चार महिनामा निर्यात २४ प्रतिशतले वृद्धि

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
Rastra Bank-Janaboli

आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब २८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको देखिएको छ।

गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुवेर्दिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको केन्द्रिय बैंकले जनाएको छ।

आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर रु.४ खर्ब ५० अर्ब ३० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ।

आर्थिक वर्ष २०७६/७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई रु.४१४ अर्ब २ करोड रहेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१ प्रतिशत रहेको थियो।

यसैगरी २०७६ कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क १ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४.६ प्रतिशतले घटेको छ। २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत आधारमा ४ प्रतिशतले घटेको व्यापारको शर्त कात्तिक महिनामा ५.९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा खुद सेवा आय रु.२ अर्ब ७१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ११.३ प्रतिशतले वृद्धि भई रु.२७ अर्ब ८९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२५ अर्ब ६ करोड रहेको थियो।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २६.१ प्रतिशतले कमी आई रु.२५ अर्ब ८० करोड कायम भएको छ। यसमध्ये शिक्षातर्फको खर्च रु.१२ अर्ब १७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.३४ अर्ब ९१ करोड र सो मध्ये शिक्षातर्फको खर्च रु.१९ अर्ब ३१ करोड रहेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width