कोरोनाले विमानस्थल काम प्रभावित

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
IMG_8405
  • चीनबाट फैलिएको कोरोना भाइरस प्रभावले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काममा समेत असर परेको छ ।दुई चरण गरेर १ सय ७ जना कामदार पोखरा आएका छन् । तीमध्ये ७१ जना अहिले पनि क्वारेन्टाइनमा छन् । चीनबाट कामदार फर्किएसँगै नेपाली केही कामदारहरु जागिर छोडेर घर गएका छन् ।
  • १५ दिनसम्म क्वारेन्टाइनमा राखेरमात्रै उनीहरुलाई नियमित काममा खटाइने, पहिलो चरणमा आएका ३६ जना चाहीँ १४ दिन पूरै क्वारेन्टाइनमा बसेर काममा खटिएका छन् ।सामाजिक सञ्जालमा विमानस्थलमा काम गर्न चीनबाट आएका कामदारमा कोरोनाको लक्षण भेटिएको भन्दै प्रचार भैरहेको छ ।
  • कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि पोखरामा पूर्व तयारीस्वरुप हाल यस क्षेत्रका विभिन्न अस्पतालमा गरी ८० वटा आइसोलेसन बेड तयार पारिएको छ । 

पाेखरा । चीनबाट फैलिएको कोरोना भाइरस प्रभावले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काममा समेत असर परेको छ । बिदा मनाउन स्वदेश चीन गएका कामदार फर्किएका छैनन् भने फर्किएका पनि यतिबेला क्वारेन्टाइनमा छन् । कामदार नहुँदा निर्माणको काम सुस्ताएको हो । दुई चरण गरेर १ सय ७ जना कामदार पोखरा आएका छन् । तीमध्ये ७१ जना अहिले पनि क्वारेन्टाइनमा छन् । मार्च ४, ५ र ६ तारिखमा पोखरा आइपुगेका सबै जनालाई उनीहरुको कोठाभित्रै राखिएको आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए । चीनबाट सबै कामदारले स्वास्थ्य पूर्ण रुपमा ठिक भएको प्रमाणपत्र लिएरमात्रै नेपाल आएका भन्दै उनले बाटोमा हुन सक्ने गडबडीका लागि मात्रै क्वारेन्टाइनमा राखिएको बताए ।

‘चीनमै पनि १४ दिनसम्म क्वारेन्टाइनमा बसेर आएका हुन् । कुनै संक्रमण नरहेको हेल्थ सर्टिफिकेट लिएर मात्रै आउन पाउँछन् । उनीहरुसँग सर्टिफिकेट छ । उता हुँदा परिवारमा कसैलाई यसको संक्रमण छ कि छैन र पहिले बिरामी भए नभएको पनि हेरेर सर्टिफिकेट दिन्छ,’ उनले भने, ‘हाम्रो एम्बेसीमा हेल्थ सर्टिफिकेट बुझाएरमात्रै आउन पाउँछन् । बाटोमा आउँदा र प्लेनमा चढ्दा केही भएको छ कि भनेर शंकाको भरमा मात्रै अहिले क्वारेन्टाइनमा राखिएको छ । संक्रमित भनेर होइन ।’ १५ दिनसम्म क्वारेन्टाइनमा राखेरमात्रै उनीहरुलाई नियमित काममा खटाइने उनले सुनाए । ‘१५ दिन बस्न सक्दैनौं भनेका छन् । कोही पूरै बसेका छन् । कोही १० दिनमा निकाल्ने तयारी छ,’ मुनंकर्मी भन्छन्, ‘अरु कामदारले पनि ढुक्क नहुँदासम्म टाढै बसेर काम गर्छन् । अहिलेसम्मको केसमा केही भेटिएको छैन । सबैजना आफैमा पनि सचेत छन् ।’ पहिलो चरणमा आएका ३६ जना चाहीँ १४ दिन पूरै क्वारेन्टाइनमा बसेर काममा खटिएका छन् ।

सामाजिक सञ्जालमा विमानस्थलमा काम गर्न चीनबाट आएका कामदारमा कोरोनाको लक्षण भेटिएको भन्दै प्रचार भैरहेको छ । तर आयोजनामा खटिएका कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको मुनंकर्मीले बताए । ‘कसैलाई पनि ज्वरो आएको छैन । केही गरी फेला प¥यो भने तत्काल उपचारका लागि अस्पताल लैजाने कुरा भएको छ । उनीहरुको निरन्तर चेकजाँच गरिएको छ,’ उनले भने, ‘एउटालाई मात्रै कोरोना लाग्यो भने प्रोजेक्टमाथि नै ह्याम्पर हुन्छ । हामी पनि सिरियस छौं । लुकाउनुपर्ने केही छैन । कुनै संकेत भेटियो भने तत्काल अस्पताल लैजान्छौं ।’ अघिल्लो चरणमा आएका ३६ मध्ये १ जनालाई ज्वरो आएको थियो । तर उनी पनि उपचार पछि काममा फर्किएका छन् ।

चिनियाँ आएपछि नेपाली घरतिर

चीनबाट कामदार फर्किएसँगै नेपाली केही कामदारहरु जागिर छोडेर घर गएका छन् । कोरोनाको त्रासकै कारण आफूहरुले काम छोेडेको बताए । ‘चिनियाँ बिरामी छन् । त्यो देखेपछि काम गर्ने मन नै भएन,’ विमानस्थलको गेटबाट बाहिरिँदै गरेका एक कामदारले भने, ‘पैसाको भन्दा ज्यानको माया छ नि । कोठाभित्र उपचार गरिरहेका चिनियाँ बाहिर आए भने हामीलाई पनि सरिहाल्छ । त्योभन्दा पहिले नै काम छोडेर घर लागेको ।’

केही कामदार डराएर छोडेको मुनंकर्मीले पनि बताए । ‘चाइनीज आएपछि कोरोना आयो भनेर त्रास फैलिएको छ । उनीहरु काम छोड्छु भनेर गएका छन् भन्ने मैले पनि सुनेको हो,’ उनी भन्छन्, ‘छोड्ने र आउने भैरहन्छ । तर धेरै संख्यामा छैन, यस्तो ।’ विमानस्थलमा अहिले १ सय ९० जना चिनियाँ र २ सय ८० नेपालीले काम गरिरहेका छन् । विमानस्थलको हालसम्म ५५ प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ । तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सकेर हस्तान्तरण गर्ने तयारी छ । कोरोनाले केही चुनौती थपे पनि तोकिएकै समयभित्र काम पूरा हुने दाबी आयोजनाको छ । विमानस्थलको सडक, डे«न, पार्किङ लगायतको काम अहिले जारी छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि पोखरामा पूर्व तयारीस्वरुप हाल यस क्षेत्रका विभिन्न अस्पतालमा गरी ८० वटा आइसोलेसन बेड तयार पारिएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री एवं कोरोना भाइरस रोकथाम र नियन्त्रण प्रदेशस्तरीय निर्देशन समिति संयोजक पृथ्वीसुव्वा गुरुङले यस क्षेत्रका विभिन्न अस्पतालमा कम्तीमा ५ चिकित्सकसहित ५ बेड तयार पार्न निर्देशन दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग