तीन गाउँपालिकाद्धारा बिद्यार्थीलाई आर्थिक सहयोग गर्ने

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७६
student

साधन राम्जाली -म्याग्दी ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसरका कारण बुधबार स्थिगत भएको माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सहभागी हुन केन्द्रमा पुगेका विद्यार्थीलाई म्याग्दीका स्थानीय तहले आर्थिक सहयोग गर्ने भएका छन् । जिल्लाको धवलागिरि ,अन्नपुर्ण र रघुगंगा गाउँपालिकाले विकट क्षेत्रबाट पैदल र सवारीसाधनको प्रयोग गरी परीक्षा केन्द्रसम्म आइपुगेका विद्यार्थीलाई आर्थिक सहयोगको घोषणा गरेको हो ।

धवलागिरि गाउँपालिकाले टाढा–टाढाका विद्यालयबाट एसईइ परीक्षामा सहभागी हुनका लागि परीक्षा केन्द्रमा आएका विद्यार्थीलाई खाजा, खानाका लागि गाउँपालिकाले दश÷दश हजार रुपैयाँ विद्यालयलाई उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगरले जानकरी दिइन् । धवलागिरि गाउँपालिकाको ९ वटा विद्यालयका विद्यार्थीका लागि हेम मावि शिवाङमा परीक्षा केन्द्र कायम भएको थियो । हेम माविका विद्यार्थीका लागि भने मालिका गाउँपालिकाको जनप्रिय मावि दरवाङमा केन्द्र तोकिएको छ ।

जंगल, भीरको हिउँको पहाड छिचोलेर पुरै दिन पैदल हिडेर खिवाङ आइपुगेका विकट गुर्जाको जनकल्याण माविका विद्यार्थीका लागि एक दिन शिवाङमा विश्राम गर्न, आउन र फर्कदा सादा खानामा हुने खर्च गाउँपालिकाले ब्यहोर्ने भएको छ । गुर्जाका बिरामी भएमा सामान्य उपचार खर्चको समेत व्यवस्था गरिने भएको छ । अध्यक्ष पुनका अनुसार उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, कार्यपालिका सदस्य, शिक्षा र लेखा शाखाका कर्मचारीहरुसंग परामर्श गरेर आकस्मिक रुपमा निर्णय गरिएको हो ।

यसैगरी रघुगंगा गाउँपालिकाले यातायात तथा खाना खर्च बापत भौगोलिक विकटताको आधारमा परीक्षाको अन्तिम समयमा स्थगित भएपछि ८ वडामा रहेका विद्यालयका विद्यार्थीलाई नै पुग्ने गरी घरबाटै सहभागी हुनेलाई प्रती विद्यार्थी १ हजार र परीक्षा केन्द्र आसपास बसेर परीक्षा दिनेलाई प्रति विद्यार्थी १५ सय उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

‘विद्यालयभित्र परीक्षाको तयारी कक्षा सञ्चालनमा आवश्यक वातावरण बनाउँछौ,‘थप आवश्यक परेमा सम्बन्धित विद्यालयसँग समन्वय गर्नेछौ,अध्यक्ष भण्डारीले भने । ’ रघुगंगा गाउँपालिकामा १ सय ६९ विद्यार्थीमध्ये मुक्तिनाथ माविका ७७ जना विद्यार्थीको केन्द्र बेनीमा छ भने बाँकीले भगवती परीक्षा केन्द्रबाट परीक्षा दिदै थिए । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिकाले पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई खाना खर्च सहयोग गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा बिहीबार बिहान बसेको आकस्मिक बैठकले एसईईमा सहभागी हुन परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई प्रतिविद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको हो । मुक्तिमार्ग मावि घारबाट सहभागी हुने ११८ जना र बेनीको परीक्षा केन्द्रका ५० जना विद्यार्थीलाई सम्बन्धित विद्यालय मार्फत खाना खर्च वापत प्रति विद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

अन्नपूर्ण गाउपालिकाको कैलाश मावि दोवा, सर्वोदय मावि भुरुङ्ग तातोपानी, ज्ञानप्रकाश मावि दाना, प्रभा मावि नारच्याङ, शिख मावि शिख, पाउद्धार मावि, टिकोट मावि र आदर्श माविका विद्यार्थीका लागि घारको मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ । हिमाञ्चल मावि नांगी र मुक्तिमार्ग माविका विद्यार्थी सदरमुकाम बेनीको परीक्षा केन्द्रबाट सहभागी हुन्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै