मौरिस हर्जोग पदमार्गको नक्सा सार्वजनिक

आदर्श समाज सम्वाददाता
माघ २१, २०७६
North ABC Map

म्याग्दी जिल्लामा अवस्थित उत्तरी अन्नपूर्ण आधार शिविरको नक्सा सार्वजनिक गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ (दायाँबाट दोश्रो) । तस्वीर : आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, २० माघ । प्रबद्र्धन र खोजी अभियान सुरु गरेको साडे दुई महिना पछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोही गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित उत्तरी अन्नपूर्ण आधार शिविर पुग्ने मार्गको नक्सा सार्वजनिक गरेको छ । मौरिस हर्जोग ट्रेल नाम दिएर सो मार्गको नक्सा सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले सोही वडाको नारच्याङ गाउँमा आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो मार्गको नक्सा र ब्रोसर सार्वजनिक गरेका थिए । झण्डै सात दशक अघि फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा पुगेको यो आधार शिविर र त्यहाँ जाने मार्ग ऐतिहासिक भएर पनि उति प्रचारमा आउन सकेको छैन ।

आरोहणको इतिहासमा आठ हजार मिटर माथि सन् १९५० जुन ३ मा पहिलो पाइला परेको विषय ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालसँग जोडिएको छ । हर्जोग र फ्रान्सकै लुइस लेकेनल सहितको टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको तीन बर्ष पछि मात्र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

हिमालयन म्याप हाउस काठमाडौंले छापेको नक्सामा अन्नपूर्ण क्षेत्र र पञ्चासे क्षेत्रका अरु पदयात्रा मार्गहरु समेत समेटिएको छ । नर्थ अन्नपूर्ण आधार शिविरको चक्रीय मार्ग पनि नक्सामा संलग्न गरिएको छ । सो मार्ग सम्बन्धी ब्रोसर भने आदर्श अफसेट पोखराले छापेको हो । अन्नपूर्ण गाउँपालिका म्याग्दीको मुख्य पहलमा सार्वजनिक गरिएको नक्सा र ब्रोसर निर्माण अघि गत मंसीरमा जीपीएस सहितको एक टोलीले उत्तरी अन्नपूर्ण आधार शिविरको प्रबद्र्धन र खोजी भ्रमण गरेको थियो । सोही टोलीले संकलन गरेका सूचना र तथ्यांकका आधारमा यो नक्सा तयार गरिएको टोलीका नेतृत्वकर्ता एवं टान पश्चिमाञ्चलका साधारण सदस्य रामचन्द्र अधिकारीले जानकारी दिए । उक्त खोजी यात्रालाई नेपाल पर्यटन बोर्ड, टान र एक्यापले समेत सघाएका थिए ।

देशले नेपाल भ्रमण बर्ष २०२० मनाइरहँदा देशविदेशका पर्यटकलाई उपहारको रुपमा नयाँ मार्गको पहिचान र प्रबद्र्धन गरी नक्सा तथा ब्रोसर सार्वजनिक गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनले जानकारी दिए । सोही गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङबाट सुरु हुने साडे ३१ किलोमिटर लामो यो मार्ग क्याम्पिङमा आधारित भएको उनले सुनाए । एक हप्ता भन्दा लामो अवधिको यो मार्ग उपल्लो नारच्याङ अर्थात् लेकगाउँ, कालोखोला, छोटेपा, हुमखोला, साँधिखर्क, भुस्केट मेला हुँदै ४१९० मिटरको उचाईमा अवस्थित उत्तरी अन्नपूर्ण आधार शिविर पुग्छ ।

आधार शिवरको प्रमुख आकर्षणको रुपमा नारच्याङ ताल भनिने पंचकुण्ड रहेको छ । तालमा पितृ श्रद्धाका लागि हिन्दु धर्मावलम्बी समेत पुग्ने कारण यो क्षेत्रको धार्मिक महत्व समेत रहेको एक्याप नारच्याङका तेज गुरुङले जानकारी दिए । कास्कीमा रहेको अन्नपूर्ण आधार शिविर अहिले देशविदेशका पर्यटक माझ लोकप्रिय छ, त्यही हिसावले म्याग्दीको उत्तर आधार शिविरको समेत प्रचारप्रशार गर्न सके स्थानीय र सम्वन्धित व्यवसायीले फाइदा लिन सक्ने देखिन्छ ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेलले हर्जोगले उत्तरी आधार शिविरबाट अन्नपूर्ण प्रथम हिमाल चढेका कारण उनको शालिक सो उत्तरी शिविरमा स्थापना गर्न अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई सुझाव दिए । तातोपानी कुण्डहरु, फुतफुते झरना, हिमताल, जंगली जनावर, लालिगुराँसको जंगल, आधार शिविरको ग्ल्यासियर लगायतका आकर्षण यो मार्गसँग जोडिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width