जा जिल्लाका ६८ गाविसका ६१२ वटै वडामा महिला, युवायुवतीको प्रजनन् स्वास्थ्यका विषयमा प्रशिक्षण दिई चेतनामा अभिवृद्धि भएको सर्वविदितै छ। बसाई सराईका कारण जिल्लाको कार्यक्षेत्र छाडी कास्कीमा सर्दा स्याङ्जाली महिलाहरूले रानु हराएको महसुस गरेका थिए र छन्। जिल्लामा उहाँले महिला हक, हित, संरक्षण र भलाईका प्रभावकारी कार्यबाट प्रभावित भई पुरस्कारस्वरूप अवलोकन भ्रमणका लागी अमेरिका पुग्ने सौभाग्य पनि प्राप्त भएको कुरा स्मरण गर्न सकिन्छ।

आफ्नै निजीकरण र व्यवसायका कारण आर्थिक, सामाजिक क्षेत्रले ओतप्रोत बनेको मातृ जिल्ला  छाड्नुभयो। तर उहाँ निस्क्रिय भएरबस्न सक्नुभएन। हुन पनि सामाजिक भावना र चेतना भएको मानिस व्यक्तिगत व्यवसायमा मात्रै चुप लागेर बस्न सक्दैन।उसले समाजप्रति केही न केही चिन्तन र जिम्मेवारी बहन गरिनै रहेको हुन्छ।यही सोचले २०६६ श्रावणमा आमा मिलन केन्द्र कास्की पोखरामा पनि उहाँकै अध्यक्षता र सक्रियतामा जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरी स्थापना गरियो। संस्था खुलेको छोटो अवधिमा विभिन्न सरोकारवाला सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्न र प्रभावकारी कार्य गर्न सफलता प्राप्त गरेको छ यो संस्थाले। अहिले यस संस्थाले सदस्यता वृद्धि गर्दै कार्यक्षेत्रलाई विस्तार गर्दै महिला, युवायुवती, विपन्न, बेरोजगारहरूलाई समेटेर सीपमूलक तथा आयमूलक तालिम प्रदान गर्ने, आयआर्जन कार्यमा महिलाको सहभागितालाई जोड दिने, नेतृत्व विकास र सशक्तीकरणको माध्यमबाट महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी ज्ञान र चेतनामा वृद्धि गर्ने र सार्वजनिक स्वास्थ्य सेवा सुविधाका बारेमा नागरिकलाई सुसुचित गर्ने र जिम्मेवारी र जवाफदेहिताका क्षेत्रमा काम गर्दै आएको देख्न पाइएको छ।

आमा मिलन केन्द्रको माध्यमबाट विविध विषयमा सीपमूलक तालिम लिएकाहरूका लागि आयआर्जनका कार्य सञ्चालन गर्न पूँजीको आवश्यकता परिपूर्र्ति गर्ने उद्देश्यले महिलाहरूको आर्थिक विकासका लागि २०६७ श्रावण १ गतेदेखि भलाईकोषको स्थापना गर्ने कार्य सुरु भयो। एक वर्षसम्म सञ्चालन भएको भलाईकोष अत्यन्त राम्रो र आकर्षक रूपमा सफल देखेपछि आमा मिलन बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने निर्णमा पुग्यो। यसरी आमा मिलन बचत तथा ऋण सहकारी संस्थाले २०६८ श्रावण १ गते जन्म लियो। संस्थाको उद्देश्य अनुसार लै·कि समानताको अवधारणलाई अवलम्बन गरी महिला पुरुषको समान सहभागितामा संस्थाको संरक्षण र सर्म्बर्द्धन कार्यमा ध्रुवराज पौडेलले सहयोग गर्दै आउनुभयो।यसरी इन्दिरा पौडेल र धु्रवराज पौडेलल दुवै जना संस्थाप्रति निस्वार्थ, र्निलिप्त तथा समर्पित भावले आफ्नो व्यवसायलाई त्याग गरी लाग्नुभएको पाइयो। सञ्चालक समितिका पदाधिकारीहरू, शेयर सदस्यहरू, बचतकर्तासँगको राम्रो मित्रवत् सहअस्तित्व, सहबोध, एकाकार र आत्मविश्वासका साथ सशक्तरूपले संस्था सञ्चालनमा लाग्नुभएको छ। सम्बद्ध शेयरधनी  बचतकर्ताहरू पनि सहकारीको मर्म, भावना र उद्देश्यअनुरूप चल्न आतुर र उत्सुक रहेको देख्न र सुन्न पाइएको छ।

आमा मिलन सहकारी स्मारिका अड्ढ १ र आमा स्मारिका अड्ढ २ को छोटो टिप्पणी :-

२०६९ आषाढ ३१ गते आमा मिलन सहकारी स्मारिका २०६९ प्रकाशित भएको रहेछ। यसमा ३७ शीर्षकमा विविध विषयका लेख तथा रचना समेटिएका छन्।इन्दिरा पौडेलका चारवटा लेख भिन्न शीर्षक र विषयमा लेखिएका छन्। रचनाहरू जीवनोपयोगी, मार्मिक र सामाजिक विषयवस्तुले ओतप्रोत रहेका छन्।ध्रुवराज पौडेलको लेखमा आमा बचत तथा ऋण सहकारी संस्थाको उपादेयता, महत्त्व एवं सञ्चालन गतिविधि स्पष्ट पर्न सफल देखिन्छ।बेदकुमार श्रेष्ठ र प्रेमराज पौडेलले पनि सहकारी संस्थामाथि राम्रो प्रकाश पार्नुभएको छ। रचना पाठकलाई राम्रै खुराक दिन सफल छन्। आमा मिलन केन्द्र कास्कीले गर्दै आएका सामाजिक, आर्थिक, शैक्षिक र प्रजनन स्वास्थ्यसम्बन्धी सुधारका प्रयास र प्रयत्न समाजमा स्थापना गर्न खोजेको एकता, सद्भावना, सदाचार तथा सीप, सृजना र जाँगरसम्बन्धी विषयमा कलम चलाउनुहुनेहरू यस प्रकार हुनुहुन्छ। राधादेवी सुवेदी, गोविन्द तुलाचन, सूर्यप्रसाद बराल, स्वर्गीय इन्द्रकुमारी क्षेत्री, चेतनारायण न्यौपाने, शर्मिला लम्साल, कल्पनादेवी बराल, अधिवक्ता सुरेन्द्र थापामगर, नारायणी रेग्मी, विष्णु पराजुली, निर्मला घिमिरे, सरस्वती क्षेत्री, पूजा विक, निर्मला गुरुङ, गंगाकुमारी अर्याल, सोनी लिम्बु, रामकुमार घिमिरे, लक्ष्मी पाण्डे, सीतादेवी आचार्य, प्रेमा गुरुङ, आदि यसरी नै कविता गीत गजलका माध्यमद्वारा गहकिला विचार र भावना पस्कने रचनाकार निम्न अनुसार हुनुहुन्छः-किशोर घिमिरे, करिश्मा रेश्मा सुवेदी, रामकुमार घिमिरे, अनुप आशिष लम्साल, अनु परियार, तुलसी शर्मा रिजाल, रामकुमारी सापकोटा आदि।

यो स्मारिका पाठकसमक्ष ल्याउनुहुने सम्बन्धित सबै पक्ष धन्यवादका पात्र हुनुहुन्छ।साहित्य र लेखनको माध्यमद्वारा समाजोपयोगी कार्य गर्ने उहाँहरू सबैलाई साधुवाद छ।स्मारिकाले निरन्तरता प्राप्त गरोस। उहाँहरूको जोस जाँगर बढोस् भन्ने शुभेच्छा प्रकट गर्दछु।

आमा मिलन केन्द्र, कास्कीद्वारा ‘आमा स्मारिका २०७०’ अड्ढ २ प्रकाशित भएको छ। पहिलो अड्ढ भन्दा दोस्रो अड्ढ आकार र साइजमा सानो देखिए तापनि विचार, भावना सामग्रीले अरु बढी आकर्षक र महत्त्वको हुन आएको पाइन्छ। यस स्मारिकामा धेरै पृथक विषय समेटिएका छन्। यसको छपाई आकर्षक छ। शुद्धता र स्तरियताको हिसाबले पनि उच्च छ।

‘महिला तथा विपन्नहरूको सेवा हो हाम्रो शान’, ‘समतामूलक समाज, दिगो विकास हाम्रो अभियान’ भन्ने मूल नारा अड्ढति छ यसमा। स्मारिकाको सुरु ०६९/०७० एक आर्थिक वर्षभरि संस्थाले गरेका महत्त्वपूर्ण कार्यहरूको फेहरिस्त पृष्ठभूमिअन्तर्गत तस्विर समेत राखेर दिइएको छ। यसले स्मारिकालाई आकर्षक र प्रभावकारी बनाएको छ। राष्ट्रिय गौरवलाई उच्च पार्ने राष्ट्रिय गान र झण्डा पनि रंगीन रूपमा राखिएको छ। प्रकाशकीय समसामयिक र सान्दर्भिक छ। अध्यक्षकोे कलमबाट इन्दिरा पौडेल (अध्यक्ष) को ओजपूर्ण अभिव्यक्ति रहेको छ। आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को संक्षिप्त परिचय दिन सफल देखिनुभएको छ इन्दिरा पौडेल। आमा मिलन केन्द्र र सहकारीमा कार्य गर्ने महिला तथा पुरुषको दायित्व सम्बन्धमा धेरैले कलम चलाउनुभएको छ। महिलाहरूमा चेतना विकाश र सशक्तीकरण, महिलाहरूको सामाजिक, पारिवारिक दायित्व र जिम्मेवारी तथा समाज सुधारमा महिला नेतृत्व अनिवार्य छ भन्ने विषयमा गहन प्रकाश पार्ने सर्जकहरू निम्न अनुसार हुनुहुन्छ- क्रमशः निर्मला घिमिरे, सावित्री भट्टराई, भिमा पौडेेल, नुनु राना, खुमा लम्साल, निर्मला गुरुङ, सावित्री सँग्रौला, विजय अर्याल, कमला श्रेष्ठ, दानकुमारी शर्मा, रामकुमार घिमिरे, शंकर गुरुङ, गंगाकुमारी थापा, इन्दिरा पौडेल, विन्दु र्घर्ती, शुकमाया गुरुङ, फूलकुमारी थापा आदि। उहाँहरूका लेख रचना पठनीय र चेतनामूलक रहेका छन्। अङ्ग्रेजीको लेखमा माला गुरुङले शिक्षित र चेतनशील नागरिक नै अधिकार र कर्तव्यको राम्रो बोध गर्न सक्दछन् भन्नुभएको छ।

लै·कि अवधारणाका बारेमा वेदकुमार श्रेष्ठको लामो लेखले यथेष्ट प्रकाश पारेको छ। यसरी नै प्रजनन् स्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखमा सावित्री भट्टराई र डा.राजेन्द्रकुमार चौधरीले व्यापक र विस्तृतरूपमा कलम चलाउनुभएको छ। स्मारिकाले कृषिको क्षेत्रलाई पनि छोएको छ। कुरिलो खेती गर्ने प्रविधिबारे बेदकुमार श्रेष्ठको लेख अत्यन्त फलदायी रहेको छ।

यसरी महत्त्वपूर्ण सामग्रीले सजिएको स्मारिका प्रकाशन गर्ने आमा मिलन सहकारीका अध्यक्ष इन्दिरा पौडेललगायत सम्पूर्ण सम्पादक समूह र लेखकहरू सबैमा आगामी अड्ढ प्रकाशन गर्ने जोश जाँगर र उत्साह बढोस्, स्तरीय सामग्रीका साथ पाठकसामु आओस् भन्ने शुभकामना राख्दछु।

अन्त्यमा आमा मिलनका अध्यक्ष इन्दिरा पौडेल तथा आमा मिलन बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक तथा कास्की वचत तथा ऋण सहकारी संस्थाका सचिव ध्रुवराज पौडेलको समर्पित भाव लगनशीलता, जोस जाँगर निरन्तर यस संस्थाले प्राप्त गरिरहोस्। सम्बद्ध कार्य समितिका पदाधिकारी र शेयर सदस्यहरू तथा बचतकर्ताको सदासयता सद्भाव एकाकार बनिरहोस्।अनुत्पादक रूपमा छरिएर रहेको स-सानो पँूजीलाई एकतृत गरी लगानीका लागि जम्मा गर्ने आर्थिक संयन्त्र नै सहकारी हो। गरिबी निवारणका लागि सहकारी महत्त्वपूर्ण माध्यम हो। यसको समुचित विकासका निमित्त राज्यको पनि ध्यान जानु जरूरी छ। अनुगमन र सहजीकरणको पनि आवश्यकता पर्दछ। तथापि यिनको अभावमा पनि सञ्चालक व्यवस्थापकको समर्पित भावको लगावले आमा मिलन केन्द्र तथा आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा, नागढुंङ्गा कास्की आशातीत सफलतान्मुख रहेको पाइन्छ। यो सुखद् पक्ष मान्न सकिन्छ।

(लेखक स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जाका कार्यकारिणी सदस्य हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग