कुखुराको मासु महँगियो, बन्द भए फ्रेस हाउस

आदर्श समाज सम्वाददाता
माघ २१, २०७६
maxresdefault

प्रकाश ढकाल -पोखरा । पोखरामा ब्रोइलर कुखुराको मासुको मूल्य हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । गत सातादेखि मासुको भाउ आकासिएको हो ।

प्रतिकेजी स्पेशल मासुको मूल्य ४ सय ६० पुगेको पोल्ट्री व्यवसायी संघ कास्की अध्यक्ष गुरु पौडेलले जानकारी दिए । ह्याचारी उत्पादकको हड्ताल असर अहिले देखिएको छ । ‘सरसर्ती हेर्दा सबैभन्दा उच्च नै हो । ह्याचरीवालाले चल्ला नै उत्पादन गरेनन् । माग र आपूर्ति हेर्दा यो मूल्य सामान्य हो,’ उनले भने, ‘अझै केही महिना यही मूल्य कायम रहन्छ ।’ पोखरामा फ्रेस मासु नै सकिएको उनको भनाइ छ । अहिले स्पेसलको ४ सय ६० र होल चिकेन ४ सय ३० रुपैयाँँमा बिक्री भैरहेको छ ।

‘पोखरामा फ्रेस कुखुराको मासु नै छैन । फ्रोेजन मासु बेचिरहनुभएको छ, व्यवसायीहरुले । त्यही मासु पनि सकियो,’ उनले भने, ‘मासु नपाएपछि ६० प्रतिशत फ्रेस हाउसहरु बन्द भएका छन् । यो समस्या पनि अझै १ सातासम्म रहन्छ ।’ कास्की जिल्लाभरी १ हजार ५ सय भन्दा बढी फ्रेस हाउस सञ्चालनमा छन् भने ५ हजारभन्दा बढी कुखुरापालक किसान छन् । बैशाखसम्म यही मूल्य कायम रहने पौडेलले जानकारी दिए । पोल्ट्री व्यवसायी संघले नै मासुको मूल्य कायम गर्छ ।

‘जिउँदो कुखुराको मूल्यका आधारमा यो मूल्य खासै महँगो होइन तर केही कम मूल्यमा मासु खाइरहनुभएको ग्राहकलाई बढेपछि चासो लाग्नु स्वभाविक हो,’ उनी भन्छन्, ‘आयातमा भएको मन्दीका कारण मूल्य बढेको हो । बाहिरबाट कास्कीमा कुखुरा भित्रिएकै छैन ।’ उनका अनुसार पोखरामा अहिले जिउँदो कुखुराको मूल्य २ सय ८० रुपैयाँँ प्रतिकेजी पुगेको छ । पोखरामा मात्रै दैनिक ५० हजार केजी हाराहारीमा कुखुराको मासु बिक्री हुन्छ । अफ सिजनमा पनि ३० देखि ३५ हजार किलोसम्म बिक्री हुने पौैडेलको भनाइ छ ।

मासु व्यवसायी संघ कास्की अध्यक्ष गोविन्दप्रसाद तिवारी पनि ह्याचरी उत्पादकको आन्दोलनका कारण मूल्य बढेको बताउँछन् । ‘जहिले पनि यो बेला उत्पादन कम हुन्छ । चल्ला मर्छ । विभिन्न रोग पनि यही बेला लाग्छ । किसानले हुर्काउन सक्दैनन्,’ उनी भन्छन्, ‘जाडोमा मूल्य यसै पनि बढी हुन्छ । तर अहिलेको प्रमुख कारण ह्याचरीवालाले चल्ला मारेर समस्या आएको हो । वहाँहरुले १८ दिनसम्म चल्ला गाड्नुभयो । नेपालभरी चल्ला दिनुभएन । हामी त्यसकै मारमा परेका हौं ।’ उत्पादन कम भएपछि कलिलो कुखुरा उठाएर बेच्न थालेको उनले सुनाए ।

यसअघि २०७२ सालमा कुखुराको मासुको मूल्य ४ सय ४० रुपैयाँँ पुगेको थियो । बजारको मागअनुसार कुखुरा नपाएपछि पसल बन्द हुन थालेका हुन् । पोखरा कुखुराको मासुमा आत्मनिर्भर छ । यद्यपि सिजनका बेला र पर्यटक धेरै आउँदा २५ प्रतिशत कुखुरा बाहिरबाट आयात गर्नुपर्छ । यहाँ खासगरी चितवन, बुटवल लगायतका ठाउँबाट कुखुरा भित्रिन्छ । ‘कहिले यताको कुखुरा बाहिर जान्छ । कहिले आयात गर्नुपर्छ,’ पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठ भन्छन्, ‘ह्याचरी उत्पादक किसानको आन्दोलनका कारण किसानका खोर अहिले रित्तो छन् । त्यसको असर बजारमा देखिएको हो ।’

दैनिक ३ हजारभन्दा बढी कुखुरा सप्लाई गर्ने भट्टराई पोल्ट्री फर्मले अहिले मुश्किलले ८ सय कुखुरा पठाउँछ । महँगो भएका कारण माग नै घटेको फर्मका सञ्चालक डा अशेष भट्टराईले बताए । ‘खपत नै छैन । महँगो भएपछि ग्राहकले मासु किन्नै छोडिसके,’ उनले भने, ‘किसानले पनि कुखुरा उत्पादन गरेका छैनन् । कोल्ड स्टोरमा राखिएका कुखुरा निकालेका छौं । अझै दुई सातासम्म समस्या यस्तै रहन्छ ।’ जाडो मौसममा धेरै कुखुरा मर्ने भएका कारण पनि माग अनुसार उत्पादन कम हुने उनको भनाइ छ । पोखरा सहित नेपालभरी नै माग अनुसार कुखुरा नहुँदा मूल्य बढेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width