पोखरा रंगशालामै वैकल्पिक फुटबल मैदान

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७६
1557307243

विजय नेपाल-पोखरा, पोखरा रंगशालाभित्र १ अर्ब २८ करोड रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माण प्रक्रिया रहेकै बेला सोको विकल्पको लागि अर्को स्टेडियमको स्तरोन्नति थालिएको छ ।

हालको फुटबल स्टेडियमको पश्चिमतर्फ रहेको मैदानलाई स्टेडियमको लागि स्तरोन्नति थालिएको हो ।राष्ट्रिय खेलकुद परिषद्ले मैदान ट्रयाक एण्ड फिल्डसहित कामलाई निरन्तरता दिने जनाएको छ । राखेप सदस्य राजेश गुरुङले भने, “विगतमा के भयो त्यसतर्फ नर्फर्कौ, हामी गफभन्दा काम गरी देखाउँछौं । बनेका संरचनाको संरक्षणसँगै नवौं राष्ट्रिय खेलकुदको तीव्र तयारीमा हामी जुट्नु पर्छ ।”

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मध्यनजर गर्दै मुख्य फुटबल स्टेडियमसँगै उक्त मैदानको समेत पुनःनिर्माण गर्न निर्देशन दिएबमोजिम पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले कामलाई प्रभावकारी बनाउन भन्दै त्यसबेला निकास भएको ३० लाख रुपैयाँ उपभोक्ता समितिलाई दिएर कामको जिम्मा दियो । तर, एन्फा कास्कीले कामलाई तीव्रता दिने भन्दै काम शुरु गरे पनि ४ महिना बितिसक्दा अलपत्र रहेपछि राखेपले आफैले काम अघि बढाएको हो ।राखेप सदस्य गुरुङ भन्छन्, ‘स्वयं मन्त्रीज्यूको निर्देशन र सदस्यसचिवज्यूको पहलमा यो मैदानको काम सुरु भएको हो ।’

एन्फा कास्कीको पहलमा २०६४ सालमा यो जग्गा सम्याएर फुटबल मैदान बनाइएको थियो । जसमा करिब ९ लाख रुपैयाँ खर्च भएको थियो । निर्माण समिति सदस्य फोटो पत्रकार सुदर्शन रञ्जितले सो बेला नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण म्याचबाट संकलित रकमबाट मैदान बनाइएको बताए । मुख्य फुटबल स्टेडियमको विकल्पको रुपमा अघि बढाउन १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको स्टेडियम बनाइने पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा कार्यरत इ. प्रनिश ताम्राकारले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने सो स्टेडियम निर्माणमा ९२ लाख लागत अनुमान गरिएकोमा ३० लाख राखेपबाट प्राप्त रकमले रिटेनिङ बाल र केही भाग सम्याइने बताए ।आगामी वर्ष २० देखि २७ फागुनसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निर्माणमा कुनै कसर बाँकी नराख्ने निर्माण समितिको प्रतिबद्धता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width