अपराजित चितवन फाइनलमा

आदर्श समाज सम्वाददाता
पौष ८, २०७६
Nepal Telecom Man of the match (Rohan Mustafa)

पोखरा, ८ पुस । लिग चरणका सबै खेलमा अपराजित रहँदै पारस खड्काकप्तानीको चितवन राइनोज प्रिमियर लिग (पीपीपएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।

साविक उपविजेता चितवनले मंगलबार लिगको आफ्नो अन्तिम तथा पाँचौं खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै अंकतालिकामा १० अंकसाथ शीर्ष रहँदै उपाधि नजिक पुगेको हो ।
चितवनले यसअघि लिग चरणमा लगातार साविकविजेता पोखरालाई (६ विकेट), बुटवल (११९ रन), धनगढी (५२ रन) र विराटनगर (१८ रन) लाई पराजित गर्दै अविजित रहेको थियो । शनिबार हुने फाइनलमा उपाधि विजेताले २७ लाख रुपैयाँ हात पार्नेछ ।

५ मध्ये २ खेल जित्दै ४ अंकका साथ लिगतालिकामा तेस्रो रहेको काठमाडौंले अब बुटवल र विराटनगरबीच बुधबार हुने खेलको नतिजा कुर्नुपर्नेछ । विराटनगरले फराकिलो रनरेट आधारमा बुटवललाई हराएमा मात्र विराटनगरको प्ले अफ सम्भावना रहनेछ । नभए काठमाडौंको लागि मंगलबारको खेल हारे पनि बुटवलसँग प्ले अफ सम्भावना टरिसकेको छैन । ३ खेलमा जित हात पार्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेको बुटवल प्ले अफमा पुगिसकेको छ ।

२ खेल जितेर चारै अंक जोडेको धनगढी रनरेट आधारमा काठमाडौंभन्दा पछि छ भने १ खेलमात्र जितेर ४ खेलमा पराजित पोखरा २ अंकका साथ पुछारमा रहँदै लिग चरणबाट बाहिरिइसकेको छ । मंगलबार टस हारेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो । १६८ रनकोे लक्ष्य पछ्याएको काठमाडौं पूरै २० ओभरमा ९ विकेट क्षतिमा १०७ रनमै समेटिँदा सहजरुपमा प्ले अफ अवसर गुमायो ।

ओपनर रोहन मुस्तफाले नै अर्धशतकीय इनिङ्स खेलेपछि काठमाडौंको लागि जित कठिन बनेको हो । ५२ बलमा १ छक्का र ६ चौका सहित ५९ रन जोडेका म्यान अफ दी म्याच मुस्तफा अविजित रहे । यस्तै तेस्रो ब्याट्म्यानको रुपमा आएका बाबर ह्यातले सर्वाधिक ७० रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । आरिफ शेख र सन्नी पटेलले समान १५–१५ रन जोड्दा करन केसीले १ रनमात्र जोडे । काठमाडांैका सुसन भारी, बसन्त रेग्मी र अमर रौटेलाले समान १-१ विकेट लिएका थिए ।

फराकिलो १६८ रनको लक्ष्य पछ्याएको ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंका लागि कप्तान मल्ल, पवन सर्राफ र प्रिथु बास्कोटा बाहेक अन्य ब्याट्म्यानको प्रदर्शन फितलो रह्यो । ओपनर जयकिसन कोल्सवाल र अमृत श्रेष्ठ खाता नखोल्दै पेभेलियन फकिएकोमा कप्तान मल्लले ३९ बलमा ३ चौका र २ छक्का हान्दै ४० रनको पारी खेले । यस्तै, सर्राफले २७ रन र बास्कोटाले १८ रन जोडे । बसन्त रेग्मी शुन्य रनमा आउट हुँदा अमृत भट्टराई, दीपेश भण्डारी, गौतम तमोर, अमर रौटेला दोहोरो अंकको आँकडाबिनै आउट भए । काठमाडौलाई सस्तैमा समेट्न सन्नी पटेलले १९ रन खर्चेर ३ विकेट झारे । यस्तै, रोहन मुस्तफाले २, करण केसी, रामनरेश गिरी र कप्तान पारस खड्काले समान १-१ विकेट लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width